इलाम २ मा चुनाव लड्न एमालेमा सुहाङको औपचारिक दाबेदारी – Nepal Press

इलाम २ मा चुनाव लड्न एमालेमा सुहाङको औपचारिक दाबेदारी

इलाम । इलाम २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ ।

नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो । उपनिर्वाचनको मिति तोकिएसँगै सुवासचन्द्रका छोरा सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो । यही चर्चाबफच एक साताअघि इलाम आएका उनले निवेदनमार्फत दाबेदारी प्रस्तुत गरेका हुन् ।

सुहाङसँग नेपाल प्रेसले केहीदिनअघि गरेको भिडिओ वार्ता हेर्नुहोस्- ‘परिस्थितिले राजनीतिमा धकेल्दैछ, बुवाको निर्वाचन क्षेत्रमा पार्टीले अघि सारे खुट्टा कमाउँदिन’

एमाले इलामका उपाध्यक्ष तथा कार्यदल संयोजक राईले सुहाङले पनि उम्मेदवारीको लागि निवेदन दिएको बताए ।

संयोजक राईका अनुसार सुहाङसहित एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले पनि दाबेदारी प्रस्तुत गरेका छन् । कार्यदलले चैत ३ सम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने तयारी छ ।

उम्मेदवार बन्नका लागि निवेदन दिएको बताउँदै सुहाङले भने, ‘सबै आदरणीय अग्रज, शुभेच्छुक, प्रियजन, साथीभाइको सुझावअनुसार मैले कार्यदलमा निवेदन दिएको छु । यदि पार्टीले मलाई योग्य ठान्यो भने म प्रतिस्पर्धाका लागि तयार छु ।’

पेशाले अधिवक्ता सुहाङले पछिल्लो समयमा इलाममा गतिविधि बढाएका छन् । अहिले भेटघाट र अन्तरक्रियामा उनी व्यस्त छन् । यसबीचमा कार्यकर्ता-शुभेच्छुकबाट आएका प्रतिक्रियाले आफू उत्साही रहेको उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर