बहिनीको वेदना : रवीन्द्र दाजु यतै कतै हुनुहुन्छ जस्तो लाग्छ – Nepal Press

बहिनीको वेदना : रवीन्द्र दाजु यतै कतै हुनुहुन्छ जस्तो लाग्छ

पोखरा । सालिकलाई घेरेर लस्करै मैनबत्ती बालिएको छ । आकाशै अँध्यारो हुने गरी कालो बादल मडारिएको छ । केहीबेरमा पानी पर्छ । पानी पर्दा एकएक गर्दै मैनबत्तीबाट बत्ती निभ्न थाल्छन् ।

उनी आफू उभिएको ठाउँबाट हठात् सालिकनेर पुग्छिन् । निभेका मैनबत्तीहरूलाई एकपछि अर्को गर्दै बालिरहन्छिन् । उनको भावबाट प्रष्ट हुन्थ्यो- उनी चाहन्नन् कि श्रद्धाले बालेका उज्यालाहरू ननिभून् कसैगरी !

झरीको थोपाले बत्तीहरू निभ्दै जान्थे, बेलाबेला आँखाबाट झरेका आँसु पुछ्दै उनी बोल्दै जान्थिन् । क्रम दोहोरिरह्यो । झरी थामिएन ।

सालिक थियो दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको । र, झरीको थोपाबाट उज्यालाहरू बचाउने प्रयास गरिरहेकी थिइन्, स्व. अधिकारीकी बहिनी विमला अधिकारी ।

शनिबार रवीन्द्र स्मृति प्रतिष्ठानले स्व. अधिकारीको सालिकमा माल्यार्पण तथा दीप प्रज्ज्वलन कार्यक्रम गरेको थियो । त्यही कार्यक्रममा दाजुको सालिकलाई दीप प्रज्ज्वलन गर्न आइपुगेकी थिइन्, उनी ।

०००

ठीक दुई वर्ष अघि आजकै दिन (२०७५ फागुन १५) मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा नेपाली राजनीतिले एक आशालाग्दा नेता गुमायो । बहालवाला मन्त्री रहेकै बखत रवीन्द्र अधिकारीको दुखद निधन भयो ।

परिवारबाट दाजु रवीन्द्रलाई गुमाएको ठीक दुई वर्ष बितिसकेको छ । तर, पनि बहिनी विमला अधिकारीलाई अझै दाजु यतै कतै छन् जस्तो लाग्छ । उनीविनाका चाडपर्वहरू खल्लो भएका छन् । बाल्यकालदेखिका हजार स्मृतिहरूमा उनी दाजुलाई नै पाउँछिन् ।

‘उहाँ आफ्नोबारे मात्रै होइन, हरेक मान्छेप्रति असाध्यै पोजेटिभ हुनुहुन्थ्यो । त्यही कुरा साह्रै याद आउँछ । अहिले दुई वर्ष बित्यो । मलाई अहिले पनि यस्तो लाग्दैन कि उहाँ हुनुहुन्न ।’

स्व. रवीन्द्रकी एक्ली बहिनी हुन् विमला । त्यसैले पनि अरूभन्दा बेसी दाजुको याद आउँछ उनलाई । ‘दाइको एउटा मात्रै सम्झना भन्ने मलाई छैन । अझै पनि पलपल याद आउँछ । उहाँले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो’ दाइ हवाई दुर्घटनामा पर्नु अघिको समय सम्झिन्छिन्, ‘हाम्लाई जहिले पनि अप्ठेरा स्थितिमा मोटिभेट गरिराख्नुहुन्थ्यो ।’

दाजु रवीन्द्र हरेक कुरामा अत्यन्तै सकारात्मक रूपमा प्रस्तुत हुने भएकाले पनि आफूलाई झनै यादले सताउने विमला सुनाउँछिन् । ‘उहाँ आफ्नोबारे मात्रै होइन, हरेक मान्छेप्रति असाध्यै पोजेटिभ हुनुहुन्थ्यो । त्यही कुरा साह्रै याद आउँछ । अहिले दुई वर्ष बित्यो । मलाई अहिले पनि यस्तो लाग्दैन कि उहाँ हुनुहुन्न ।’

विमला जति-जतिबेला आफूलाई एकदम एक्लो र कमजोर पाउँछिन्, सबैभन्दा पहिले दाजुलाई नै सम्झिन पुग्छिन् ।

‘आज म एकदमै निराश अनुभव गरिरहेकी छु’ मधुर स्वरमा सुनिन्छिन्, ‘यस्तो बेला म उहाँको साहस सम्झन्छु । त्यसले मलाई अटोमेटिक प्रोत्साहित गर्छ ।’

दाजु रवीन्द्र अत्यन्तै साधारण जीवनशैली बिताउने स्वभावको भएको विमलाको चित्रण छ । ‘उहाँ साह्रै सामान्य खालको जीवनशैली बिताउनुहुन्थ्यो । विशेषगरी खानेकुरामा साधारण तरिकाको रोज्नुहुन्थ्यो । खानेकुरामा खर्च गर्नुहुँदैन भन्नुहुन्थ्यो’, उनले भनिन् ।

दुर्घटनाअघिको त्यो अन्तिम भेट !
दुर्घटना हुनु तीन दिन अघि मात्रै रवीन्द्र अधिकारीको कान्छा छोरा स्वराज अधिकारीको जन्मदिन थियो । जन्मदिन मनाउन विमलालगायत सबै परिवारका सदस्य कोठामा जम्मा भइसकेका थिए ।

त्यो दिन रवीन्द्रले छोरासँग के गिफ्ट चाहिन्छ भनेर सोधेका थिए । स्वराजले खुशी हुँदै भिडियो गेम मागेको तर, दाजुले त्यो साह्रै महँगो भो भन्दै अर्को चिज मागेपछि गालामा चुम्बन गरिदिएको विमलाको आँखामा ताजै छ ।

फागुन १२ गतेको त्यो साँझ स्वराजको जन्मदिन मनाउन सबै तम्तयार थिए । तर, बुवा रवीन्द्र ढिलो आइपुगे । उनी कोठामा आउँदा रात परिसकेको थियो । ‘बाबु (स्वराज)को बर्थ डे थियो । त्यसकै लागि काठमाडौं गएकी थिएँ । दाइ ढिलो आउनुभाथ्यो’ दुर्घटना हुनुभन्दा तीन दिन अघिको समयमा पुग्छिन्, ‘त्यही पनि साथीले छोरोको बर्थ डे भनेर सम्झाइदिएपछि मात्रै हतार–हतारमा आउनुभा रै’छ ।’

स्वराजको जन्मदिनको अवसरमा काठमाडौंमा भएको त्यो भेट नै विमलाका लागि दाजुसँगको अन्तिम बन्यो ।

त्यो दिन रवीन्द्रले छोरासँग के गिफ्ट चाहिन्छ भनेर सोधेका थिए । स्वराजले खुशी हुँदै भिडियो गेम मागेको तर, दाजुले त्यो साह्रै महँगो भो भन्दै अर्को चिज मागेपछि गालामा चुम्बन गरिदिएको विमलाको आँखामा ताजै छ । भन्छिन्, ‘स्वराजलाई माया (चुम्बन) गरेको अहिले साह्रै याद आउँछ । त्यही भेट नै अन्तिम बन्यो ।’

दाजु राजनीतिज्ञ भएकाले साह्रै व्यस्त भएर धेरै समय बिताउन नपाए पनि चाडपर्वमा भने सधैं सँगै हुने गरेको स्मरण विमला गर्छिन् । अहिले अरू समयमा दाजु नभएको बारे मनलाई सम्झाईबुझाई गरेर थुम्थुम्याए पनि चाडपर्वमा दाजुको धेरै याद आउने उनको अनुभव छ ।

‘दाजु एकदमै व्यस्त हुने भएकाले धेरै समय बिताउनै पाउन्नथ्यौं । चाडपर्वमा मात्रै सँगै हुन्थ्यौं । दुई वर्ष भो हाम्ले कुनै पनि चाडपर्व पहिले जसरी सँगै बसेर सेलिब्रेट गरेकै छैनौं’ विमलाको भावुक बोली सुनिन्छ, ‘परिवार सँगै भएर त्यस्ता (दाजुबारे) कुरा गर्नै सक्दैनौं । अहिले पनि दाजु यतै कतै हुनुहुन्छ भन्ने लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *