एमसीसीले दबाबमा प्रचण्ड- गठबन्धन जोगाउने कि पार्टी ? – Nepal Press

एमसीसीले दबाबमा प्रचण्ड- गठबन्धन जोगाउने कि पार्टी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चेपुवामा छन् । अमेरिकी सहायता परियोजना (एमसीसी) माथिको विवाद बढ्दै जाँदा पार्टी र गठवन्धनको दुईतर्फी दबाब उनीमाथि छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको एक प्रमुख घटक माओवादी केन्द्र पनि हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै पारित गर्न चाहन्छ । तर, माओवादी र सत्ता साझेदार अन्य दल सम्झौताका ‘विवादित बुँदा’ संशोधन गरेर मात्रै अनुमोदन गर्ने पक्षमा छन् । माओवादीमा एमसीसी स्वीकार नै गर्न हुन्न भन्ने मत पनि बलियो छ ।

प्रचण्डको अफ्ठेरो

पछिल्लो समय प्रधानमन्त्री देउवाले सदनमा एमसीसी टेबल गर्न ‘प्रेसर’ गरेपछि प्रचण्ड झन् दबाबमा परेका छन् । उनलाई एकातिर दुःख गरेर निर्माण गरेको गठबन्धन जोगाउनु छ भने अर्कातिर एमसीसी विरोधीहरुको बहुमत भएको आफ्नो पार्टीलाई व्यवस्थापन गर्नु छ । यो अप्ठ्यारो उनले हालै सकिएको आठौं महाधिवेशनमा एमसीसीबारे दिएको जवाफले पनि संकेत गर्छ ।

‘मैले जोडदार ढंगले भनिदिएँ भने तपाईंहरुले यहाँ जोडदार ढंगले ताली लगाउनुहुन्छ,’ आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भनेका थिए, ‘तर, म जोडदार ढंगले भन्दा पनि भन्दिनँ, तपाईंहरुले जोडदार ढंगले ताली पनि लगाउनुहुन्न । त्यो हो, एमसीसी । मैले जे लेखेको छु, त्यही ठिक हो । तपाईंले जे भन्नु भएको छ, त्यो पनि ठिक हो ।’

प्रचण्डले आफ्नो प्रतिवेदनमा यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने उल्लेख गरेका थिए । जबकि धेरै प्रतिनिधिले एमसीसी खारेज गर्नुपर्छ भनेरै लेख्नुपर्ने सुझाव दिएका थिए ।

‘मैले जे लेखेको छु, त्यो पनि ठिक र तपाईंले जे भन्नु भएको छ, त्यो पनि ठिक’ भन्ने प्रचण्डको दोधारे भनाइबाट एमसीसीको सवालमा गठबन्धन र पार्टीलाई सन्तुलनमा राख्न सकस मिलेको छनक मिल्छ ।

माओवादीका अन्य नेता जस्तो प्रचण्डले एमसीसीबारे खुलेर बोल्न सकेका छैनन् । प्रचण्डनिकट एक नेता उनी गठबन्धनमा आवद्ध भएकाले पनि एमसीसीबारे सन्तुलनमा बोल्नु परेको बताउँछन् ।

नेपाल प्रेससँग ती नेताले भने, ‘अध्यक्षले माओवादीको तर्फबाट मात्रै बोल्ने होइन, गठवन्धनको कुरा पनि बोल्नुपर्छ । तर, माओवादी पार्टीको राष्ट्रिय महाधिवेशनले दिएको ‘म्याण्डेट’ भनेको आवश्यक परिमार्जन गरि राष्ट्रिय सहमतिका आधारमा मात्रै पास गर्ने भन्ने हो । त्यसैले उहाँले यसबारे पार्टीको लाइन विपरित अन्यथा गर्नु पनि हुन्न र गर्न पनि सक्नुहुन्न ।’

माओवादीले महाधिवेशनबाट ‘सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस’ भन्ने प्रस्ताव पारित गरेको थियो । महाधिवेशनबाट पारित यो प्रस्तावका कारण पनि प्रचण्डले एमसीसी संशोधन नभइ पारित गरेर जाउ भनेर पार्टीमा भन्न सक्ने अवस्था छैन ।

देउवाले पेलेरै संसदमा एमसीसी टेबल गर्न खोजे बरु गठबन्धन छाड्नुपर्ने तर एमसीसीका पक्षमा उभिन नुहने मत माओवादीमा बलियो छ । शनिबार बसेको गठबन्धन बैठकमा देउवाले एमसीसी पारित गर्न प्रेसर गरेको समाचार सार्वजनिक भएपछि माओवादीका नेताहरु यसविरुद्ध बोल्न थालेका छन् ।

माओवादी केन्द्रका युवा नेता एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जेसुकै परिणाम ब्यहोर्नुपरे पनि एमसीसी पारित गर्न नहुने बताएका छन् ।

‘एमाले र कांग्रेसलगायतका केही दल एमसीसीको पक्षमा छन्,’ उनले समाजिक संजालमा लेखेका छन्, ‘अध्यक्ष प्रचण्डको असहमतिमा संसदमा टेबल हुन पाएको छैन । खैर, एमसीसी पारित होला, नहोला नेकपा (माओवादी केन्द्र) एमसीसीको पक्षमा छैन ।’

त्यस्तै माओवादीको अर्को भातृ संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले पनि एमसीसी फिर्ता गर्नुपर्ने धारणा राखेकी छन् ।

‘आर्थिक प्रलोभन देखाएर गरिएको कथित महाकाली सम्झौताले सम्झौता गर्नेहरुको अनुहारमा कालो पोतिएको र नयाँ पुस्तालाई पटक–पटक लज्जित बनाइरहेको जिवित तथ्यले गिज्याइरहेकै छ,’ उनले लेखेकी छन्, ‘फेरि डलरको प्रलोभनमा स्वाभिमान बेच्ने राष्ट्रघात नगर । एमसीसी फिर्ता गर्ने हिम्मत गर ।’

प्रचण्डनिकट केन्द्रीय सदस्य युवराज दुलाल पनि माओवादीले गठबन्धन र एमसीसी रोज्नुपर्ने अवस्था आए आफूहरुका लागि गठबन्धन ठूलो कुरा नभएको बताउँछन् ।

‘राष्ट्रियताका सवालमा अहिलेसम्म हामी कही चुकेका पनि छैनौं, चुक्न पनि हुँदैन,’ दुलालले नेपाल प्रेससँग भने, ‘राष्ट्रियताको जिम्मा लिने पार्टीको रुपमा हामी स्थापित हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो । गठबन्धन र एमसीसी रोज्नुपर्ने अवस्था आयो भने हाम्रा लागि गठबन्धन ठूलो कुरा होइन ।’

एमसीसी टेबल गर्नै नदिने रणनीति

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदमा टेबल गर्ने पक्षमा उभिएपछि प्रचण्ड टेबल नै हुन नदिने रणनीतिमा लागेका छन् । १६ माघमा बोलाइएको प्रतिनिधिसभाको बैठक अचानक रोकिनुका पछाडि पनि त्यही कारण रहेको बताइन्छ । सभामुखमार्फत माओवादी र एकीकृत समाजवादीले संसद बैठक स्थगित गराएका थिए । देउवासँग भने आन्तरिक छलफलका लागि भन्दै १० दिन मागेका थिए ।

गठबन्धनमा रहँदा रहँदै एमसीसी संसदमा टेबल भए त्यविरुद्ध मतदान नगर्दा राम्रो सन्देश नजाने भएकाले प्रचण्ड टेबल नै गर्न नदिन सक्रिय भएको माओवादीका एक केन्द्रीय सदस्य बताउँछन् ।

‘एमसीसी टेबल गर्नलाई प्रधानमन्त्रीको चर्को दबाब छ,’ ती केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने, ‘टेबल मात्रै भए पनि गरौं भन्ने कुरा देउवाको छ । हाम्रो कुरा बिनासहमति टेबल पनि गर्नुहुँदैन भन्ने हो । कि त अस्वीकृत गर्ने कुराको ग्यारेन्टी हुनुपर्‍यो होइन भने त्यतिकै टेबल गर्दा त यताउति गरेर पास गर्ने खतरा हुन्छ । त्यसकारण जसरी पनि रोक्ने भन्ने छ ।’

सोमबारको भेटमा पनि प्रचण्डले देउवालाई गठबन्धनमा सहमति नगरि सदनमा टेबल गर्ने कुरातिर नलाग्न आग्रह गरेका थिए । बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार भेटमा प्रचण्डले संशोधनबिना एमसीसी पारित गर्न नसकिने माओवादीको पुरानै अडान दोहोर्‍याएका थिए ।

एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुनेमा जोड दिएका थिए । प्रचण्डको भनाइमा माधव नेपालले पनि समर्थन जनाएका थिए ।


प्रतिक्रिया

One thought on “एमसीसीले दबाबमा प्रचण्ड- गठबन्धन जोगाउने कि पार्टी ?

  1. विषयान्तर गर्न माझण्डहरू खप्पिस छन्। देउवा त खेलाडी नै भैहाले। चुनावमा केन्द्रीत बहसलाई कमजोर बनाउन फेरि एमसीसीलाई बहसमा ल्याइएको छ। परनिर्भरता घटाउन एमसीसी अर्थात अनुदानहरूको भूमिका माथि बहस हुनुपर्थ्यो। ऋण तथा दानअनुदान मन्द विष हो राष्ट्रिय स्वार्थ बलियो बन्दैन भनेर बुझ्नुपर्थ्यो। तर राष्ट्रिय स्वार्थमा क‍ोहीपनि बोल्दैनन्, किन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर