प्रचण्डलाई बालकृष्ण ढुंगेलको जवाफ- अब हामीलाई बलिदान र मृत्युको यात्रा स्वीकार्य छैन – Nepal Press

प्रचण्डलाई बालकृष्ण ढुंगेलको जवाफ- अब हामीलाई बलिदान र मृत्युको यात्रा स्वीकार्य छैन

काठमाडौं । प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धमा लागेर सर्वस्वसहित जन्मकैदको सजाय खेपेर जेलबाट निस्किएका बालकृष्ण ढुंगेलले प्रचण्डको आह्वानमा आन्दोलनमा लाग्दा कोही मरेमा शहीद नहुने भन्दै उनको पछि नलाग्न आग्रह गरेका छन् ।

ओली पक्षीय नेकपाले प्रदेश १ को राजधानी विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले कुर्सी नपाएर सडकमा पुगेका प्रचण्डको आह्वानमा बलिदान गर्नेहरू मृतकमात्र हुने बताए ।

ढुंगेलले भने- ‘यो सरकारले पिच गरेका सडकमा बम राखेर उहाँहरु बलिदान हुने कुरा गर्दै हुनुहुन्छ । अब हामीलाई बम र बलिदान स्वीकार्य छैन । मृत्युको यात्रा स्वीकार्य छैन । प्रचण्डले नेतृत्वको गरेको जनयुद्धमा बलिदान गरेकाहरुलाई शहीद होइन मृतकमात्र बनाइएको छ । अब प्रचण्डले गर्ने आन्दोलनमा कोही बलिदान भए मृतक हुन्छ कि शहीद ? जवाफ चाहियो ।’

प्रचण्डले केही दिनअघि आवश्यक परे आफूहरु फेरि बलिदान हुन तयार रहेको भन्दै केपी ओलीविरुद्धको आन्दोलनमा लाग्न आह्वान गरेका थिए । ढुंगेलले प्रचण्डलाई सम्बोधन गर्दै बलिदानको झुठो आश्वासनमा अब नफस्ने बताए ।

पूर्व सभासद ढुंगेलले केपी ओली नेतृत्वको सरकारले कालापानी र लिम्पियाधुरा दावी गरेर नक्सा पारित गरेपछि प्रचण्ड-माधव नेपालहरूले ओली हटाउने अभियान थालेको र अहिले बिचलित भएर बाहिरिएको दाबी गरे ।


प्रतिक्रिया

One thought on “प्रचण्डलाई बालकृष्ण ढुंगेलको जवाफ- अब हामीलाई बलिदान र मृत्युको यात्रा स्वीकार्य छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर