देउवालाई लाग्यो चुनाव, भन्छन्– ओली प्रचारमा हिंडिसके – Nepal Press

देउवालाई लाग्यो चुनाव, भन्छन्– ओली प्रचारमा हिंडिसके

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा शनिबार देशैभरि प्रदर्शन गर्‍यो । पूर्व निर्धारित कार्यतालिका अनुसार देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन र सभाहरु गरेको हो ।

सरकारविरुद्ध आन्दोलनको संज्ञा दिइए पनि कांग्रेसका प्रदर्शनहरु भने निर्वाचनको तयारीजस्तो देखिएका छन् । किनकि कांग्रेस सभापति शेरबहादुर देउवाले नै काठमाडौंमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा ‘संसद पुनःस्थापना नभए अहिलेको आन्दोलन नै चुनावको तयारी हुने’ बताएका छन् ।

सभापति देउवा सडक आन्दोलनप्रति सुरुदेखि नै सकारात्मक थिएनन् । यद्यपि पार्टीको केन्द्रीय समितिको बैठकमा आन्दोलनमा जान दबाब बढेपछि देउवाले ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने’ रणनीति अपनाए ।

आन्दोलन गर्ने तर शक्ति प्रदर्शन केन्द्रीकृत नगर्ने देउवाको रणनीति थियो । आन्दोलनमै जान बल गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सहमत गराएपछि कांग्रेसले पुस १९ गतेको बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

‘हामी त चुनावबाटै शासन हुनुपर्छ भन्ने विचार राख्छौं । त्यसैले सधैं चुनावकै तयारीमा छौं । अदालतले चुनावमै जाने भन्यो भने यही आन्दोलनले चुनावको तयारी हुन्छ’, देउवाले भने ।

‘सरकारविरुद्ध प्रदर्शन गरेझैं पनि देखिन र चुनावको तयारी पनि हुने’ मोडलको कार्यक्रमअन्तर्गत शनिबार सबै प्रदेशसभा क्षेत्रमा प्रदर्शन गरियो । माघ ३ गते शनिबार कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ भने माघ ८ गते ६ हजार ७४३ वडामा प्रदर्शन हुँदैछ । यस्तो प्रदर्शन सरकारलाई राजनीतिक रुपमा दबाब दिने भन्दा कार्यकर्ता अल्मलाउने र चुनावको पूर्व तयारीको रुपमा लाभदायक हुने देखिन्छ ।

कांग्रेस सभापति देउवाले शनिबार बूढानीलकण्ठमा सम्बोधन गर्ने क्रममा कार्यकर्ताहरुलाई चुनावको तयारी गर्न निर्देशन दिए । ‘हामी त चुनावबाटै शासन हुनुपर्छ भन्ने विचार राख्छौं । त्यसैले सधैं चुनावकै तयारीमा छौं । अदालतले चुनावमै जाने भन्यो भने यही आन्दोलनले चुनावको तयारी हुन्छ’, देउवाले भने । उनले संसद विघटनबारे उल्लेख्य विरोध जनाएनन् ।

पार्टीबाट आन्दोलनको निर्णय गराए पनि देउवा चुनावकै मूडमा रहेको तथ्य उनकै अभिव्यक्तिबाट पुष्टि हुन्छ । ‘जुलुस गरेर अदालतलाई प्रभावित नगरौं । आन्दोलनबाट यसो गर उसो गर भन्न मिल्दैन । अदालतले जे भन्छ त्यो मान्नुपर्छ’, देउवाको भनाइ थियो ।

विगतमा झैं शनिबारको प्रदर्शनमा पनि कतै संसद पुनःस्थापनाको पक्षमा नेताहरुले भाषण गरे भने कतै अदालतको फैसला पर्खनुपर्ने बताए । जता जसले जे भने पनि कांग्रेस नेतृत्वको मूड भने आन्दोलनभन्दा निर्वाचनतर्फ सोझिएको प्रष्ट हुन्छ । ‘प्रधानमन्त्री ओली आफैं भोट माग्न देशभर हिंड्न थालिसके हामी चै यत्तिकै बसेर हुँदैन’, सभापति देउवाको यही भनाइले देउवालाई चुनाव लागेको प्रष्ट हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर