जोन्सन कम्पनीको कोरोना खोप अधिक प्रभावकारीः अमेरिका – Nepal Press

जोन्सन कम्पनीको कोरोना खोप अधिक प्रभावकारीः अमेरिका

एजेन्सी । अमेरिकी नियामक निकाय एफडीए (फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन)ले आफ्नो परीक्षणको आधारमा जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोरोनाबिरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएको छ ।

यो सँगै अमेरिकामा कोरोनाबिरुद्धको तेस्रो खोपको अनुमतिको बाटो खुलेको छ । यसअघि फाइजर र मोडर्ना कम्पनीद्वारा उत्पादित खोपले प्रयोगको अनुमति पाएका थिए ।

जोन्सन कम्पनीले उत्पादन गरेको खोप फाइजर र मोडर्नाको खोपभन्दा उत्कृष्ट र सस्तो विकल्प हो । किनभने यो खोपलाई फ्रिजरको सट्टामा आम रेफ्रिजेरेटरमा सुरक्षित राख्न सकिन्छ । यो खोपको एक मात्रा पर्याप्त हुन्छ, जवकि फाइजर र मोडर्ना खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

जोन्सन कम्पनीले आफ्नो परीक्षणको नतिजा गत महिना नै सार्वजनिक गरेको थियो । एफडीएका अनुसार यो खोप अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा परीक्षण गरिएको थियो । तथ्यांकअनुसार कोरोना महामारीबिरुद्ध यो खोप ८५ प्रतिशत प्रभावकारी पाइएको छ ।

शुक्रबार अमेरिकी विशेषज्ञहरुले एफडीएले यो खोपको प्रयोग अनुमति दिने नदिनेबारे निर्णय गर्नेछन् । ह्वाइट हाउसका अधिकारीका अनुसार एफडीएबाट आपतकालीन प्रयोगको अनुमति पाएमा अर्को सातासम्म ३० लाख डोज उपलब्ध हुनेछ ।

कम्पनीले मार्च महिनाको अन्तिमसम्ममा २ करोड डोज उपलब्ध गराउनेछ भने जुन महिनाको अन्तिमसम्ममा १० करोड डोज उपलब्ध गराउने गरी सम्झौता भएको छ । अमेरिकामा अहिलेसम्म ६ करोड ५० लाख मानिसलाई कोरोना खोप लगाइसकिएको छ । दैनिक १३ लाख नागरिकले कोरोना खोप सुविधा पाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *