पाँचौपटक प्रधानमन्त्री बन्लान् त देउवा ? – Nepal Press

पाँचौपटक प्रधानमन्त्री बन्लान् त देउवा ?

काठमाडौं । आफ्ना विभिन्न माग पूरा गराउन राजनीतिक सहकार्यको खोजीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रको समर्थन लिन सके नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक मुलुकको प्रधानमन्त्री बन्नेछन् । पार्टीभित्र वर्तमान सरकारको विकल्प खोज्न र परिआए सरकारको नेतृत्व लिन सुझाव आएपछि सभापति देउवाले पाँचौपटक प्रधानमन्त्री बन्न पहल समेत थालेका छन् ।

पुस ५ यताका सबैजसो राजनीतिक उतारचढावमा ‘रिजर्व’ रहँदै आएका देउवाले शुक्रबार साँझ आफ्नै निवासमा आएका जसपाका नेताहरुसँग ओलीइत्तर गठबन्धन प्रस्ताव गरे । प्रतिनिधिसभामा हुने सम्भावित सत्ताको खेलमा माओवादी केन्द्र र जसपालाई विश्वासमा लिन सके देउवा बहुमतको प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।

माओवादी केन्द्रले देउवालाई पटक–पटक प्रधानमन्त्रीमा प्रस्तावमात्रै गरेको छैन, केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गर्ने राजनीतिक लक्ष्यसमेत निर्धारण गरिसकेको छ । यस्तोमा माओवादीको समर्थन देउवाले स्वभाविक रुपमा प्राप्त गर्नेछन् । त्यसैले अब जसपालाई ‘कन्भिन्स’ गर्न देउवाले प्रयास गर्नुपर्ने देखिन्छ ।

निर्णायक जसपाको दाउ

जनता समाजवादी पार्टीभित्र २ धार छ । अध्यक्ष महन्थ ठाकुर र अधिकांश पूर्वराजपा नेताहरु आफ्ना माग जसले पूरा गर्नसक्छ उसैसंग सहकार्य गर्नुपर्ने पक्षमा छन् । सो समूहले ठाकुलाई भावी प्रधानमन्त्रीका रुपमा पनि अघि सारिसकेको छ ।

‘जसपाले सधै समर्थन दिनुपर्छ भन्ने छैन । परिआए जसपाको नेतृत्वमै सरकार बनाउने गरी अघि बढ्छौं’, जसपा नेता राजकिशोर यादवले भनेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीसंगको भेटमा जसपालाई चुनावी सरकारको नेतृत्व दिनेसम्मको प्रस्ताव छलफल भएको बताइन्छ । जसले गर्दा आफ्ना नेता कार्यकर्ता रिहाइ, संविधान संशोधनसंगै भावी सरकारको नेतृत्वमा समेत जसपाको दावी हुनेछ ।

यद्यपि कांग्रेस नेतृत्वसंगको छलफलमा जसपाले सरकारको नेतृत्व दावी नगरेको बताइन्छ । ‘प्रमुख प्रतिपक्षी दलका रुपमा देशको राजनीतिक कता लैजाने हो कांग्रेसले अग्रसरता गरोस् भन्ने उहाँहरुको भनाई थियो’, बैठकमा सहभागी एक कांग्रेस नेताले भने ।

जसपाले चाहेको कांग्रेसको अग्रसरता कांग्रेस नेतृत्वकै सरकार हो भन्ने अर्थमा बुझ्ने बेला नभइसकेको ती नेताको भनाइ छ । जसपाले शनिबार माओवादी नेतृत्वसंग पनि छलफल गर्दैछ । माओवादीले पनि जसपालाई ओलीइतरको गठबन्धनका लागि प्रस्ताव गर्ने निश्चित छ ।

जसपाले सत्ताको नेतृत्वबाहेक एजेण्डालाई प्राथमिकता दिएको अवस्थामा प्रधानमन्त्री बन्न देउवालाई सहज हुनेछ । जसपा भित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्व जसको भए पनि आफ्ना एजेण्डाको समर्थन र ओली सरकारको बहिर्गमन हुनुपर्ने पक्षमा छन् ।

देउवालाई कतिको सहज ?

पाँचौपटक प्रधानमन्त्री बन्न कांग्रेस सभापति देउवालाई त्यति सहज भने छैन । एमालेको संसदीय दल यथावत रहँदासम्म सरकार टिकाउन प्रधानमन्त्री ओलीलाई जसपाको समर्थन मात्रै भए पनि पुग्ने देखिन्छ ।

एमालेभित्र बढेको तिक्तताले एमाले संसदीय दल एकतावद्ध नभएमा जसपाको साथ प्रधानमन्त्रीका लागि काफी नहुन सक्छ । यद्यपि जसपाकै संसदीय दल औपचारिक रुपमा एकताबद्ध नभइसकेको अवस्थामा सत्ता समीकरणकै खेलमा जसपा विभाजित हुने हो कि ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

अर्कोतिर जसपाले उठाएका माग देउवाका लागि सहज छैनन् । कैलाली घटनाका मुख्य आरोपित जसपा सांसद रेशम चौधरीलाई रिहा नगर्न देउवामाथि दवाव छ । चौधरीलाई रिहा गर्दा सुदुरपश्चिम र खासगरी कैलालीबासीमा नकरात्मक सन्देश जानसक्नेप्रति देउवा सचेत छन् ।

संविधान संशोधनको माग कांग्रेसका लागि जटिल होइन । यद्यपि विगतमा सुशील कोइराला नेतृत्वको सरकारले अघि सारेभन्दा बढी विषयमा संशोधन गर्नुपरे परिस्थिति बदलिन सक्छ ।

त्यसमाथि एमाले सत्ता बाहिर रहनासाथ संविधान संशोधनका लागि आवश्यक दुईतिहाई पुग्ने सम्भवना सकिन्छ । त्यसैले संविधान संशोधन सहज ढंगले निरुपण नहुने देखिन्छ ।

नागरिकता विधेयेकमा कांग्रेस र जसपाबीच अधिक मतभिन्नता नरहेकोले संसदबाट पारित नहुनसक्छ । यसरी हेर्दा जसपाले राखेका मागहरु तत्कालै सम्बोधन गर्न सम्भव देखिँदैन । यद्यपि राजनीतिक सम्झौताका जगमा सकेजति माग पूरा गर्ने र जसपाको समर्थनमा सरकार बनाउने देउवाको प्रयत्न भने जारी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर