कर्णालीको राजधानीकै विद्यालयको अवस्था नाजुक, भुईंमै बसेर पढ्छन् बिद्यार्थी – Nepal Press

कर्णालीको राजधानीकै विद्यालयको अवस्था नाजुक, भुईंमै बसेर पढ्छन् बिद्यार्थी

सुर्खेत । सात दशक अगाडि नेपालमा विद्यालय शिक्षाको सुरुआती समयमा बिद्यार्थीहरुले बस्ने चकटीसमेत घरबाटै लानुपर्ने हुन्थ्यो । समयले उत्तरआधुनिक युगमा प्रवेश गरे पनि नेपालका बिद्यालयमा अझै भूईंमै बसेर पढ्नुपर्ने बाध्यता रहेको तथ्य सुर्खेतको एउटा बिद्यालयले प्रमाणित गरेको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने भेरी गंगा नगरपालिका वडा नम्बर ९ मा रहेको बिद्यासागर आधारभूत बिद्यालयका विद्यार्थीका लागि डेक्सबेन्च नै छैन । अधिकांश दलित समुदायको बसोबास रहने यो ठाउँका २ सय ४३ जना बालबालिका भूईं बसेर शिक्षाको ज्योती लिइरहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर परियारले आफूहरुले विद्यालयको अवस्था दयनीय भएको भन्दै प्रदेश, स्थानीय सरकारमा अनुरोध गरेको भए पनि हालसम्म कतैबाट सहयोग पाउन नसकेको दुखेसो गरे ।

‘हाम्रो विद्यालयमा एउटा पनि डेस्क र बेन्च छैनन् । सबै विधार्थीलाई भुइमै राखेर अध्यापन गराइरहेका छौं,’ उनले भने, ‘यहाँ अध्ययन गर्ने अधिकांश दलित समूदायका बालबालिका छन् । यहाँका दलित समुदायको आर्थिक अवस्था पनि अत्यन्तै दयनीय छ, त्यहि कारण हामीले चाहेर पनि डेस्क बेन्च बनाउन सकेका छैनौं । नगरपालिका र प्रदेश तहमा हाम्रो पहुँच नपुगेका कारण यहाँ अहिलेसम्म सरकारबाट थप बजेट एक रुपैयाँ पनि आएको छैन ।’

उनका अनुसार विद्यालयमा पाँच कक्षासम्म अध्यापन हुने भएतापनि पाँच वटा मात्रै कक्षा कोठा छन् । शिक्षकलाई बस्ने कुर्सी र एक टेबलको व्यवस्था गरिएको छ तर विद्यार्थी भने चाहे गर्मी मौसम होस, चाहे जाडो मौसम हो, भुइमैं बसेर अध्ययन गर्नुपर्ने अवस्था छ ।

अध्यक्ष परियारका अनुसार विद्यालयमा एक स्थायी शिक्षक, दुइ राहत कोटाका शिक्षक, एक निजी र एक जना बालशिक्षा शिक्षक रहेका छन भने एक जना कार्यालय सहयोगी रहेका छन् ।

‘हामीले डेस्क र बेन्च उपलब्ध गराउन या बजेटको व्यवस्थापन गर्न नगरपालिकासँग दुइ तीन पटक माग नै गरेका थियौं, भेरी बबई डाइभर्सन आयोजनासँग पनि माग गरेका थियौं,’ उनले भने, ‘तर कतैबाट पनि समस्याको समाधान गर्ने प्रयास नहुँदा हामी निराश भएका छौं । हिजो मात्रै प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाही आएर विद्यालय हेर्नु भएको छ । माग ल्याएर आए समस्या समाधान गर्ने प्रयास गर्छु भन्नु भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर