जुम्लाको गोठीगाउँमा २५ घरगोठ जलेर नष्ट – Nepal Press

जुम्लाको गोठीगाउँमा २५ घरगोठ जलेर नष्ट

रासस । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा हिजो बेलुकादेखि लागेको आगोबाट २५ घरगोठ नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्सपेक्टर युवनकुमार चौधरीले जानकारी दिए ।

इन्सपेक्टर चौधरीका अनुसार आगलागीबाट मानवी क्षति नभए पनि २० देखि २५ पशुचौपायाको मृत्यु भएको छ । ‘साँझ ७ बजेबाट आगलागी भएको रहेछ । हामीले जानकारी पाउने वित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थल पठाएका थियौं,’ इन्स्पेक्टर चौधरीले भने ।

पछि सदरमुकाम जुम्लाबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा १५, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा ११ गरी २६ प्रहरीको जनशक्ति घटना स्थालमा पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुन पुगेको प्रजिअ थापाले बताए । आगो पूर्णरूपमा ननिभेकाले क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *