सुर्खेत गोली काण्ड- घटना घटेको एक महिना भयाे, पत्ता लागेन मुख्य योजनाकार – Nepal Press

सुर्खेत गोली काण्ड- घटना घटेको एक महिना भयाे, पत्ता लागेन मुख्य योजनाकार

सुर्खेत । सुर्खेत तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि फागुन १२ गते गोली प्रहारको प्रयास भएको एक महिना पुगेको छ । गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले फागुन १३ गते सार्वजनिक गरे पनि मुख्य याेजनाकार भने पक्राउ परेका छैनन् ।

प्रहरीले पत्रकार सम्मेलनमा घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेका थिए । तर, घटना घटेको एक महिना पुग्दासम्म पनि प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई समात्न सकेको छैन ।

वीरेन्द्रनगर-३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ गोली हानिएको थियो ।

भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा आएका केही व्यक्तिले गोली हानेका थिए । प्रहरीले फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो ।

प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्तिको रुपमा सार्वजनिक गरेको थियो ।

पीडित विनोद गिरीले भने आफूले न्याय नपाएको बताउदै आएका छन् । घटना घटेको एक महिना वितिसक्दा पनि प्रहरीले मुख्य योजनाकारलाई समात्न नसकेको बताए ।

राजन गिरी माथि पनि खासै गहिरिएर अनुसन्धान नभएको विनोदको भनाइ छ ।

विनोद गिरीका अनुसार राजनमाथि प्रहरीले गहिरो अनुसन्धान गरे घटनामा संलग्न योजनाका मुख्य व्यक्तिहरु एक छिनमा नै पत्ता लाग्ने दाबी गरे ।

उक्त घटनामा ठुलो सञ्जाल रहेको र सोही सञ्जालसम्म प्रहरी पुग्न नसकेको गिरीले भने, ‘राजनले प्रयोग गर्ने सिम बिनाको मोबाइल प्रहरीले नियन्त्रणमा लिएको थियो । सिम राजनले घटना हुनु भन्दा अगाडि भाचेर फालेको हुँदा प्रहरीले उक्त नम्बर समेत पत्ता लागेको छैन । प्रहरीले मुख्य योजनाकारमा राजन र सन्तोष गिरी भनेको छ । तर, यति मात्रै नभएर यो भन्दा ठूलो सञ्जाल बाहिर बसेको छ । उनीहरुलाई तुरुन्तै कानुनको कठघरामा ल्याउनु पर्छ ।’

यस्तै, विनोदकी आमा शारदा गिरीले छोराको हत्या गर्ने योजना बनाएका मुख्य व्यक्ति पक्राउ नपर्दा रातभरि निन्द्रा नलाग्ने गरेको बताइन् ।

महिनौ पुग्दा पनि प्रहरीले घटनामा संलग्न भएकालाई प्रकाउ गर्न सकेको छैन विनोदकी आमाले भनिन्न,ञगोली हान्नेहरू घरमा आउने हुन् कि भनेर डरले रातभरि निन्द्रा लाग्दैन । बाहिर हिँडडुल गर्न पनि डर लाग्छ । छोरा कतै गएछ भने पनि मुटुले ठाउँ छोड्छ । कतिखेर घर आउला भन्ने हुन्छ ।ञ

प्रहरी बयानमा राजन र सन्तोष गिरीले टायल मार्बलको काम गर्ने कामदार सुर्खेत आएको र उनीहरूलाई होटेलमा बास बस्ने व्यवस्था मात्रै मिलाइदिएको बयान दिएका छन् ।

अनुसन्धानको क्रममा घटनामा संलग्न भएको आशङ्कामा थप एक जनालाई काठमाण्डौंमा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन् ।

‘उनका अनुसार घटनामा संलग्न दुई जना फरार रहेको बताए । हामीले गहिरो रुपमा अनुसन्धानमा नै छौँ । संलग्न व्यक्तिहरु नेपालमा नभएर भारतमा छन् भन्ने छ । उनीहरुको खोजी भइरहेको छ । तर, केही समय लाग्छ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर