थारु गीत-सङ्गीतलाई राष्ट्रव्यापी बनाउनुपर्छ: प्रदेश प्रमुख मियाँ – Nepal Press

थारु गीत-सङ्गीतलाई राष्ट्रव्यापी बनाउनुपर्छ: प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, कला, संस्कृति र सङ्गीत संरक्षण गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।

धनगढीमा आयोजित प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले भाषा संस्कृति संरक्षण गर्न आफ्नो तर्फबाट पहल गर्ने बताए ।

‘यहाँको थारु भाषा, कला, संस्कृति र सङ्गीत निकै महत्त्वपूर्ण छ । अहिले धेरैले यो भुल्दै गइरहेका छन्’, उनले भने, ‘यसको संरक्षण गर्न आवश्यक छ । म मेरोतर्फबाट हुने पहल गर्छु ।’

प्रदेश प्रमुख मियाँले थारु गीत-सङ्गीतलाई राष्ट्रव्यापी बनाउन आवश्यक रहेको जिकिर गरे । उनले थारु साहित्यमा मौलिकता काम हुँदै गएको भन्दै त्यस्ता विषयमा पनि सर्जकहरूले ध्यान दिनुपर्ने बताए ।

आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले मुलुकमै पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरेर नवीन कामको सुरुवात गरिएको बताए ।

‘नेपालमै पहिलो पटक हामीले भव्य रूपमा थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरेका छौं’, चौधरीले भने, ‘थारु कला र संस्कृतिलाई आज विश्वले हेरेको छ ।’

प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको १९ विधाका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । १२० छनोटमध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखेर मनोनयन सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *