कोशीको सर्वसम्मत नेतृत्व छान्ने एमालेको प्रयास, तर आकाङ्क्षी धेरै हुँदा निर्वाचनकै सम्भावना – Nepal Press

कोशीको सर्वसम्मत नेतृत्व छान्ने एमालेको प्रयास, तर आकाङ्क्षी धेरै हुँदा निर्वाचनकै सम्भावना

विराटनगर । कोशी प्रदेशमा तीन जिल्लाबाहेक सबै जिल्लामा एमालेको जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

सङ्खुवासभामा भने एमालेको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन भएको सङ्खुवासभामा अन्य पदाधिकारी भने निर्वाचनबाट छानिएको छ ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको बताए । उनले सर्वसम्मत नेतृत्व चयन हुन नसके निर्वाचनका माध्यमबाट भए पनि नयाँ नेतृत्व चयन हुने बताए ।

अहिलेसम्म मोरङ, सुनसरी र इलाममा भने जिल्ला अधिवेशनको मिति तय हुन सकेको छैन । जेठको पहिलो साता भित्रमा प्रदेशका १४ ओटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने र नयाँ नेतृत्व चयन गर्ने तयारी रहेको खतिवडाले बताए ।

अहिले सम्म धेरै जिल्लामा सर्वसम्मत नेतृत्वको प्रयास भइरहेको छ । सर्व सम्मत हुन नसके निर्वाचनमा गएर भए पनि नेतृत्व चयन हुने छ । उनले भने ।

कहाँ र कहिले अधिवेशन ?

एमाले उदयपुरको अधिवेशन चैत्रको १३ र१४ गते गर्ने तयारी भएको छ । यस्तै १५ र १६ गते झापामा जिल्ला अधिवेशन गर्ने तयारी भएको छ । यसै गरी पाँचथरमा चैत्रको १७ र १८ गते, सोलुखुम्बुमा २३ र २४ गते, ओखलढुङ्गामा २६ र २७ गते अधिवेशनको तयारी भएको छ ।

यस्तै खोटाङमा २८ र २९ गते अधिवेशनको तयारी भएको एमाले कोशी प्रदेशले जनाएको छ । वैशाखका ४ र ५ गते भोजपुर, २२ र २३ गते ताप्लेजुङ, र २४ र २५ गते धनकुटाका र २८ र २९ गते तेह्रथुमको लागि अधिवेशन गर्ने मिति तय भएको छ ।

अधिवेशनको मिति तय भएसँगै आकाङ्क्षीको सङ्ख्या बढेको छ । पदाधिकारीमै आकाङ्क्षी धेरै हुँदा नेतृत्वले सहमतिको प्रयास गरे पनि अधिकांश जिल्लाको नेतृत्व छान्न निर्वाचन हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर