एमाले कञ्चनपुर अध्यक्षको लागि रस्साकस्सी, सहमतिको प्रयासबीच निर्वाचन तालिका सार्वजनिक – Nepal Press

एमाले कञ्चनपुर अध्यक्षको लागि रस्साकस्सी, सहमतिको प्रयासबीच निर्वाचन तालिका सार्वजनिक

कैलाली । नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जसअनुसार आज प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको छ भने भोलिबाट त्यसमा दाबी विरोधको समय निर्धारण गरिएको छ ।

भोलि बिहान ९ बजेदेखि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र पर्सि मतदानको समय निर्धारण गरिएको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सकेसम्म सर्वसम्मत नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयनको प्रयास गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । अहिले पनि सहमतिको प्रयास जारी छ । सहमतिकै प्रयास जारी रहेकै बेला निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

एमाले कञ्चनपुर अध्यक्षलागि अहिले सम्म चार नेता आकाङ्क्षी देखिएका छन्। अहिले लक्ष्मी बुढा, पल्लवराज भट्ट, अशोककुमार चन्द र हिरा चन्दले अध्यक्षमा दाबी गरिरहेका छन् ।

०५३ साल विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका लक्ष्मी बुढा अहिले उपाध्यक्ष एवं कावा अध्यक्ष हुन्, उनले पनि अध्यक्षको दाबी गरेकी छिन् । ०४६ साल विद्यार्थीबाट राजनीतिक यात्रा गरेका पल्लवराज भट्ट एमाले कञ्चनपुरका सचिव हुन्, उनले पनि जिल्ला अध्यक्षको नेतृत्वका लागि आकाङ्क्षा राखेका छन् ।

अध्यक्षका लागि देखिएका भट्ट र बुढा ८ औँ अधिवेशनमा सचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए । पूर्ववेदकोट नगरका मेयर अशोककुमार चन्द ८औँ अधिवेशनमा सचिवमा पराजित भएका थिए ।

०४६ साल विद्यार्थीबाटै राजनीतिमा आएका अशोककुमार चन्द अघिल्लो अधिवेशनमा सचिव र अहिलेको अधिवेशनमा अध्यक्षको नेतृत्वका लागि देखिएका छन् ।

०४६ सालदेखि विद्यार्थीबाटै राजनीतिमा जोडिएका हिरा चन्द पनि देखिएका छन् । विद्यार्थीबाटै राजनीतिक यात्रा गरेका उनी शैक्षिक, प्राज्ञिक क्षेत्रमा जोडिएका छन् ।

चन्दद्वय एमाले सुप प्रदेश सचिवालय सदस्य हुन् । एमाले जिल्ला कमिटीसहित चार सय ६४ जिल्ला प्रतिनिधिले पार्टीको नेतृत्व पदाधिकारी सदस्य छनोट गर्न पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर