सुदूरपश्चिममा विश्वासको मत लिने समय घर्किँदै, दुवै विकल्पमा मुख्यमन्त्री शाहको छलफल – Nepal Press

सुदूरपश्चिममा विश्वासको मत लिने समय घर्किँदै, दुवै विकल्पमा मुख्यमन्त्री शाहको छलफल

कैलाली । अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने समय साँघुरिँदै गएको छ ।

केन्द्रमा बनेको नयाँ गठबन्धनपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए ।

फागुन २२ गते माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि २३ गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।संविधानको १८८ को २ अनुसार मुख्यमन्त्री शाहले २२ गते भित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको उक्त धारामा ‘प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहसँग २२ गते भित्रै विश्वासको मत लिने वा विश्वासको मत पाउने सम्भावना नरहँदा राजीनामा दिने दुई विकल्प छन् । अहिले मुख्यमन्त्री यी दुवै विकल्पमा छलफल गरिरहेको कांग्रेस निकट स्रोतको दाबी रहेको छ । मुख्यमन्त्री शाह यही विषयमा थप छलफल गर्न सोमबार साँझ काठमाडौँ प्रस्थान गरेका छन् ।

राजीनामा दिने कि, संसद् फेस गर्ने भन्नेमा दोधारमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौँ प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्री शाह साँझ ६: ४० को श्री एयलाइन्सको फ्लाइटमा काठमाडौँ गएका हुन् । उनले पार्टी सभापति देउवा र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ ।

मुख्यमन्त्री शाह विश्वासको मत लिनुपर्ने अवस्था आएमा चैत २२ गते बिहीबार लिने मुडमा रहेको उनी निकट स्रोतको भनाइ छ । २२ गते संसद्मा विश्वासको मत लिन आज साँझ पाँच बजेसम्म प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराउनु पर्नेहुन्छ ।

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई आज धनगढीमा उपस्थित हुन पनि निर्देशन जारी गरेको छ । कांग्रेस सांसद प्रकाश बमका अनुसार साँझ सम्म विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा टुङ्गो लगाउन सांसदहरूलाई धनगढीमै रहन भनिएको हो ।

‘हामीलाई धनगढीमा उपस्थित हुन मात्रै भनिएको छ । मुख्यमन्त्रीज्यू काठमाडौँबाट आजै फर्किनुहुन्छ ’ उनले भने, ‘उहाँ फकिएपछि विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषय टुङ्गो लाग्छ । ’

कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री विश्वासको मत लिने पक्षमा छन् । आफ्ना १८, नाउपाका ७, स्वतन्त्र र राप्रपा मिलाएर बहुमत सङ्ख्या २७ पुर्‍याउने रणनीतिमा मुख्यमन्त्री शाह छन् । तर,नाउपा भित्रै चरम विवाद हुँदा उनी सकसमा परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर