वैदेशिक रोजगारीमा अझै उघ्रेन कोरोनाको ग्रहण, गन्तव्य मुलुकबाट माग न्यून – Nepal Press

वैदेशिक रोजगारीमा अझै उघ्रेन कोरोनाको ग्रहण, गन्तव्य मुलुकबाट माग न्यून

काठमाडौं । कोभिड-१९ का कारण वैदेशिक रोजगारीमा लागेको ग्रहण अहिले पनि हटेको छैन । नेपालीको मुख्य गन्तव्य देशहरू बन्द अवस्थामै छन् भने र रोजगारीमा जानेको संख्यामा पनि तीब्र गिरावट आएको छ ।

विशेषगरी खाडी मुलुकमा रोजगारीका लागि नेपाली कामदारको माग अत्यन्त न्यून बनेको मेनपावर कम्पनी बताउँछन् । खाडी मुलुकका केही राष्ट्रबाट मात्र सानो संख्यामा नेपाली कामदारका लगि मागपत्र आएको मेनपावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले जानकारी दिए ।

गैरेका अनुसार खाडीका धेरै मुलुक अहिले पनि काेरोनाका कारण बन्द अवस्थामा नै छन् । साथै, नेपालबाट सबैभन्दा धेरै कामदार जाने मुलुक मलेसियाले विदेशी कामदारलाई रोक लगाएको छ । यस्तै, कुवेत, ओमन पनि बन्द अवस्थामा छन् ।

‘अहिले खाडी मुलुकबाट अत्यन्त न्यून संख्यामा मात्र कामदारको माग आएको छ’ उनले भने, ‘अझै खाडी मुलुकमा रहेका राजदूतावासबाट कामदारको प्रमाणीकरण लगायतका काम हुनसकेका छैनन् ।’

उनका अनुसार मागपत्र प्रमाणीकरण गर्नका लागि परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयलाई मेनपावर कम्पनीले अनुरोध गरिरहेका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरे पनि त्यहाँस्थित राजदूतावासले कामदारको मागपत्र प्रमाणीकरण गरेका छैनन् ।

अध्यक्ष गैरेका अनुसार दुबईबाट पनि नेपाली कामदारको माग आएको छैन । त्यहाँको सरकारले अहिले कोभिडको समयमा अर्धसरकारी र सरकारी स्वामित्वमा रहेका कलकारखाना तथा उद्योगले मात्र विदेशी कामदार ल्याउन पाउने प्रावधान राखेको छ । निजी क्षेत्रले संचालन गरेका उद्योगले अझै पनि विदेशी कामदार ल्याउन पाउँदैनन् । त्यसैले पनि नेपालका कामदार दुबई जान सकिरहेका छैनन् । र, त्यहाँबाट नेपाली कामदारको माग पनि सयको हाराहारीमा आएको छ ।

कोभिडपछि साउदी अरबमा भने नेपाली कामदारको मागपत्र प्रमाणीकरणको काम अगाडि बढेको छ । म्यानपावर कम्पनीका अनुसार त्यहाँस्थित नेपाली राजदूतावासले काम अगाडि बढाइरहेको छ । साउदी अरबमा कामदार मागपत्रको प्रमाणीकरणदेखि अन्य काम अनलाइनबाट अगाडि बढिसकेको अध्यक्ष गैरे बताए । ‘साउदी अरबबाट अहिले ५० हजार नेपाली कामदारको माग आएको छ । तर, यो अनलाइन प्रक्रियामा छ । सायद चाँडै नै काम अगाडि बढ्ला,’ उनले भने ।

अहिले नेपाली म्यानपावरमा १४ हजार मात्रै नेपाली कामदारको मागपत्रको प्रमाणीकरण भएको छ । योमध्ये साउदी अरबको मात्रै १० हजार हो । अन्य मुलुकबाट थोरै संख्यामा कामदारको माग आएको अध्यक्ष गैरेले बताए । उनका अनुसार १४ हजार कामदारको मागलाई मेनपावर कम्पनीले वैदेशिक श्रम विभागबाट स्वीकृति लिएका छन् ।

कतारमा भने केही महिनाअघि नै नेपाली राजदूतावासले मागपत्रको प्रमाणीकरण गरिसकेको छ । तर, कतारमा अहिलेको अवस्थामा कामदार पठाउन समस्या भएको बताउँछन् अध्यक्ष गैरे । उनका अनुसार कतारमा कामदार पठाउँदा त्यहाँ १४ दिन क्वारेन्टाइन आफ्नै खर्चले बस्नुपर्ने अवस्था छ । कतारमा गएका नेपाली कामदारले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दा २२ सयदेखि २४ सयसम्म कतारी रियल खर्च गर्नुपर्छ ।

नेपाली म्यानपावरले जापानमा पनि कामदार पठाउँदै आएकोमा त्यहाँ पनि होल्ड भएको बताउँछन् गैरे । यसैगरी, फाट्ट-फुट्टरूपमा यूरोपेली देश पनि नेपाली पुग्ने गरेका छन् । तर, धेरैजसो यूरोपेली देश कोभिडका कारण लामो समयदेखि लकडाउनमा भएकाले कामदारको माग शून्यप्राय बनेको बताउँछन् म्यानपावर कम्पनी ।

नेपाल सरकारले सहयोग गर्ने हो भने यूरोपमा नेपाली कामदार पठाउन गार्‍हो नभएको बताउँछन् अध्यक्ष गैरे । उनका अनुसार नेपाली दूतावास नभएका यूरोपेली मुलुकमा गैरआवासीय राजदूतावासको समन्वयमा कामदारको माग गर्न सकिन्छ । कामदार मागका लागि अहिलेको अवस्थामा भर्चुअल माध्यमबाट हस्ताक्षर गर्न सकिने उनको भनाइ छ ।

‘यूरोपेली मुलकका लागि हामी म्यानपावर कम्पनी आफै जिम्मेवारी लिन तयार छौं । तर, यसमा सरकारको सहयोग चाहिन्छ,’ उनले भने, ‘सरकारसँग यस विषयमा कुरा पनि भइरहेको छ । सरकार सकारात्मक नै छ ।’

वैदेशिक राेजगार विभागका निर्देशक एवम सूचना अधिकारी टिकामणि न्यौपाने मागपत्र प्रमाणीकरणमा केही समस्या भए पनि चाँडै नै समस्या समाधान गरिने बताउँछन् ।

‘रोजगारीका लागि नेपाली जाने मुलुकमा अझै कोरोनाको जोखिम रहेकाले श्रमिक पठाउँदा अलपत्र पर्न सक्ने हुँदा मागपत्र प्रमाणीकरणमा ढिलाइ भएको हो,’ उनले भने ।

नेपाली कामदारका लागि यूरोपबाट थोरै संख्यामा आउने मागले पनि नेपाललाई धेरै फरक पार्ने बताउँछन् विभागका निर्देशक न्यौपाने । उनका अनुसार अहिले यूरोपमा जाने कामदारको संख्या सानो भएपनि आम्दानीका हिसावले ठूलो छ । कोभिड–१९ का कारण नेपालमा अहिले वैदेशिक रोजगारमा जाने संख्या घटे पनि सरकारले म्यानपावर कम्पनीलाई सहजीकरण गरिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारका लागि माग नआउँदा मेनपावर कम्पनीको अवस्था नाजुक रहेको बताउँछन् रोयल नेपाल ओभरसिजका निर्देशक दुर्वसा चौलागाँई । उनका अनुसार अहिले कोभिडले गर्दा खाडी मुलुकका धेरै कम्पनीहरु बन्द नै छन् । बन्द भएका कम्पनीले आफ्ना कामदारलाई अन्य कम्पनीमा जान स्वीकृति दिएकाले पनि नेपाली कामदारको माग कम रहेको हो । खाडी मुलुकमा नेपाली कामदारको संख्या तत्काल बढाउनका लागि सरकारले सहजीकरण गर्नु पर्ने उनी बताउँछन् ।

‘कोरोना भाइरसको पीसीआर टेष्ट गरिसकेपछि क्वारेइन्टाइनमा बस्नु पर्ने वाध्यकारी नियमलाई हटाउनसके धेरै नेपाली कामदार खाडी मुलुक जान सक्थे,’ उनले भने ।

कोभिड–१९ का कारण वैदेशिक रोजगारका लागि नेपाली कामदारको माग नआउँदा म्यानपावर कम्पनी धरासायी बनेका छन् । एक वर्षदेखि ठप्प सरह भएको म्यानपावर व्यवसायलाई चलायमान बनाउन कम्पनीले राखेको धरौटी रकमलाई नै ऋणका रुपमा दिन पनि मेनपावर व्यवसायीले माग गरिहेका छन् ।

हाल नेपालमा रहेको ८५४ ओटा कम्पनीले वैदेशिक रोजगार विभागमा ४ अर्ब ३२ करोड रुपैयाँ धरौटी राखेका छन् । यो पैसा कम्पनीको बैंक ग्यारेन्टीभन्दा बाहेकको पैसा हो । हाल नेपालबाट विश्वका विभिन्न देशमा रोजगारीका लागि गएका कामदारले पठाउने रेमिट्यान्स वार्षिक ११ खर्ब रूपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *