मेखबहादुर मंग्रातीकाे निजामती यात्रा- नागरिकता लिन जाँदा कर्मचारीबाट दुर्व्यवहार भाेगेपछि लिएकाे अठाेट पूरा – Nepal Press

मेखबहादुर मंग्रातीकाे निजामती यात्रा- नागरिकता लिन जाँदा कर्मचारीबाट दुर्व्यवहार भाेगेपछि लिएकाे अठाेट पूरा

काठमाडौं । सहसचिव मेखबहादुर मंग्राती पाँचथरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएको एक वर्ष बितेको छ । सहसचिव भएपछि मंग्रातीले पाँचथरमै पहिलो पटक सीडीओको जिम्मेवारी पाएका हुन् ।

उनी ७७ जिल्लाका हालका सीडीओमध्ये दलित समुदायका एक्ला व्यक्ति हुन् । पूर्वसचिव डा.मानबहादुर बिके दलित समुदायबाट सहसचिव स्तरबाट सीडीओ बन्ने पहिलो व्यक्ति थिए । बिके सचिवमा बढुवा भएर अनिवार्य अवकाशमा गइसकेका छन् ।

त्यस्तै दलित समुदायबाट सहसचिव स्तरबाट सीडीओ बन्ने दोस्रो व्यक्ति थिए सन्तबहादुर सुनार । उनी सहसचिवबाटै उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । सुनारपछि दलित समुदायबाट सहसचिव स्तरको सीडीओ बन्ने मंग्राती तेस्रो व्यक्ति हुन् ।

मंग्राती २०७८ कात्तिक २२ गते मन्त्रिपरिषद् बैठकबाट सहसचिवमा नियुक्त भएका थिए । उनले तत्कालीन अवस्थामा कान्छो सहसचिवको पहिचान बनाएका थिए । उनी ३५ वर्षमै सहसचिव बन्न सफल भएका थिए । मंग्रातीपछि प्रदीप परियार ३१ वर्षकै उमेरमा सहसचिव भएका छन् ।

मंग्राती २३ वर्षमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । मंग्रातीसँगै एकै पटक १८ जना सहसचिव भएका थिए । जसमा आन्तरिकतर्फ १२ र खुलातर्फ ६ जना सहसचिवमा सिफारिस भएका थिए । त्यस्तै परराष्ट्र सेवामा पनि ६ जना सिफारिस भएका थिए । तिनैमध्ये एक हुन् मंग्राती ।

सिन्धुलीमा २०४३ सालमा जन्मिएका मंग्रातीको घरको आर्थिक अवस्था कमजोर थियो । उनले स्थानीय जनज्योति माध्यमिक विद्यालय फोस्रेटारबाट २०५९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । सोही विद्यालयमा कक्षा १२ अध्ययन गरिरहेकै बेला उनी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली गए । उनको सर्टिफिकेट र नागरिकताको सिफारिसमा केही फरक पर्‍यो । तर, जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले उनको सातोमात्र लिएनन्, दलित भन्दै तथानाम गालीसमेत गरे ।

ती कर्मचारीको गाली र दुर्व्यवहार मंग्रातीको मनमा ईख बनेर बस्यो । अनि उनले अठोट लिए, ‘म पनि एक दिन योभन्दा ठूलो कर्मचारी बन्छु ।’

प्लस टु उत्तीर्ण भएपछि उनी स्नातक अध्ययन गर्न सिन्धुली बहुमुखी क्याम्पस भर्ना भए । सँगसँगै उनले निजामती सेवाको यात्रा तय गरे । क्याम्पस अध्ययनको क्रममा संगत गरेका तत्कालीन गाउँ विकास समितिका सचिव दीपेन्द्र गिरीलाई उनी निजामती सेवा प्रवेशको जस दिन्छन् । उनकै प्रोत्साहनमा आफूले लोकसेवा आयोगको परीक्षाका लागि निरन्तर तयारी गरेको मंग्राती बताउँछन् ।

‘एक वर्षसम्म घरबाट बाहिर ननिस्किकनै अध्ययनमा लागें । त्यतिबेला लोकसेवा आयोगको ट्युसन कक्षा लिन पैसा पनि थिएन’, उनले भने, ‘२०६६ सालमा लोकसेवा आयोगको फाराम खुल्यो र फारम भरें । २३ वर्षको उमेरमा पहिलो प्रयासमै समावेशी र खुला दुवैतर्फबाट खरिदार पदमा सिफारिस हुन सफल भएँ ।’

खरिदारमा पहिलो पदस्थापन सोलुखुम्बुको वाकु गाउँ विकास समितिमा भएको उनी बताएँछन् । त्यहाँ गाविस सचिवको जिम्मेवारी पाएको उनको भनाइ थियो ।

‘गाविस सचिव छँदै नायब सुब्बा र शाखा अधिकृतको तयारी गरिरहेको थिएँ । नभन्दै वाकुमा करिब ६ महिना काम गरेपछि त्यसै वर्षको माघमा नायब सुब्बामा सिफारिस हुन सफल भएँ’, मंग्राती थप्छन्, ‘नायब सुब्बा सिफारिस भएपछि पुरातत्व विभाग काठमाडौंमा पदस्थापन भयो ।’

पुरातत्व विभागमा सरुवा भएर काठमाडौं आएपछि शाखा अधिकृतको लागि विज्ञापन खुलेको र त्यसको तयारीमा पनि लागेको उनी बताउँछन् ।

‘निजामती सेवामा प्रवेश गरिसकेपछि सबैजसो कर्मचारीको एउटै लक्ष्य हुन्छ सरकारको सबैभन्दा माथिल्लो विशिष्ट श्रेणी सचिवसम्म बन्ने । त्यही लक्ष्य बोकेर मैले काम सँगसँगै अध्ययन र परीक्षालाई पनि निरन्तरता दिइरहें’, मंग्रातीले भने, ‘भर्खरैमात्र नायब सुब्बामा सिफारिस भएको र नयाँ कार्यालयमा पदस्थापन भएकाले अर्को वर्ष फारम भर्ने योजना बनाएको थिएँ । तर, साथीभाइले कर गरेपछि फारम भरें । हतारैहतारमा शाखा अधिकृतको परीक्षा पनि दिएँ । शाखा अधिकृतमा पनि पहिलो पटकमै सिफारिस हुन सफल भएँ ।’

अधिकृत बनेपछि भोजपुर जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएको उनी बताउँछन् । त्यहाँबाट मोरङ जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर दुई वर्ष काम गरे । त्यसपछि गृह मन्त्रालयबाट तत्कालीन स्थानीय विकास मन्त्रालयमा सरुवा भएको मंग्राती बताउँछन् ।

स्थानीय विकास मन्त्रालयले उनलाई डडेल्धुराको अमरगढी नगरपालिका खटायो । डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि उनी स्थानीय विकास मन्त्रालयमै सरुवा भए । त्यसपछि ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रशासन शाखामा एक वर्ष काम गरेको उनी बताउँछन् । त्यहाँबाट उनी राष्ट्रिय दलित आयोगमा सरुवा भए ।

शाखा अधिकृत भएको पाँच वर्षपछि उनी उपसचिवको तयारीमा जुटे । तर, उपसचिव प्रतिस्पर्धा गर्ने २ वर्ष बितिसक्दा पनि उनी सिफारिस हुन सकेनन् । शाखा अधिकृत भएको ७ वर्ष बितेपछि उनले उपसचिव र सहसचिव दुइटैको तयारी अघि बढाए । २०७४ सालमा उपसचिवको सिफारिसमा वैकल्पिकमा परे । २०७६ सालमा संसद सचिवालयको उपसचिवको लिखित परीक्षामा उत्तीर्ण भए पनि अन्तर्वार्तामा असफल भएको मंग्राती बताउँछन् ।

‘साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा काम गर्दागर्दै सहसचिवको परीक्षा दिएँ । उपसचिवमा सफल हुन नसकेको म सहसचिवमा सिफारिस भएँ’, उनी भन्छन्, ‘सहसचिव सिफारिस भएपछि पहिलो पदस्थापन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा भएको थियो । त्यहाँ एक वर्षभन्दा बढी समय काम गरें ।’

२०७९ फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले मंग्रातीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्‍यो । त्यसपछि गत वर्ष चैत १९ गते पाँचथर जिल्ला प्रशासन कार्यालय सरुवा भएका मंग्रान्ती अहिलेसम्म त्यही सीडीओ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर