भारततर्फ पेट्रोलियम तस्करी बढेपछि पम्पहरुलाई आयल निगमको परिपत्र – Nepal Press

भारततर्फ पेट्रोलियम तस्करी बढेपछि पम्पहरुलाई आयल निगमको परिपत्र

काठमाडौं । केही दिनअघि नेपालबाट डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा ट्यांकरसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गर्यो । ना ७ ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ १ हजार ६० लिटर डिजेल लैजान लागिएको थियो ।

यो एउटा दृष्टान्त मात्र हो । पछिल्लो समय नेपालबाट तेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गर्ने क्रम बढिरहेको छ । भारतको भन्दा तेलको मूल्य नेपालमा सस्तो भएकाले यसरी तस्करी हुने गरेको हो । नेपाललाई आफूलाई चाहिने सतप्रतिशत पेट्रोलियम भारतबाटै खरिद गर्छ । भारतबाटै खरिद गरिएको तेल नेपालमा सस्तो चाहिँ कसरी भयो त ? यसका तीन कारण छन् ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भारतमा संघीय सरकारसँगै प्रदेश सरकारहरुले पनि थप कर लिने भएकाले उपभोक्तासम्म आइपुग्दा तेल महंगो हुने बताउँछन् । अर्को कारण चाहिँ भारतमा भन्दा नेपालमा ‘ओभरहेड रेट’ कम हुनु भएको उनको भनाइ छ ।

पौडेलले भने ‘इन्डियन आयल कर्पोरेशनको भन्दा नेपाल आयल निगमको खर्च कम भएकोले पनि मूल्य कम भएको हो । नेपालमा बिक्री हुने पेट्रोलियम पदार्थमा संघीय सरकारले मात्रै कर लिने गरेकोले पनि भारतमा भन्दा सस्तो हुन्छ ।’ तथ्यांकमा भने नेपालबाट त्यति धेरै तेल अवैधरूपमा भारततर्फ गएको नदेखिएको पौडेलले बताए ।

तेस्रो कारण चाहिँ नेपालको ‘तेल राजनीति’ हो । स्वचालित मूल्य प्रणाली भने पनि आयल निगमले स्वतन्त्ररुपमा तेलको मूल्य समायोजन गर्न सक्ने अवस्था छैन । खासगरि सरकारबाट आउने दवावका कारण कहिलेकाहीँ घाटा सहेर पनि कम मूल्यमा निगमले तेल बेच्ने गर्छ । अहिले पनि निगमले घाटामा नै बेचिरहेको छ ।

पम्पहरुलाई निगमको परिपत्र

नेपाल आयल निगमले पहिले बिक्री गरेको भन्दा धेरै पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्पहरुलाई परिपत्र गरेको छ ।

पौडेलले भने ‘पहिलेका वर्षहरुमा बिक्री गरेकोभन्दा धेरै पेट्रोलियम पदार्थ बिक्री नगर्न परिपत्र गरिसकिएको छ । नाकामा रहेका पम्पहरुलाई बाल्टी, जार, जर्किन र बोतलमा तेल नदिन पनि भनिएको छ ।’

आयल निगमले कार्यविधि नै बनाएर तेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी रोक्न काम सुरु गरेको उनले जानकारी दिए ।

भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर ३९ रुपैयाँ ५० पैसा सस्तो रहेको छ भने पेट्रोल ३३ रुपैयाँ ८९ पैसा सस्तो रहेको छ । भारतमा पेट्रोल नेपाली १ सय ४४ रुपैयाँ ३९ पैसा पर्छ, जबकि नेपालमा १ सय १० रुपैयाँ ५० पैसामा पाइन्छ ।

त्यस्तै, डिजेल भारतमा १ सय ३३ नेपाली रुपैयाँ मूल्य रहेको छ भने नेपालमा ९३ रुपैयाँ ५० पैसा मूल्य रहेको छ ।

कति लिन्छ सरकारले कर ?

निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदुषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रुपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसाँ सरकारलाई कर तिर्ने गरेका छन् ।

डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनु पर्छ ।

उपभोक्ताले पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ पठाएको मूल्यसूची अनुसार फेब्रुअरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रूपैयाँ ६९ पैसा, डिजेलको ५२ रूपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रूपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रूपैयाँ पाँच पैसा तिर्नुपर्छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार १ सय २९ रूपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर