रेशम-रन्जिताको विवाद सतहमा : रन्जिता नयाँ गठबन्धनमा लचक, रेशम पुरानो गठबन्धनमा साथ दिन इच्छुक – Nepal Press

रेशम-रन्जिताको विवाद सतहमा : रन्जिता नयाँ गठबन्धनमा लचक, रेशम पुरानो गठबन्धनमा साथ दिन इच्छुक

सबै प्रदेशमा आफू निकटका नेताहरूको भेला गर्दै रेशम

रुपन्देही । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले शुक्रवार राती सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिए पनि सो पार्टीका संरक्षक तथा रन्जिताका श्रीमान् रेशम चौधरी पुरानो गठबन्धनअनुसार नै अगाडि जाने र सुदूरपश्चिम सरकारमा सहभागी पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए ।

‘पार्टीमा अन्तरद्वन्द्वलाई बढाउनु हुँदैन, कुनै ठाउँमा उहाँ (पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ) ले मन्त्रीहरू सरकारबाट फिर्ता आउनुपर्छ भन्ने बोल्नुभएको होला । हाम्रो पार्टीमा सरकारमा पठाउँदा र फिर्ता गर्दा केन्द्रीय समितिको निर्णय चाहिन्छ भन्ने छ । केन्द्रीय समितिको बैठकको निर्णय सबैले स्वीकार गर्नुपर्छ’ बुटवलमा शनिवार पत्रकारहरूसँग कुरा गर्दै नेता चौधरीले भने, ‘सुदूरपश्चिम सरकारमा गएका मन्त्रीहरू फिर्ता हुनेछैनन्, केन्द्रीय समितिको बैठकले यो समस्याको समाधान गर्नेछ ।’

शनिवार सुदूरपश्चिम प्रदेशका मन्त्रीहरूलाई बर्दियामा भेटेर बुटवलमा उनले लुम्बिनी प्रदेशका मन्त्री तथा सांसदहरूलाई गोप्य भेला गरेका छन् । लुम्बिनी प्रदेशमा पुरानो गठबन्धनलाई साथ दिने गरी उनले मुख्यमन्त्री डिल्ली चौधरीलाई आफू तथा सांसदहरूलाई राखेर भेट्ने गरी बुटवलमा आएका हुन् ।

नाउपामा निर्वाचित भएका उनलाई अवैधानिक ठहर गरेर उनकी श्रीमती रन्जिता श्रेष्ठलाई अध्यक्ष कायम गरिदिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । यही कारण सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी विषयमा पनि दुई धार देखिएको हो । रेशमको निर्देशन बमोजिम शुक्रवार तीन मन्त्री सरकारमा पठाए पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएपछि उनीहरूको आन्तरिक विवाद सतहमा आएको हो ।

नेता चौधरीले साना दलमा समस्या रहेकोले अहिले बनेको एमाले–माओवादी गठबन्धनको भविष्यलाई सजिलो नभएको बताए ।

अहिलेको संरचनाले देशलाई अस्थिरता बढाएको र स्थिर सरकार बनाएर लामो समय सरकार चलाउन पाउनुपर्ने बताउँदै उनले एउटा कार्यकारी पद राष्ट्रपति वा प्रधानमन्त्री छानेर जानुपर्ने बताए ।

उनले अहिले संघ र प्रदेशमा भएका सांसदहरूको संख्या कटौती गरी जानुपर्ने आफ्नो स्पष्ट धारणा रहेको र त्यसबाट नै समस्या समाधान हुने तर्क गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर