सीमापारीका ५ कविका ५ कविता – Nepal Press

सीमापारीका ५ कविका ५ कविता

भनिन्छ, कविताको कुनै भूगोल हुँदैन । तर, भाषा एकै भएर पनि राष्ट्रको नाममा ठडाइएका पर्खालले मानिसहरुलाई फरक मुलुकको नागरिक बनाइदिन्छ । फरक मुलुकको नागरिकता बोकेर पनि भाषा, संस्कृति र भावनाले एक ठाउँमा जोडिनु, त्यसमा पनि कविताको माध्यमबाट एकै अनुभूतिसँग बाँच्नु गज्जबको विषय हो । साथै दुवै मुलुकमा राज्यको दलनबाट खोजिने मुक्तिको लडाइँ युगौँदेखि लडिरहिएकै छ । यो निरन्तर लडिनै नै छ ।

नेपाली संगीत, साहित्यमा दार्जिलिङ, सिक्किमले कला मार्फत् नेपाली भाषालाई समृद्ध मात्रै होइन, परिवर्तनको लडाइँमा पनि ठूलो योगदान दिएका छन् । इन्द्रबहादुर राईदेखि अम्बर गुरुङजस्ता महान् सर्जकहरु हुँदै पछिल्लो छिमलका नवप्रतीभाहरु आइरहेका छन् । नेपाली साहित्य, संगीतलाई अझ समृद्ध बनाइरहेकै छन् ।

यसपटक हामीले ‘सीमा पारीका पाँच कविका पाँच कविता’ भनेर दार्जिलिङ, सिक्किमका नवोदित कविका कविताहरु प्रकाशित गरेका छौं । तर, सवाल उठ्न सक्छ, हामीले ‘सीमा पारी’ भनेर किन भन्ने ? उताबाट हेर्दा यता सीमा पारी, यताबाट हेर्दा उता सीमा पारी, ‘सीमा पारी’ले यत्ति मात्रै अर्थ बोकोस् !

१.

स्मिता सोताङ राई

बुद्ध उपक्रम

कुनै क्षण
या त कुनै मौसम
निस्कन सक्छौ तिमी,
संघार, आँगन नाघ्दै फराकिलो सडकतिर
तिमीलाई रोक्न भनेर बनाइएको कुनै बाँध छैन
थुनेर राख्ने तिम्रो पाइलालाई
कुनै साँध सीमाना कोरिएको छैन
तिमीलाई बन्देज लगाउने
घडीका काँटाहरु छैनन्
छैनन्, तिमीलाई औंला ठहर्याउने
कुनै मूल ढोकाहरु

तिमी जहिल्यै, जहाँ जान सक्छौ
तिमी जहिल्यै, जहाँबाट फिर्न पनि सक्छौ
र प्रमाणित गर्न सक्छौ आफूलाई
एक आदर्श बाबु
एक चरित्रवान लोग्ने
तिमीलाई प्रश्न सोध्ने आँट कोसँग छ ?
तिम्रो पत्नीव्रता जोख्ने आगोको भुंग्रोे कहाँ छ ?
तिम्रो विरुद्धमा उठ्ने औंला कोसँग छ ?
तिमीलाई हरथोक सहज छ,
तिम्रा लागि हरथोक सामान्य छ

जस्तो कि मध्यरातमा
दुधे छोरा र निदाइरहेकी स्वास्नी छोडेर
शान्तिको खोजीमा कतै लुप्त हुन सजिलो थियो बुद्धलाई
जस्तो कि, आगोको भंग्रोेअघि सीताको पतिव्रता जोख्न सहज थियो रामलाई

अप्ठ्यारो त,
छात्तीभित्र उर्लिएको दुख्दो ज्वारभाटाहरु
आफूभित्रै लुकाएर केही, केही, केही नभए जस्तो
चुपचाप, चुपचाप बस्नुमा हुन्छ

जहिल्यै आफूतिर तेर्सिएको प्रश्नतिर
मौनता साँधेर बस्नु जोखिम हुन्छ
हरेक रात वेग अभिप्साको भंग्रोेमा पग्लिएर
फेरि चीसै कोल्टे फेर्नु गाह्रो हुन्छ

असहज त,
काँडै काँडाबीच उनिएर पनि
दुख्दै नदुख्नुमा हुन्छ
आत्मसम्मानको लडाइँ
आफ्नैसँग लडिरहनु, हारिरहनु र बचाइराख्नु
पो स्वाभिमान असहज हुन्छ

तर, दुख्नुको अनुभाव नै कहाँ छ र तिमीलाई ?
आफैसँग परास्त हुनुको पीडा कहाँ छ तिमीसँग ?
जान्दैनौं यी सब,
बारको घोचा न हौ तिमी
म त उहिले उहिलेदेखि नै सियोको टुप्पोमै
उनिएर सिलाउदै सिलाउदै आइरहेकी छु आफ्नै ओंठ
मानौं, असहज केही छैन मेरा लागि
अप्ठ्यारो कहीँ छैन मेरा लागि
शान्त छु, साम्य छु
ध्यानमा लीन थमथमाइरहेछु
आफ्नै अन्तरध्वानीहरुलाई

प्रिय !
मेरो मौनताको परीक्षा नलेऊ यस्तरी,
ध्यान भङ्ग भएको दिन म पनि बुद्धै हुनेछु ।

२.
कृतिका दाहाल

शरद

ओंठमा चाहिएको भन्दा बढी लाली
गालामा बढी फाउन्डेशन
आँखामा लाइनर,
परेलीमा नक्कली परेली थपिएको
जमानाले सुन्दर करार गरिएको भन्दा ्
सुन्दर ढाँचामा भेटेकी हुँ मैले
मेरो शरदलाई
उसलाई भेट्दा
बाहिर हावा बगिरहेको थियो
बौलाहा धूलो भूइँमा बस्न मानेको थिएन
रूखहरू निर्लज्ज भएर नाङ्गो भइरहेका थिए
एक पछि अर्को गर्दै पातहरू कहिले
हावाको गीत कहिले मायाको रीत त कहिले सिपैसिप बनेर
भुइँ भरी र आकाश–धर्ती बीचको ठाउँमा नाचिरहेका थिए
उसलाई भेट्दा यही दृश्य वरपर छरिएका थिए
यसैले ऊ मेरो शरद भएको हो

शरदलाई पहिलो पटक यत्ति नजिकबाट देखेकी हुँ मैले
शरदलाई पहिलो पटक यत्ति ध्यान दिएर हेरेकी हुँ
उसका लोलाएका आँखाहरुले अटोको बाहिर हेरिरहेको देख्दा आहँ
उसको नजरबाट यो संसार मलाई पनि हेर्न मन लागेको हो
के खोजेको, सायद हराएका उसका भावना पो हो कि
के कोरेको, भन्न न सकेका चाहना पो हो
के केलाएको, गन्न न सकेका ताराहरूको गुनासो पो हो कि
के चाहेको, धान्न न सकेको काम तमाम पो हो कि
के मन पराएको, फूलहरू, घाम, बादल, रूख, कुनै बच्चाको कलिलो हाँसो
जस्ता हजार प्रश्नहरूले मलाई
बारबार झकझक्काएर
‘शरद तेरो हो’ ‘शरद तेरो हो’
भनेर जिस्काइरहेको थियो
म ठीक उसको अघि बसेको थिएँ
ऊ मेरो अघि
हाम्रो अनुहार
आँखा
नजर सबै जुधेका थिए
यहाँसम्म कि उसका दुई गोडा मेरा गोडासंँ अटोको ब्रेकको साथ ठोक्किरहेका थिए
उसका हातमा लागेको आल्ता
उसको चुरा, झुम्का शिरबन्दी, गजरा
संसारले मान्ने देवी झैं देखिएकी ऊ
शायद मलाई बुझ्ने
मेरा भावनाको बौलाहा छालमा
मसँगै बगिदिने साथी पो भेट्टाए मैले

मैले खोजी हिँडेको एफ्रोदेटी नै पो भेट्टाएँ
मलाई मेरो प्रतिबिम्बअघि उभिएको झैं आभाष हुँदाहुँदै पनि
एक शब्द बोल्ने आँट गरिनँ

‌ओठमा चाहिएको भन्दा बढी लाली
गालामा बढी फाउन्डेशन
आँखामा लाइनर
परेलीमा नक्कली परेली थपिएको
जमानाले सुन्दर करार गरिएको भन्दा
सुन्दर ढाँचामा भेटेकी हुँ मैले
मेरो शरदलाई
अब
मसँग उसको नाम, ठहर, अत्तोपत्तो नभएकी शरद !
उसलाई माया गर्ने चाह हुँदाहुँदै अलमलिएकी म
आफुलाई खोज्नु कि उसलाई
उसलाई भेटेँ भने के भन्नु
मैंले आफैंलाई भेटे भने के गर्नु
मेरो पहिचान पनि त आफैं अन्योलमा छ
मेरो आमाको भाषामा मेरो समलैंगिक पहिचान छैन

के भनेर चिनाउँ म आफूलाई,
के भनेर बोलाओस उसले मलाई
मायालाई भाषा चाहिँदैन
भावनालाई भाषा चाहिँदैन
तर मायालाई मायाको दर्जा दिन
मायालाई समाजमा ठाउँ दिन भाषा चाहिन्छ
बोली चाहिन्छ
व्यक्त गर्न लवज चाहिन्छ
संसारले बनाएको लिङ्ग र योनीको नियमबीच
लिङ्ग र योनीको भित्ताबीच
लिङ्ग र योनीको भिन्नताबीच
लिङ्ग र योनीको भिढान्तबीच
युद्ध क्रन्दन आक्रोशबीच
शरद र मेरो जस्तो मिठो भावना हराएर जान्छन्
बिलाएर जान्छन्
लाखौं लाखौं रहरलाग्दो मायाका कथाहरू सुरु हुनुअघि यसरी नै
कि त डरले
किज्ञ त करले
कि त मौनताले मर्छन् हगी ?
शरद… अनि म
म अनि शरद !

ओठमा चाहिएको भन्दा बढी लाली
गालामा बढी फाउन्डेशन
आँखामा लाइनर
परेलीमा नक्कली परेली थपिएको
जमानाले सुन्दर करार गरिएको भन्दा
सुन्दर ढाँचामा भेटेकी हुँ मैले मेरो शरदलाई ।

३.
विशाल नाल्बो

मिस्त्रीको मृत्यु

पाँच तल्ला माथिको
बिल्डिङको छतमा बेल्चाको डोरी तानिरहेको
उसको हात अचानक फुस्कियो
र झर्यो भूइँमा थुपारिएको इँटाको थाकमाथि उसको जीउ
त्यो बेला उसले अन्तिम पटक
बेस्मारी हेर्यो पृथ्वीलाई र फेर्यो अलिकति सास

मान्छेहरु अनदेखा गरिरहेका थिए उसलाई
थियो त गहिरो शोकपीडामा उसले चलाउने गरेको मार्तोल

उसको वरिपरि थिए मलामीको नाउँमा
इँटाको चोइटा, हम्मरको हतासो
खिया लागेर आधा भएको बेल्चाको बिँड

छेउमा गरिरहेका थिए
कामदारलाई जस्तो दुवर्््यवहार
उसको लासलाई पनि उसको मालिक

उसको मृत्युभन्दा ठूलो
हानी नोक्सानीको सुर्ता थियो उसको मालिकलाई

उसले चलाउँदा चलाउँदै छोडिराखेको
आधाबोरा सिमेन्ट
इँटा जोड्दा हातको सुरक्षाको निम्ति लगाउने
उसको एक जोड् पञ्जा
पसिना बेचेर उसले किनेको पुरानो मोडलको गम्बुट
र सधै गाउँको सम्झना बोकी ल्याउने
उसको सादा मोबाइल फोन

उसको मृत्युशोकमा अलापबिलाप गरिरहेका थिए

आधा बिल्डिङको पोस बुनेर छोडेको रिङसुल
आधा बुन्न बाँकी रडको टुक्रा
प्लास्टर गर्नलाई छोडिराखेको रुसा कर्नी
र चौकटको निम्ति सोज्याउँदै गरेको काटी मार्तोल

सबका सब अचम्मित थिए उसको मृत्युमा

तर उसको मालिक सोधिरहेथ्यो
कल्ले गर्छ मेरो नोक्सानीको पुर्ती ?
कल्ले गर्छ येल्ले आधाकल्चो छोडेको काम ?

गुमान गरी गरी बलिरहेको थियो आगो
आगैमाथि थियो उसको लास भैसकेको शरीर

जुगौं हिँडी आएर जीवनदेखि
कहिले नथाकेको पहिला उसको खुट्टा जल्यो
त्यसपछि जल्यो दुःखको पाहाडै उचाल्न सक्ने उसको हात
र जल्यो अभागी नाउँको टाउको
तर कस्सै कस्सै कस्सै गरी जल्न मानेन उसको छाती
जहाँ उसको अदृश्य रहरहरुले
बनाएको थियो सिंगो एउटा ब्रामण्ड ।

उ मिस्त्री थियो

कुनै मिस्त्रीको मृत्यु यति लापरबाही किन हुन्छ ?

४.

मिलन थुलुङ

सपना

सधैँ रहरहरू मर्ने आँखामा
जति उमेर पाक्दै जान्छ
सपना पनि काँडा बन्दोरहेछ

तरै पनि कति लोभ लागेको
उमेर खाएका औँलाहरूलाई

मलाई सपनाको लोभ छैन
भनौँ भने
सधैँ हिँडी नै रहेको छु
पखेटा फिँजाएर उडेका सपनाहरू समेट्न

सपना मर्नु भनेको
जीवनले बाँच्नुको अर्थ गुमाउनु हो

संसारमा मानचित्र पाइसकेका जीवनहरूको
आत्मकथा पल्टाएर हेर
त्यहाँ सपना फुलेको हुन्छ

त्यसर्थ,
सफलतालाई आफ्नो बनाउन चाहने आँखाहरुले
सपना रोप्नु पर्छ
सपना उमार्नु पर्छ
सपना फुलाउनु पर्छ

किनभने जीवन हाँस्नु
सपना फल्नु पर्छ ।

५.
आरती ठकुरी

युद्ध

डरको भारी बोकाएर
घिसार्दै पछ्याउन लगाउने
समयले आफ्नो रफ्तार बिर्सेको छ

समय अनि डरको म्याराथनमा
अहिले समय डरसँग हारेको छ

काँडहरू आएर रोपिए
कोमल छातीहरूमा
न रगत बग्यो न पसिना
निर्देशक मौन छ

दिशाहरू अलमल परेर
अलपत्र छरिएका छन्

पानी उम्रन्छ, खोला बन्छ
दुईवटा आकारलाई स्वतन्त्र गराउन
खोला अखबारमा चर्चित भएर बगेपछि
कतिले दूध मानेर पिउँछन्,
कतिले पानी त कतिले रगत

विचारका स्वादहरू नमिलेपछि
काटिए
टुक्रिए
चोइटिए
कति बने धारिलो हतियार
कति बने घरको देवल
बने बालुवा कति
कति बने बन्न नसकेका आकार
अनि फालिए बगरछेउ
सायद
पानीसँग बग्नलाई स्वतन्त्रता

मृत्युहरू अहिले काल पर्खेर बसेका छन्
सडक लम्पसार परेर भाग्दै गरेका खुट्टाहरूलाई लंकी थापिरहेको छ
नालाहरू, डिलहरू चिच्च्याइरहेका छन् आर्तनाद बोकेर
घरका भित्ताहरू, झ्याल ढोकाहरू चिच्च्याउँदै गुहारिरहेका छन्
तर
मन्दिर/ गिर्जा/ मस्जिद सबै निस्तब्ध छन्

हारका गाढा घाउहरूमा
मलम लगाइरहेछ समयले
मानसिक युद्धले दिएको यातनाबाट मुक्ति पाउन
समयले समयलाई नै पर्खिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर