रमेश खरेल रास्वपामा निष्क्रिय, टेलिभिजनमा कार्यक्रम चलाउँदै – Nepal Press

रमेश खरेल रास्वपामा निष्क्रिय, टेलिभिजनमा कार्यक्रम चलाउँदै

खरेल भन्छन्- उहाँहरुले जिम्मेवारी दिन खोज्नुभएको थियो, तर एक-दुई वर्ष राजनीतिमा हुन्नँ भनेको छु

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल गत उपनिर्वाचनमा बारा–२ मा पराजित भएसँगै राजनीतिमा निष्क्रिय बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका उनी अहिले सो पार्टीको कुनै पनि भूमिकामा छैनन् ।

खरेल अहिले टेलिभिजन सञ्चारकर्मीको नयाँ भूमिकामा देखा पर्न थालेका छन् । दुई महिना अगाडिबाट उनले स्पेस ४ के टेलिभिजनमा ‘जनता जनार्दन’ नामको कार्यक्रम चलाउन थालेका हुन् । उनको कार्यक्रम ८ एपिसोड प्रशारण भइसकेको छ ।

प्रत्येक सोमबार ९ बजे प्रशारण हुने कार्यक्रममा उनले भ्रष्टाचारका मुद्दाहरुलाई प्राथमिकतामा राख्दै आएका छन् । कार्यक्रममा उनी फिल्ड रिपोर्टिङ र अन्तरवार्ता पनि गर्छन् । यसैगरि, रिपोर्टिङ, भक्स पव पनि समेटिन्छ । उनको कार्यक्रमको शैली विगतमा रवि लामिछानेले चलाएको सीधा कुरासँग मिल्दोजुल्दो देखिन्छ ।

खरेलले यसअघि आफैंले नेपाल सुशासन पार्टी स्थापना गरेर राजनीतिमा प्रवेश गरेका थिए । उनको नेतृत्वमा २०७८ साल पुस २१ गते सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । पार्टीले अपेक्षित गति लिन भने सकिरहेको थिएन ।

यता रास्वपा अध्यक्ष रवि लामिछानेले खरेललाई आफ्नो पार्टीमा भित्र्याउन पहिल्यैबाट प्रयास गरिरहेका थिए । २०७९ सालको आमनिर्वाचनअघि नै कुराकानी भए पनि खरेलले समय लिए । उक्त आमनिर्वाचनमा खरेल सुशासन पार्टीबाट काठमाडौंबाटै लडेर पराजित भएका थिए । काठमाडांै १ मा कांग्रेसका प्रकाशमान सिंहले जित्दा खरेल चौंथो भए ।

गत वैशाख १० मा बारा २ मा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार बन्ने प्रस्ताव रास्वपाले उनीसँग राख्यो । खरेलले त्यसलाई स्वीकार्दै रास्वपामा प्रवेश गरे । यद्यपि, यो चुनावमा पनि सुखद नतिजा आएन । चुनावमा दोस्रो पराजय व्यहोरेका खरेल रास्वपामा सक्रिय भएनन् ।

रास्वपाले खरेललाई केन्द्रीय समितिमा बस्न आग्रह गरेको थियो । गत मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकबाट उनलाई केन्द्रीय सदस्य नियुक्त गर्न खोजिएको थियो । तर, खरेल आफैंले अस्वीकार गरे ।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले खरेललाई पार्टीले जिम्मेवारी दिन खोज्दा उनले नै अनिच्छा व्यक्त गरेको बताउँछन् ।

‘उहाँ पार्टीमा सक्रिय हुनुहुन्न । हामीले केन्द्रीय समितिमा ल्याउन चाहेका थियौं, तर अहिले आउँदिन भन्नुभया । तर, पार्टी परित्याग भने गर्नुभएको छैन’, ढकालले भने । खरेल अब १–२ वर्ष राजनीतिमा सक्रिया नहुने सोचमा छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफ्नो व्यक्तिगत कामलाई प्राथमिकता राखेकाले रास्वपामा सक्रिय नबनेको बताए ।

उनले भने, ‘सबैभन्दा पहिले त व्यक्तिगत कामलाई नै प्राथमिकतामा राख्नुपर्यो । उहाँहरुले जिम्मेवारी दिन खोज्नुभएको हो । तर, मैले अहिले व्यक्तिगत काममा लागेको छु । एक–दुई वर्ष व्यक्तिगत काम गर्न दिनुस्, पछि गरुँला भनेको छु ।’

तर, सञ्चारकर्ममा कुनै पृष्ठभूमि र अनुभव नभएका खरेल कसरी टिभी कार्यक्रम सञ्चालन गर्न पुगे त ? उनी भ्रष्टाचारविरुद्धको अभियानलाई फरक भूमिकाबाट अघि बढाउन खोजेको बताउँछन् ।

‘साथीहरुले रिक्वेस्ट गरे । मैले पनि यसो सोचेँ, गर्दाखेरि राम्रै होला भन्ने भयो । मेरो एजेन्डा भनेको भ्रष्टाचारको विरोध हो । भ्रष्टाचार र सुशासनलाई नै केन्द्रबिन्दु बनाएर टिभी कार्यक्रम चलाइरहेको छु । जनतालाई सुसुचित गरिरहेको छु । निर्वाचनमा जुनसुकै पार्टीका भए पनि राम्रा राम्रा मान्छेलाई छान्नुस भनेर वकालत गर्नेछु’, खरेल भन्छन् ।

टिभी कार्यक्रम चलाउँदा रमाइलो लागिएको उनले बताए । खरेल भन्छन्, ‘काम त गाह्रो छ । तर, मलाई रमाइलो लागिरहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर