मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् लाभ – Nepal Press

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् लाभ

चितवन । चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरबास) कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिन्छिन । होमस्टे सञ्चालन अघि चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले बालीनाली क्षति गरेर वर्षभरी खानसमेत नपुग्ने अवस्थाको स्मरण गर्दै उनी भन्छिन्, ‘अहिले होमस्टेबाट आम्दानी बढेको छ, खेतबारीका अन्न र सागतरकारी समेत गाउँमै खपत भएका छन् ।’

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ । साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ ।

‘पहिले वर्षायामभरी दुःख गरेर खेती गर्यो, हिउँद लागेपछि हात्ती, गैँडा, चित्तल, बँदेल, मजुरलगायत वन्यजन्तुले खाइदिन्थ्यो,’ श्रेष्ठ भनिन्, ‘अहिले होमस्टेबाट भएको आम्दानीले घरखर्च चलेको छ, वन्यजन्तुको आक्रमण नियन्त्रण भएको छ, गाउँमै बत्ती, सडक, ग्यास र यातायातको सुविधा पुगेको छ, घाँसदाउराका लागि जङ्गल जानुपर्दैन ।’

विसं २०७२ मा १० घरधुरीबाट सुरु गरिएको यहाँ हाल १४ घरमा होमस्टे सञ्चालन गरिएका छन् । अयोध्यापुरी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार होमस्टेमा ८८ पाहुना राख्न सक्ने क्षमता छ । समितिले छिट्टै २५ घरधुरीमा होमस्टे पुर्याउने लक्ष्य रहेको जनाएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बस्तीमा वन्यजन्तुबाट पीडित भएपछि होमस्टे बनाउनुपरेको अध्यक्ष पुनमगरको भनाइ छ । पर्यापर्यटनको अवधारणाअनुसार वन्यजन्तुलाई नै देखाएर आयआर्जन गर्न होमस्टे सुरु गरिएको हो ।

‘यस मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको तराई भू–परिधि कार्यक्रम ९ताल०ले यो अवधारणा ल्यायो । अमलटारीको थारु होमस्टेबाट उत्साही भएर हामीले पनि सुरु गर्यौँ, पुन भन्छन्, ‘सुरुमा आफ्नै लगानीमा गर्यौँ, पछि ‘ताल’ र अन्य संस्थाले घरको रङरोगन, तातोपानीको व्यवस्था, सिलिङमा जिप्सन, डबल बेड, शौचालयमा कम्बोड, टायललगायत सामग्री सहयोग गरिदिनुभयो ।’ कुनै बेला जीविकोपार्जनका लागि आफै पनि विदेश जाने गरेको सुनाउँदै उनी हाल गाउँमै बसेर घरखर्च चलाउन सहज भएको बताउँछन् ।

होमस्टेमा स्वदेशी तथा विदेशी पाहुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा जङ्गली जनावर अध्ययन अवलोकन गर्न, स्थानीय मगर संस्कृति र धार्मिकस्थल हेर्न, सामुदायिक पोखरी, साइकिलिङ, पर्यटकस्थलको भ्रमण गर्न यहाँ आउने गरेका छन् । समितिले आम्दानीको १० प्रतिशत रकम जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनमा छुट्ट्याउने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा फैलिएको छ । यस निकुञ्जको क्षेत्रफल ९५२।६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९।३७ वर्ग किमी छ ।

निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारु होमस्टे सञ्चालनपछि स्थानीय जनता र सङ्घ संस्थाको पहलमा वनको संरक्षण र वन्यजन्तुको बासस्थान राम्रो भएको बताउँछन् ।

होमस्टे सञ्चालनले जीवनशैलीमा सकारात्मक परिवर्तन

‘संरक्षणका लागि स्थानीय नै लाग्नुपर्ने अभियान चलाएपछि थोरै रकमबाट व्यवसाय गरेर तिनै वन्यजन्तु देखाएर आयआर्जन गर्नुपर्छ भन्ने उद्देश्यले नै होमस्टे सुरु गरेका हौँ,” उनी भन्छन् , ‘अहिले स्थानीयमा वन, वन्यजन्तु र प्राकृतिक स्रोत हाम्रै सम्पत्ति हो भन्ने अपनत्व बढेको छ । घर आगन सरसफाइ, बोलीचाली, व्यवहार, बसाइ तथा जीवनशैली, जिउने कला सबैमा सकारात्मक परिवर्तन भएको छ ।’

पहिले वन्यजन्तुले गर्ने क्षतिका कारण स्थानीय बसाइँसराइ गरेर गाउँ नै खाली हुने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष थारु अहिले सबै आफ्नो थातथलोमा खुसीका साथ बसेका बताउँछन् । अहिले वन्यजन्तु आउने स्थानमा तारजाली र पिसिसी पर्खाल लगाएका कारण मानव–वन्यजन्तु द्वन्द्वसमेत न्यूनीकरण भएको छ । यस होमस्टेमा थारु र बोटे समुदायको संस्कृति अवलोकन, स्थानीय परिकार, खानपिन, सूर्यास्तको दृश्य, थारु सङ्ग्रहालय, वन्यजन्तु अवलोकलन, हात्ती सफारी, नारायणी नदी डुङ्गामा बोटिङ, गिद्ध रेष्टुराँ अवलोकन आदि पर्यटकका आकर्षक गन्तव्य हुन ।

विसं २०७० जेठ ५ गते विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) नेपालको २०औँ वार्षिकोत्सव कार्यक्रममा उद्घाटन गरेर अमलटारीको होमस्टे सुरु गरिएको हो । होमस्टे महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका थारुका अनुसार यहाँ हाल ३१ घरधुरीमा एक सय २४ बढी पाहुना राख्ने क्षमता छ । पहिला वन्यजन्तु देखेपछि लखेट्ने यहाँका स्थानीय अहिले संरक्षण गर्न अग्रसर भएका छन् ।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेकै अर्का सञ्चालक धनमाया महतो होमस्टे सञ्चलनपछि आर्थिक अवस्थामा धेरै सुधार आएको बताउँछन् । ‘पहिला परिवार पाल्न अधिकांश पुरुष कि विदेश जान्थे, नसक्ने भारत जानुपर्ने अवस्था थियो । घाँसदाउरा र काठको बढ्दो प्रयोगले वन विनाश भएको थियो,’ उनी भन्छन्, ‘अहिले होमस्टेको आम्दानीबाट घरखर्च चलेको छ, पहिला वन धेरै भयो भने जङ्गली जनावर बढेर मानव बस्तीमा क्षति गर्छ भन्ने मानसिकतामा परिवर्तन भएको छ । हाल वन्यजन्तु बढ्यो भने अवलोकन गर्न पाहुना आउँछन् र आयआर्जनमा थप टेवा पुग्छ भन्ने सोचको विकास भएको छ ।’

महिला समूहमार्फत शिक्षा र चेतनाको स्तर बढेको र सहकारी खोलेर आर्थिक व्यवस्थापन गर्न सिकेको महतो बताउँछन् । कुनै बेला दुर्गम अवस्थामा रहेको आफ्नो गाउँ हाल सडक, यातायात, बिजुलीलगायत अन्य सुविधायुक्त भएको उनको भनाइ छ । डब्लुडब्लुएफ नेपालले पर्यापर्यटनबाट आम्दानी गर्न सकिन्छ भन्ने सचेतना, तालिम र केही सामग्री सहयोग गरेपछि आफूहरुले होमस्टे सञ्चालन गरेको महतो बताउँछन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि डब्लुडब्लुएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले मध्यवर्ती क्षेत्रमा डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न संरक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

मध्यवर्ती कार्यक्रममार्फत वैकल्पिक जीविकोपार्जनको आधार सिर्जना गर्न मध्यवर्ती क्षेत्रमा हुने स्रोतको २० प्रतिशत वैकल्पिक पेसा व्यवसाय गर्न नीतिगत व्यवस्था गरिएको छ । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष वासु ढुङ्गानाले स्थानीयको सकारात्मक सोच र अपनत्वले नै निकुञ्जको दीर्घकालीन संरक्षण हुने उल्लेख गर्दै निकुञ्जबाट लाभ पाएपछि मात्र स्थानीयमा अपनत्वको अनुभव हुने बताउँछन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर