इतिहास बोकेको पाल्पाका बल्ढेङ्गढी – Nepal Press

इतिहास बोकेको पाल्पाका बल्ढेङ्गढी

रुपन्देही । पूर्वपश्चिम राजमार्गबाट २२ किलोमिटरको दुरीमा छ पाल्पाको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढी । रैनादेवी छहरा गाउँपालिकाको वडा नं ७ मा रहेको बल्ढेङ्गढी प्राकृतिक सुन्दरता, ऐतिहसिक एवम् पुरातात्विक महत्व बोकेको यो ठाउँ हो ।

अहिले आन्तरिक पर्यटकको गन्तव्य बनेको बल्ढेङ्गढीमा रहेको बलिहाङ्ग राजाको भग्नावशेष दरवार, त्यहाँ रहेको मन्दिर अनि सोही स्थानबाट देखिने सुन्दर हिमाल, पहाड र तराईका फाँटहरुले धेरैको मन लोभ्याउने गर्दछ ।

दक्षिणमा हिउँदका बेला तुँवालो नलाग्दा सोही स्थानबाट लुम्बिनीलाई सहजै देख्न सकिन्छ भने उत्तरमा हिमाल देख्न सकिन्छ । तर यसको विकास र संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले दीर्घकालील योजना बनाउन नसकेको स्थानीयको गुनासो छ ।

बल्ढेङ्गढीमा विभिन्न टोलबस्तीहरु छन् । सुकादमार, जोगदमार, गहते, लौधापानी, चिदीपानी, काउले, धारापानी, ढाव, बल्ढेङ्, मौलाडाँडा लगायतका बस्तीहरुले गाउँलाई परिचित गराएको पर्यटन क्षेत्रका जानकार दलबहादुर गुरुङ बताउँछन् ।

उनका अनुसार यहाँ विशेष गरेर खड्का, रायमाझी, मगर, कुमाल र दलित जातिहरुको बसोबास रहेका यी स्थानहरुमा कृषि, पशुपालन नै आयस्रोतका मुख्य बाटा रहेका छन् ।

गाउँका टोलटोलमा बाटाहरु पुगेका छन् । विद्यालयहरु, स्वास्थ्य चौकी, हुलाक सेवा पुगेपनि पानीको भने कमी रहेको छ । पानीको असुविधाले सिंचाइको अभाव र पशुपालनलाई पनि व्यवस्थित बनाउन नसकिएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार यहाँ दालचिनी खेती भएपनि बजार पुग्न र उचित मूल्य पाउन सकेको छैन । र, अम्रिसो हुने क्षेत्र भएपनि यसलाई व्यवसायिक रुपमा धेरैले अंगालेका छैनन् ।

स्थानीय झविन्द्र रायमाझी भन्छन्–‘राजमार्गबाट २२ किमी मात्रै उत्तरमा भएपनि यसमा स्थानीय र प्रदेश सरकारको ध्यान पुगेन । नुवाकोटबल्डेङगढी पदमार्गको काम थालिएपनि अहिले स्थानीय सरकारको लापरबाहीले बीचमै रोकिएको छ । तिर्थस्थल हो, पाणिनि,भैरवस्थान जोड्न सकिन्छ । रानीपोखरी, रानीकुवा, दरबारको भग्नावशेष, प्राचीन मन्दिर अलपत्र छन् ।’

उनका अनुसार गाउँपालिकाको नाम यसबाट राख्नुपर्ने हो तर भएन । ‘धार्मिक क्षेत्र हो, नेपालका विभिन्न क्षेत्र र भारतबाट आउने गर्दछन्, मगर राजाले राज्य गरेको ठाउँ, बलियाङ राजाले राज्य गरेको ठाउँ हो, लुम्बिनीदेखि हिमाल सबै देखिन्छ ।’ रायमाझीले भने ।

सिंचाइको अभावले अहिले यहाँका बारीका पाटाहरु उराठ देखिन्छन् । हिउँदोमा धूलो र वर्षामा हिलो हुने कच्चीबाटोले तराइका सालझण्डी र रामापुर जोडेपनि गाउँबाट सहर पठाउने उत्पादन छैनन् । धान, कोदो राम्रै उत्पादन हुने यी गाउँहरुमा नगदेबालीका रुपमा रहेको तरकारीले व्यवसायिक हुन सकेको छैन ।

युवा पिँढी धेरै रोजगारका लागि शहर र देश बाहिर गएकाले पनि यहाँ पुरानो पुस्तामात्रै धेरै रहेको स्थानीयको भनाइ छ । बजारबाट जाने चाउचाउ, कोकाकोलाहरुले गाउँमा साम्राज्य जमाउन थालेको र भुटेका मकै,मोही गाउँलेहरुले बिर्सिने हुन् कि भन्ने डर भएको स्थानीय अगुवा कुलबहादुर खड्का बताउँछन् ।

यहाँ आरु, नास्पाति, कटहर, केरा र सुन्तला खेती बढी हुने गर्दछ । ससाना खोल्साहरु हिउँदमा देखिएपनि तर वर्षामा उर्लेर आउने भएकै कारण काठका ससाना साँघु वा फड्केहरु बनाइएका छन् ।

गाउँमा पुराना प्रकृतिका बार्दलीवाला सुन्दर घरहरु प्रशस्तै भेटिन्छन् । तर यसरी बनाइएका घरहरु भोटे ताल्चा ठोकेर रोजगार र सुविधाका लागि यहाँका रैथाने तराई र बजार पसेका छन् । गाउँमा बिजुली पुग्यो । बाटो पुग्यो तर सेवा भोग गर्नेहरु गाउँबाट बसाइँ सरेकै कारण धेरै घरहरु बन्द रहेको पुराना पुस्ताहरु बताउँछन् ।

‘गाउँमा आम्दानीका बाटाहरु सारै साँघुरो हुँदै गएका छन् । कमाइ खाने बाटो धेरै देखिएन । देश,परदेश जानेहरु केही रहेछन् । नेपालमै सरकारी जागिर खानेहरु औंलामा गन्न सकिने छन्् । गाउँमा ससाना पसलहरु छन् ।’ सो गाउँ घुमेका दलबहादुर गुरुङ भन्छन्–‘ती उल्लेखित गाउँहरुमा संस्कार र सभ्यता कति राम्रो रहेछ, संस्कार, सभ्यताले नेपालीपनलाई झल्काउँदछ ।’

उनका अनुसार गाउँमा केही गाउँलेहरुले विदेशबाट फर्केपछि ब्रोईलर कुखुरा,बंगुरपालन गर्न थालेका छन् । तर उनीहरुलाई वर्खामा दाना ल्याउन गारो रहेछ । ती उत्पादित बस्तुहरु बेच्न फेरि सहर नै ताक्नुपर्ने बाध्यकारी अवस्था छ । गाउँका केही युवाहरुले कृषिलाई आधुनिकीकरणसँग जोड्न खोजेका रहेछन् तर आर्थिक एवम् प्राविधिक ज्ञानका अभावले त्यसो हुन सकेको छैन । अब स्थानीय सरकारले यसमा विशेष ध्यान पुराउनुपर्ने स्थानीयको भनाइ छ ।

गाउँमा चारैतिर कच्ची बाटाहरु खनिएका छन् । स्तरोन्नतिका अभावले दुर्घटना बढेका रहेछन् । बाटोमा नाली र ग्राभेल हुनसकेमा गाउँलेहरुले वर्षामा समेत सहर जानआउन सहज हुने उनीहरुको भनाइ छ ।

वर्षमा करोड बढी गाउँपालिकाबाट वजेट आएपनि सो बजेट अपुग रहेको अनि भौगोलिक कठिनाइका कारण सोचेजस्तो विकास र उन्नति सम्भव नभएको सोही वडाकी सदस्य एवम् कार्यपालिका सदस्य सुकमाया विकले बताउँछिन् । गाउँलेहरुले विभिन्न पर्वहरु मनाउँदै आएका छन् । कूलपूजा र देवाली मनाउने चलन यहाँ भव्य हुने गर्दछ । गाउँमा आउने इष्टमित्रहरु र पाहुनाहरुलाई गरिने स्वागत एवम् सत्कार, हार्दिकतापूर्ण व्यवहार,मिठो बोली र मैत्रीपूर्ण व्यवहार नै गाउँको परिचय रहेको यहाँ पुग्ने पर्यटकहरु बताउँछन् ।

दुरीमा तराई र बजारको नजिक भएकाले गाउँमा व्यवस्थित पशुपालनबाट आधुनिक कृषिले फड्को मार्न सक्ने र आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई बल्ढेङ्गढीसम्म पुराउन सकेमा पर्यटकहरुलाई खाजा,खाना खुवाउने होटल चल्न सक्ने, उनीहरुलाई गाउँमै बसाल्न सकेमा होमस्टेहरु चल्न सक्ने र पर्यटकहरुलाई देखाउने सांस्कृतिक कार्यक्रमबाट गाउँको लोपोन्मुख संस्कृतिको संरक्षण सम्भव हुन सक्ने आधारहरु अहिले यसका जानकारहरुले यहाँको नेतृत्वलाई सुझाव दिएका छन् ।

यसो गर्नसके गाउँलेहरुले आर्थिक लाभ लिन सक्ने, स्थानीय उत्पादनका रुपमा रहेका कोदोबाट बनेका रोटी,ढिंडो र रक्सी पर्यटकहरुलाई खुवाएर आम्दानी गर्न सकिने लोकल कुखुरा,साग, घ्यूबाट समेत पैसा कमाउन सकिने, गाउँलेहरुलाई गरिखाने बनाउन सकिने र बसाइँ सर्नेहरुको संख्यामा कमी ल्याएर गाउँको एकतापूर्ण भावना दरिलो हुने उनीहरुको सुझाव छ ।

गाउँमा पुगेका विकासका साधनहरु प्रयोग गरेर आधुनिक प्रविधिबाट सुन्दर गाउँको सुन्दरता जोगाउन सकिने गरी योजना अघि बढाउन उनीहरुको आग्रह छ ।

गाउँमा रहेको मुख्य धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक स्थलहरुमा पर्यटकहरुलाई डुलाउन र घुमाउन सक्ने स्थानीय युवाहरुलाई टूर गाइड बनाउन सकिने, त्यसका लागि स्थानीय अगुवाहरु,सामाजिक अभियन्ता,राजनीतिक कार्यकर्ता, स्थानीय जनप्रतिनिधिहरु र पर्यटनसँग सरोकार राख्नेहरुसँग छलफल, अन्तक्र्रिया गरी र एकढिक्का भएर सबै अघि बढेमा बल्ढेङ्गढीमा दीर्घकालीन समृद्धिका आधार बन्नसक्ने सुझाव उनीहरुको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर