वायुप्रदूषण देशभर, मौसम तत्काल सुधार नहुने – Nepal Press

वायुप्रदूषण देशभर, मौसम तत्काल सुधार नहुने

काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।

आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।

मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।

आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

काठमाडौंसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो ।

जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर