टीभी प्रस्तोता विश्वप्रकाश ! आमिर खानबाट कति प्रभावित ? – Nepal Press

टीभी प्रस्तोता विश्वप्रकाश ! आमिर खानबाट कति प्रभावित ?

काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिकै एक चर्चित पात्र हुन् विश्वप्रकाश शर्मा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रवक्ताको भूमिकामा रहेका यी झापाली नेताको नाममा अब नयाँ परिचय थपिएको छ, टीभी प्रस्तोता ।

सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम ‘ऐना’ मार्फत विश्वप्रकाश नयाँ अवतारमा पेश भएका हुन् । होराइजन मल्टिमिडिया नामक कम्पनीद्वारा उत्पादित र चौधरी फाउन्डेसनद्वारा प्रवर्धित सो कार्यक्रमको बुधबार रातिबाट कान्तिपुर टीभीमा प्रशारण सुरु भएको छ ।

कार्यक्रमको पहिलो एपिसोडमा बालिका बलात्कारको मुद्दालाई केही प्रतिनिधि घटनासहित उठान गरिएको थियो । बलात्कारपछि हत्या गरिएका बालिकाका अभिभावकलाई स्टेजमा निम्त्याएर विश्वप्रकाशले कुराकानी गरे । पीडितले सुनाएका घटना विवरणले दर्शकका आँखा रसाएका थिए । कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक विश्वराज पोखरेललाई पनि अतिथिका रुपमा निम्त्याइएको थियो ।

नयाँ विधा भए पनि टीभी प्रस्तोताको भूमिका विश्वप्रकाश सहज देखिए । उनको संवाद सम्प्रेषण र हाउभाउमा खासै खोट लगाउने ठाउँ छैन । उनले विज्ञसँग गरेको प्रश्नोत्तर भने सतही थियो । कार्यक्रम करिव एक घन्टा लामो भए पनि विषयको गहिराईसम्म पुग्न नसकेको प्रतीत भयो । कार्यक्रममा प्रस्तुत निर्मला हत्याकाण्ड लगायत घटनाहरु पनि मिडियामा छ्याप्छ्याप्ती आइसकेकाले दर्शकलाई धेरै बाँध्न सक्दैन ।

ताली र गाली

कार्यक्रम प्रशारण सुरु भएसँगै विश्वप्रकाशको प्रशंसा र आलोचना सुरु भएको छ । यूट्यूवमा आएका प्रारम्भिक प्रतिक्रियामध्ये धेरैजसो सकारात्मक भए पनि कतिपयले भारतीय अभिनेता आमिर खानले चलाएको टीभी कार्यक्रम ‘सत्यमेव जयते’को ठाडो नक्कल गरिएको आरोप लगाएका छन् । हुन पनि कार्यक्रमको प्रस्तुति र ढाँचा ‘सत्यमेव जयते’ सँग निकै मिल्दोजुल्दो छ ।

सामाजिक मुद्दाको उठानमा प्रश्न गर्ने ठाउँ नभए पनि यो कार्यक्रमको सञ्चालन एउटा राजनीतिज्ञबाट किन ? भन्ने प्रश्न आलोचकहरुले गरेका छन् ।

‘देश र समाजका समस्या उजागर गर्ने काम सञ्चारकर्मीहरुको हो, नेताले त समस्याको समाधान खोज्नुपर्ने होइन ? सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी राम्ररी निर्वाह गरिदिए हुने नि,’ एक दर्शकले यूट्यूबको कमेन्ट बक्समा लेखेका छन् ।

अर्का दर्शक लेख्छन्, ‘आमिर खानको सत्य मेव जयतेजस्तै रहेछ । तर, जे भए पनि नेपालमा यस्तो कार्यक्रम आउनु राम्रो हो ।’

कांग्रेसभित्रकै केही नेताहरुलाई विश्वप्रकारले टीभी कार्यक्रम चलाएको चित्त बुझेको छैन ।

नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय सदस्यले भने, ‘राजनीतिमा यत्तिको हाइट बनाएको व्यक्ति निजी सस्थाद्वारा प्रवद्र्धित टीभी कार्यक्रमको होस्ट बन्न जानुलाई कसरी बुद्धिमानी मान्ने र ? यसले उहाँको प्रचारमुखी चरित्रलाई थप उजागर गरेको छ ।’

पूर्वसञ्चारकर्मी हुन् शर्मा

विश्वप्रकाश आफैंमा एक प्रखर वक्ता हुन् । लयात्मक पारामा धाराप्रवाह बोल्न सक्ने खुबी भएका उनका निम्ति टीभीमा बोल्नु कुनै नौलो अनुभव पनि होइन । तर, टीभी कार्यक्रम सञ्चालन चाहिँ उनका लागि नयाँ विधा हो । राजनीतिज्ञका रुपमा उनका कैयन टीभी अन्तरवार्ता हेरेका दर्शकलाई पनि उनले अरुको अन्तरवार्ता लिएको दृष्य नौलो लाग्छ ।

त्यसो त विश्वप्रकाश पूर्वसञ्चारकर्मी हुन् । पञ्चायतकालमा उनी झापाबाट निस्किने साप्ताहिक आलोकमा कलम चलाउँथे । प्रजातन्त्र आएपछि उनी ०५१ सालतिर रेडियो कार्यक्रम ‘घटना र विचार’ मा सहप्रस्तोता बने, जसको संयोजन देवप्रकाश त्रिपाठीले गरेका थिए । पछि देवप्रकाशले नै निकालेको ‘घटना र विचार’ साप्ताहिकमा विश्वप्रकाश छोटो अवधि अवधि सम्पादकसमेत भएका थिए । अहिले उनी विभिन्न अखबारमा स्तम्भलेखन गर्छन् ।

विश्वमा धेरै हाइ प्रोफाइल सेलिब्रिटीहरु टीभी प्रोग्रामको होस्ट बनेका छन् । उदाहरणका रुपमा भारतमा अमिताभ बच्चनदेखि नेपालका राजेश हमालसम्मको नाम लिन सकिन्छ । तर, एउटा चर्चित राजनीतिज्ञ टीभी होस्ट बनेको उदाहरण भने कमै छन् ।

विश्वप्रकाशका लागि मूख्य चुनौति भनेको कुनै विषय उठाइसकेपछि त्यसलाई समाधानमुखी बनाउने हो । अरुले जस्तो पिडितहरुको घाउ कोट्याएर, दर्शक रुवाएर मात्रै उनको जिम्मेवारी निर्वाह हुँदैन । आफूले अगाडि ल्याएका पीडितलाई न्यायको अनुभूति गराउन उनले के-कस्तो पहल गर्नेछन् भन्ने महत्वपूर्ण हुनेछ । होइन भने टीभी प्रस्तोता बनेर विश्वप्रकाशले आफ्नो राजनीतिक अवमूल्यन गरेको मात्र ठहर्छ ।

यो कार्यक्रम २६ एपिसोडसम्म विश्वप्रकाशले सञ्चालन गर्ने भनिएको छ । कार्यक्रमका लागि उनले लिएको पारिश्रमिक खुलाइएको छैन । कार्यक्रममा स्क्रिप्ट लेखन लेखिका आन्विका गिरीले गरेकी छन् भने निर्देशन अमनप्रताप अधिकारीको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर