पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ६ महिनामा निर्माण सकिने, एक वर्षपछि सञ्चालनमा (तस्वीरसहित) – Nepal Press
विकास–निर्माण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ६ महिनामा निर्माण सकिने, एक वर्षपछि सञ्चालनमा (तस्वीरसहित)

६४ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामध्येको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ६४ प्रतिशत काम सकिएको छ । द्रुत गतिमा निर्माण भइरहेको विमानस्थल अबको एक वर्षभित्रमा सञ्चालनमा आउने आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

‘अहिले ६४ प्रतिशत काम पूरा भएको छ । निर्धारित समयभित्र निर्माण सम्पन्न गर्नेगरी हामीले काम गरिरहेका छौं’, उनले भने । अहिले विमानस्थल निर्माणमा १६० चिनियाँ र ६० जना नेपाली मजदूरले काम गरिरहेका छन् । मुनाकर्मीका अनुसार समयमा काम सम्पन्न गर्नलाई अहिले भइरहेका कामदारले नपुग्ने भएकाले एक महिना भित्र नै चिनियाँ र नेपाली मजदूरको संख्या बढाउने तयारी भभइरहेको छ ।

नयाँ २६० जना कामदार थपेर समयमा नै कामसक्ने आयोजना प्रमुख मुनाकमीर्लले प्रतिवद्धता व्यक्त गरे ।

गत वर्ष कोरोना आतंक शुरु हुनुअघि नै चिनियाँ कामदार नयाँ वर्ष मनाउन घर फर्किएका थिए । कोरोनाका कारण चिनियाँ कामदार अझै पनि काममा फर्किसकेका छैनन् । उनीहरु समयमा फर्कन नसक्दा काम प्रभावित भएको मुनाकर्मीले बताए ।

विमानस्थलको फिनिसिङ तथा इनल पेरिफेरीको काम सकिएको छ । त्यस्तै, उपकरण जडान गर्ने काम १८ प्रतिशत मात्र बाँकी छ । यसैगरी सिभिल वर्कको काम पनि १४ प्रतिशत मात्र बाँकी रहेकाले समयमै काम सम्पन्न गर्ने आधारहरु भएको आयोजनाले बताएको हो ।

आयोजना प्रमुख मुनाकर्मीका अनुसार विमानस्थल निर्माण कार्य सम्पन गर्न चाहिने सबै उपकरण तथा निर्माण समग्रीको खरीद गरिसकिएको छ ।

६ महिना भित्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाको तयारी छ । त्यसपछि, अन्य व्यावस्थापनको काम ६ महिनाभित्र सकेर विमानस्थल सञ्चालनमा आउने मुनाकर्मीको भनाइ छ ।

विमानस्थल निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि पोखराका व्यावसायीलाई धेरै फाइदा पुग्ने त्यहाँका व्यवसायीको बुझाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आउने विदेशी पर्यटकलाई ध्यान दिंदै व्यवसायीहरुले धमाधम होटल रेष्टुरेण्ट तथा अन्य पर्यटकीय व्यवसायमा लगानी गर्न शुरु गरिसकेका छन् ।

चिनियाँ निर्माण कम्पनी सीएमसीईले जुलाई १०, २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ  । सीएमसीईले अगस्ट २०१७ मा विमानस्थल निर्माण शुरुवात गरेको हो ।

विमानस्थल निर्माणका लागि २२ अर्ब रुपैयाँ (भ्याटबाहेक) छुट्याइएको थियो । त्यसमा अहिले १२ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको आयोजक प्रमुख मुनाकर्मीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर