माओवादी बैठक फेरि स्थगित: भोलि प्रचण्डले नाम पढ्ने, अरुले ताली बजाउने – Nepal Press

माओवादी बैठक फेरि स्थगित: भोलि प्रचण्डले नाम पढ्ने, अरुले ताली बजाउने

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी आफू अनुकूल चयन गर्ने भएका छन् । हिजो बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ ।

पदाधिकारीको लागि आज बिहान ९ बजे बैठक बस्ने भनिएको थियो । तर, रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्ड जाने भएपछि ९ बजेको बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । साँझ ४ बजे हुँदै ६ बजे बस्ने भनिएको बैठक भाेलि बिहान ८:३० बजेमात्रै बस्ने भएकाे छ ।

महाधिवेशन सम्पन्न भएको ८ महिनासम्म पदाधिकारी टुङ्गो लगाउन नसकेको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको आलोचना भइरहेको छ । तीब्र दबाबका बीच हिजो पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइएको थियाे ।

माओवादीका एक स्थायी कमिटी सदस्यले भने, ‘पदाधिकारी को को बन्दैछन् भन्ने कुरा नाम प्रस्ताव नआउँदासम्म भन्न सकिँदैन । अहिले आइरहेका कुराहरू अनुमानमात्रै हुन् ।’ बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम वाचन गर्ने र स्थायी कमिटी सदस्यहरूले त्यसलाई ताली बजाएर अनुमोदन गर्ने सम्भावना रहेको उनले बताए ।

प्रचण्डले हिजोको बैठकमा देव गुरुङलाई महासचिव बनाउने संकेत दिएका थिए । उनले दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई उपमहासचिव बनाउने चर्चा छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

तर, प्रचण्डले नाम वाचन नगर्दासम्म पदाधिकारीका विषयमा अनुमान लगाउने कामबाहेक केही नहुने उनको भनाइ छ ।

माओवादी केन्द्रले गत वर्ष पुस ११ देखि २५ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर