रुपन्देहीमा निषेधाज्ञा नटेर्ने ८ जनालाई जरीवानासहितको कारबाही – Nepal Press

रुपन्देहीमा निषेधाज्ञा नटेर्ने ८ जनालाई जरीवानासहितको कारबाही

रूपन्देही । रुपन्देहीमा हिजो बिहीबारदेखि शुरू भएको निषेधाज्ञालाई प्रहरीले निकै कडा गरेको छ । बिहीबार निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई–बुझाई गर्दा पनि ड्यूटीका प्रहरीलाई अवरोध पुर्‍याउने ८ जनालाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरुमध्ये ७ जनालाई जनही १ महिना कैद वा सो बराबरको जरिवाना ९ हजार १ सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए ।

जसमध्ये ५ जनाले कैद र जरिवानावापतको रकम दाखिला गरेपछि छाडिएको र अन्य ३ जनाले कैद वा सो बराबरको जरिवना अनुरुप रकम नबुझाउँदा उनीहरुलाई सजाय भुक्तानका लागि जिल्ला कारागार भैरहवामा पठाइएको थापाले बताए ।

त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने १ हजार २० वटा सवारी साधन र १ हजार ४ सय ७० जना (पैदल यात्री २ सय समेत) लाई ‘होल्ड’ गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आज दोस्रो दिन बिहानैदेखि कडाइसाथ प्रहरी सडकमा निस्केको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर