लकडाउनले रोकिएका विदेशी र नेपाली चार्टर्ड उडानमा जान पाउने – Nepal Press

लकडाउनले रोकिएका विदेशी र नेपाली चार्टर्ड उडानमा जान पाउने

काठमाडौं । निषेधाज्ञामा अनुमति दिइएका अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा अलपत्र विदेशीसँगै नेपाली पनि जान पाउने भएका छन् ।

अहिले नेपालमा नियमिततर्फका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मात्रै पनि जो सुकै नेपाली नागरिक पनि चाटर्डमार्फत अन्य मुलुक जान सक्ने भनेर निर्णय समेत गरेको सह-प्रवक्ता प्रेम सुवेदीले बताए । उनका अनुसार यो निर्णयसँगै खाडी मुलुक जान ठिक्क परेका युवा चार्टर्ड फ्लाइटमा जान सक्ने छन् ।

यसअघि पनि खाडी मुलुकका कामदारबाहेक अन्य देश जाने नेपाली वा एनआरएनएलाई प्रक्रिया पूरा गरेर आएको खण्डमा चार्टर्ड फ्लाइटमा जान रोकिएको थिएन् । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै अहिले नेपालमा रहेका कूटनीति नियोग, नेपाल घुम्न आएका पर्यटक, एनआरएनए, यूरोप अमेरिकालगायतका मुलुक जाने नेपाली नागरिकले जहाज चाटर्ड गरेर गइरहेको पर्यटन मन्त्रालयको भनाइ छ ।

‘अहिले नेपालबाट चार्टर्डमार्फत जान चाहने विदेशी नागरिक, गैरआवसीय नेपाली तथा नेपाली नागरिक भनेर छुट्याइएको छैन । सबैले जान पाउँछन् । तर, जाने नागरिकले सबै प्रक्रिया भने पूरा गरेको हुनुपर्छ,’ उनले भने ।

अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार अहिले युएई र कुवेतका लागि जाने नागरिकलाई भिसा दिइएको छैन । ती मुलुकभन्दा बाँकी रहेका अन्य मुलुकमा जाने विदेशी वा नेपाली नागरिकले प्रक्रिया पूरा गरेर आएको खण्डमा अध्यागमनले सहजिकरण गरिरहेको ढकालको भनाइ छ । उनका अनुसार पर्यटन मन्त्रालयको निर्देशन अनुसार स्वदेशी तथा विदेशी दुवै नागरिकलाई अन्य मुलुक जानबाट बञ्चित गरिने छैन । आजैबाट अध्यागमनको अत्यावश्यक सेवा भने बन्द गरिएको छ ।

विदेशीहरू धमाधम फर्किँदै

उद्धार उडानमा जाने यात्रुमा अधिकांश विदेशी नागरिक रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । आइतबारमात्रै पर्यटन बोर्डको सहकार्यमा कतार एयरवेजबाट अमेरिकी र युरोपियन नागरिक गएका छन् । तीनमा धेरैजसो कूटनीतिक नियोगका छन् । यसैगरी हिमालय एयरलाइन्सले बंगलादेशीलाई लगेको छ ।

रुसले आफ्ना १२८ नागरिक लैजान रुसी एयरलाइन्स एरोफ्लट आउँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आजै बिहीबार स्पेनले आफ्ना नागरिकलाई वाइड बडीमार्फत नेपालबाट लैजानका लागि अनुमति लिइसकेको छ । त्यस्तै, अमेरिकी र यूरोपका नागरिक पठाउनका लागि जेठ ८ र ११ गतेलाई कतारका लागि चार्टर्ड उडानको अनुमति दिइएको प्राधिकरणले बताएको छ ।

विभिन्न जिल्लामा अलपत्र ४८४ पर्यटकलाई बोर्डले सहजीकरण गरेर काठमाडौं ल्याइसकेको निर्देशक लामिछानेले जानकारी दिए । तीमध्ये ५४ अमेरिकी नागरिक छन् । उनीहरूलाई ५ दिन होटल क्वारेन्टाइनमा राखेर सम्बन्धित दूतावासको समन्वयमा पठाइनेछ ।

‘राजधानीबाहिरका पर्यटकलाई ट्राभल लोकेटरमार्फत विवरण संकलन गरेका छौं’ , उनले भने ।

नियमित उडान बन्द भएपश्चात १५ चार्टर्ड उडान भएका छन् । तर, यसमा धेरै चार्टर्ड भने भारतीय नागरिकलाई साउदी अरब लैजानका गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर