सत्ता साझेदार दलहरुलाई ‘पावरफुल मन्त्रालय’, एमालेको भागमा गठबन्धन ! – Nepal Press

सत्ता साझेदार दलहरुलाई ‘पावरफुल मन्त्रालय’, एमालेको भागमा गठबन्धन !

प्रचण्डले नयाँ गठबन्धन बनाएकै दिन व्यक्त गरेका दुई शब्द ‘लात्ता हानेर हिँडिदिन्छु’ र ‘म बाँचुञ्जेल यस्तै उथलपुथल भइरहन्छ’ नै नेपालको राजनीतिका लागि अझै केही वर्ष दुर्भाग्य र अस्थिरताका सूचक हुन् ।

काठमाडौं । गृह, अर्थ, परराष्ट्र, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता मन्त्रालय अन्य दललाई दिएर गठबन्धनको ठूलो दल एमालेको भागमा चाहिँ के आउँदैछ ? मन्त्रालय बाँडफाँटपछि एमालेका एक नेतालाई यस्तो प्रश्न गर्दा उनले भने- एमालेको भागमा सिंगै गठबन्धन ल्याइसकियो त कांग्रेसबाट खोसेर ।

एमाले नेताको यो व्यंग्यात्मक जवाफ नै अहिले पार्टी पंक्तिको साझा प्रतिक्रिया बनेको छ । एमालेले गठबन्धन भत्काएर नयाँ बनाउनुलाई नै आफ्नो भागमा परेको सबैभन्दा ठूलो उपलब्धि ठानेको हो वा राजनीतिको बांगोटिंगो रेखाको संकेत पनि गरेको हो ? यो प्रश्न गर्नु अहिले नै हतारो हुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि यो साता दुई महत्वपूर्ण संयोग आइलागे । आफ्नो समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले धोका दिएर कांग्रेससँग फर्किएको ठीक एक वर्ष पुगेकै दिन ओलीले गठबन्धन भत्काएर प्रचण्डलाई आफूतिर फर्काउनु एउटा संयोग थियो ।

दोस्रो संयोग चाहिँ, सर्वोच्च अदालतको फैसलाबाट नेकपाको कानूनी विभाजनपछि अलग बनेका ओलीसँग प्रचण्ड-माधवको एकै गठबन्धनमा पुनर्मिलन भयो । २०७७ फागुन २३ गते आजकै दिन अदालतले तत्कालीन नेकपा विघटन गरेर एमाले र माओवादीलाई अलग गरिदिएको थियो ।

त्यसयता ओली र प्रचण्डबीच गत वर्ष २ महिना सहकार्य भए पनि माधव नेपालसहितको सत्ता सहयात्रा भने ठीक फागुन २३ कै दिन जुरेको छ । फागुन २३ मा विभाजित नेकपा पुनः एकीकरणको पहिलो खुड्किलो पनि यही संयोगलाई कतिपयले मान्न सक्छन् ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपाको कानूनी विभाजनपछि अलग बनेका ओलीसँग प्रचण्ड-माधवको एकै गठबन्धनमा पुनर्मिलन भयो । २०७७ फागुन २३ गते आजकै दिन अदालतले तत्कालीन नेकपा विघटन गरेर एमाले र माओवादीलाई अलग गरिदिएको थियो ।

तर, अब ओलीले विगतमा जस्तो आफू अल्पमतमा पर्ने वा आफूलाई अप्ठरो हुने एकता गर्लान् भन्ने चाहिँ सोच्न सकिन्न । यद्यपि कठोरमा हदैसम्म जाने र लचिलो बन्दा पनि हदैसम्म बन्ने ओलीको स्वभाव भने मन्त्रालय बाँडफाँटमा उनले देखाएको असाधारण र अपत्यारिलो लचकताबाट देखिएको छ ।

एमाले अध्यक्ष ओली यस पटक एकाएक ‘एक्स्ट्रिम रिभर्स’मा गएका छन् । मन्त्रालयको भागबन्डामा एमालेले कुनै पनि अडान लिएन । ओलीले बुधबार प्रधानमन्त्रीलाई ‘तपाईंलाई के गर्दा सजिलो हुन्छ, क-कसलाई के कति दिनुहुन्छ दिनुस्’ भनेर बागलुङतर्फ लागेको नेताहरुले बताएका छन् ।

नभन्दै एमालेको भागमा परेका मन्त्रालयहरुको सूची हेर्दा एमालेले सत्ता साझेदारी वा पावर शेयरिङ गरेन । बरु ओलीलाई सर्वोच्चको परमादेशबाट सत्ताच्युत गर्न बनाइएको गठबन्धनलाई भत्काउनुलाई नै सबैभन्दा ठूलो उपलब्धि ठान्यो कि ? अहिले बजारमा चलेको प्रश्न यही हो ।

एमालेले सरकारमा आफ्नो प्रभावकारी उपस्थिति र दलीय आकारअनुसारको भूमिका खोज्नुभन्दा पनि आफूले बनाएको गठबन्धनलाई बलियो बनाउन त्याग गरेको अर्थ पनि कतिपयले लगाएका छन् । तर, सत्ता राजनीतिमा यस्ता भावुक तर्कको अर्थ छैन ।

सरकारको नेतृत्व गरेको माओवादीले ५ वटा मन्त्रालय पाएको छ र पाँचवटै शक्ति अभ्यास र सेवा प्रवाहका हिसाबले शक्तिशाली ‘क’ श्रेणीका मन्त्रालय हुन् । अर्थ, परराष्ट्र, ऊर्जा, पर्यटन र सञ्चार मन्त्रालय भनेको शक्तिशाली मन्त्रालय मानिन्छन्, ती सबै माओवादीले पाएको छ ।

एमालेको भागमा परेका मन्त्रालयहरुको सूची हेर्दा एमालेले सत्ता साझेदारी वा पावर शेयरिङ गरेन । बरु ओलीलाई सर्वोच्चको परमादेशबाट सत्ताच्युत गर्न बनाइएको गठबन्धनलाई भत्काउनुलाई नै सबैभन्दा ठूलो उपलब्धि ठान्यो कि ? अहिले बजारमा चलेको प्रश्न यही हो ।

शक्तिको हिसाबले गृह मन्त्रालय सबैभन्दा पावरफुल हो, जुन रास्वपाका सभापति रवि लामिछानेले पाएका छन् । माओवादी नेताहरु भने एमालेको भागमा परेको गृह मन्त्रालय केपी शर्मा ओलीले नै रविलाई दिएको दाबी गर्छन् । यसमा ओलीको दीर्घकालीन रणनीति भएको हुनसक्ने उनीहरुको आँकलन छ ।

रास्वपाले पाएको शिक्षा मन्त्रालय बजेट र सञ्जालको हिसाबले सबैभन्दा पावरफुलमै पर्छ । रास्वपाले पाएका श्रम र युवा तथा खेलकुद पनि आकर्षक मन्त्रालयमै पर्छन् ।

एमालेले पाएकामध्ये भौतिक पूर्वाधारबाहेक अन्य मन्त्रालय लो-प्रोफाइलका मानिन्छन् । जनताका प्रत्यक्ष काम गर्ने वा शक्ति अभ्यास गर्ने हिसाबले एमालेले लिएका मन्त्रालयहरुको खासै महत्व छैन । स्वास्थ्य, शहरी विकास जस्ता मन्त्रालयसमेत एमालेले छाडेको छ ।

एमालेले मन्त्रालय भागबन्डामा लत्तो छाडेका हो ? ७८ सीट भएको पार्टीले ३२ र २१ सीट भएका पार्टीलाई जसरी मन्त्रालयको वजन र संख्या सुम्पियो, त्यसले प्रश्न उठाएका छन् । एमालेका धेरै नेताले आश्चर्य र असन्तुष्टि पनि व्यक्त गरेका छन् । यद्यपि कोही पनि यसलाई लिएर सार्वजनिक प्रतिक्रिया दिनेवाला छैनन् ।

‘अध्यक्षले सोच विचार गर्नुभएकै होला’, ‘अहिलेलाई हाम्रो भागबन्डा गठबन्धन, अरुको भागमा मन्त्रालय’, ‘सर्वाधिकार अध्यक्षमा रहेकाले यसमा अरुले प्रश्न उठाउने कुरा छैन’ यस्तै यस्तै जवाफ एमालेका नेताहरुले अनौपचारिक रुपमा दिइरहेका छन् ।

तर, जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने र परिणाम देखाउने मन्त्रालयहरु एमालेसँग नहुँदा भोलि राम्रा कामको जस सम्बन्धित मन्त्री र दलले पाउने र जनताले चाहे जस्तो वा सोचे जस्तो काम नहुँदा गठबन्धनको सबैभन्दा ठूलो दल र यो गठबन्धनको सूत्रधारको हिसाबले अपजस र आलोचना जति एमालेले खेप्नुपर्ने अवस्था नेता कार्यकर्ताले देखिरहेका छन् ।

जो प्रधानमन्त्री छ, उसलाई काम निकाल्ने सहज टीम बनाउन दिने र गठबन्धन टिकाउन अन्य साना दललाई चित्त बुझाउने नीतिबमोजिम एमालेले लो-प्रोफाइल मन्त्रालय लिएको अर्थमा पनि बुझाउन खोजिएको छ ।

यद्यीि मन्त्रालय बाँडफाँटमा एमालेले असाधारण लचकता देखाउनुका केही कारणहरु भने विश्लेषण भइरहेका छन् ।

असाधारण त्यागका सम्भावित ५ कारण

१) ओलीका लागि त्यो गठबन्धन भत्काउनु प्रतिष्ठा र इगोको विषय थियो । आफूविरुद्ध भूराजनीतिक शक्तिले बनाइदिएको गठबन्धन भत्काउनुलाई ओलीले राजनीतिक विजयका रुपमा लिए । एक वर्षअघि प्रचण्ड जुन भूराजनीतिक दबाब र धोकापूर्ण ढंगले २ महिनामै पुरानो गठबन्धनमा फर्किएका थिए, त्यसलाई खरानीको डल्लो सावित गर्ने सफलतालाई नै ओलीले उपलब्धि माने ।

२) कांग्रेसलाई २ पटक धोका दिइसकेका प्रचण्ड अब आउने चुनावमा पार्टीको अस्तित्व जोगाउन नै भने पनि वाम गठबन्धन छाडेर जाँदैनन् भन्ने विश्वास पनि हो । थप डेढ वर्षभन्दा बढी प्रधानमन्त्री बनेपछि प्रचण्ड २०८४ को चुनाव हेरेर भने पनि आफ्नो साथमा रहनेछन् भन्ने छ । दुई नेताबीच प्रधानमन्त्रीलाई सरकार सञ्चालन गर्न सहज टीम बनाउन छाड्ने समझदारी भएका कारण आफ्नो पालामा आफ्नै सहज टीम बनाउने गरी अहिले छाडेको हुनसक्छ । जो प्रधानमन्त्री छ, उसलाई काम निकाल्ने सहज टीम बनाउन दिने र गठबन्धन टिकाउन अन्य साना दललाई चित्त बुझाउने नीतिबमोजिम एमालेले लो-प्रोफाइल मन्त्रालय लिएको अर्थमा पनि बुझाउन खोजिएको छ ।

३) अध्यक्ष ओलीसँग ‘रिदम र ट्युनिङ’ मिल्ने प्रभावशाली नेता संसदमा छैनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल जस्ता नेता अहिले संसदमा छैनन् । उपाध्यक्ष विष्णु पौडेल यस पटक सरकारको नेतृत्व गरेर जाने परिस्थिति पनि रहेन । किनकि अर्थ मन्त्रालयकै लागि प्रचण्डले देउवासँगको गठबन्धन त्यागेको एउटा कारण पनि थियो । त्यसैले बाँकी पदाधिकारीमध्ये मधेशको नेतासमेत भएकाले रघुवीरका लागि भौतिक पूर्वाधार लिएर अरु विगतमा प्रचण्डबाटै २ महिनामा धोका पाएका मन्त्रीलाई मौका दिने निर्णयमा ओली पुगेको हुनसक्छ । २ वर्षपछि आफू प्रधानमन्त्री बन्दा बलियो टीम र परिणाम देखाउने मन्त्रालयसहित गएर चुनावमा जनमत रिझाउने उद्देश्य पनि यसमा रहेको छ ।

४) एमाले अध्यक्ष ओली फेरि वाम एकताको बाटोमा फर्किने संकेतसमेत पछिल्ला घटनाक्रमले देखाएका छन् । माधव नेपालको घरमा जानु, प्रचण्डलाई दोस्रो पटक आफूतिर ल्याउनु जस्ता घटनाक्रमले दीर्घकालीन उद्देश्य राखेर ओलीले यस पटक मन्त्रालय बाँडफाँटलाई शर्त नबनाएको पनि अनुमान छ । यसबीचमा नेकपा एसका जिल्ला तहका नेताहरु एमालेमा फर्किएर लगभग रित्तिने क्रममा छन् । केन्द्रीय सदस्यहरु पनि धमाधम फर्किएका छन् । १० सांसद र माधव नेपालको प्रधानमन्त्री बन्ने अघिल्लो सम्झौताका कारण टिकेको नेकपा एसलाई फेरि एमालेमै विलय गराउने दीर्घकालीन योजना देखिन्छ । एसलाई भित्र्याउँदा एमाले कांग्रेसभन्दा ठूलो दल बन्नेछ र त्यसको लाभ ओली र माधव नेपाल दुवैले पाउने हुन् । २०८४ सालमा फेरि बहुमतसहित सरकारको नेतृत्व गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को आफ्नो नारा कार्यान्वयन गर्ने र यसअघिको नेकपाकालीन घटनाबाट पाठ सिक्ने मौकाका रुपमा पनि ओलीले यो गठबन्धन बनाएका छन् ।

प्रचण्डबाट २ वर्षपछि फेरि ‘नितिशकुमार नगर्लान्’ भन्ने ग्यारेन्टीसमेत छैन । यस्तो अवस्थामा अर्को राजनीतिक समीकरण बन्ने सम्भावना कायमै रहेकाले एमालेले ‘टीम ए’लाई बेञ्चमा राखेर ‘टीम बी’लाई सरकारमा पठाएको अनुमानसमेत लगाइरहेका छन् । भूराजनीतिक शक्तिको नांगो चलखेल देखिएकै छ ।

५) र, सरकारमा एमालेको सहभागिता र मन्त्रालयको बाँडफाँटमा देखाएको असाधारण त्यागमा कतिपयले नयाँ राजनीतिक सम्भावना पनि देखिरहेका छन् । कांग्रेसले विगतमा एमालेको प्रस्ताव अस्वीकार गरेकोमा पश्चातापसहित ओलीलाई प्रधानमन्त्रीको अफर गरिसकेको छ । राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सानाहरुको च्याँखे दाउ बन्द गर्ने लाइन विगतमा एमालेले नै लिएको हो । प्रचण्डबाट २ वर्षपछि फेरि ‘नितिशकुमार नगर्लान्’ भन्ने ग्यारेन्टीसमेत छैन । यस्तो अवस्थामा अर्को राजनीतिक समीकरण बन्ने सम्भावना कायमै रहेकाले एमालेले ‘टीम ए’लाई बेञ्चमा राखेर ‘टीम बी’लाई सरकारमा पठाएको अनुमानसमेत लगाइरहेका छन् । भूराजनीतिक शक्तिको नांगो चलखेल देखिएकै छ । माधव नेपाललाई समेत रोकेर प्रचण्डलाई विश्वासको मत नपुर्‍याउने प्रयास पनि भएकै हो । प्रचण्डले विश्वासको मत लिने बेलासम्म तलमाथि गर्ने प्रयत्न अझ हुनेछ । त्यसैले कतै एमालेले यो टीमलाई ‘पानी छाम्न’ पठाएको त होइन ? राजनीतिक बजारमा चलेको यो चर्चामा बलियो आधार नभए पनि अनुमानको हावा भने भरिएको छ ।

एमाले पंक्तिमा छैन उत्साह

मन्त्रालय बाँडफाँटमा नेतृत्वले जसरी असाधारण लचकता देखाएको छ, एमालेको कार्यकर्ता पंक्तिमा समेत नयाँ गठबन्धनले कुनै उत्साह ल्याएको देखिन्न । एमालेले अभियान नै चलाएको मिसन ग्रासरुट तहका कार्यकर्तामा पछिल्लो गठबन्धनले उत्साह ल्याउनुको साटो निराशा वा आशंका सिर्जना गरेको सामाजिक सञ्जालहरुमा छरपस्ट देखिन्छ ।

एमालेका ग्रासरुट तहका कार्यकर्ता बरु कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भन्ने पक्षमा मुखरित भएका छन् । एमाले नेतृत्वले कार्यकर्ता पंक्तिको यो रुझान नबुझेको होला भन्न सकिन्न । त्यसमाथि कांग्रेसले पश्चाताप गर्दै एमालेलाई नै प्रधानमन्त्रीको अफर गरेपछि एमाले कार्यकर्तामा अहिलेको गठबन्धनभन्दा कांग्रेससँगको सहकार्यप्रति चाख बढेको देखिन्छ ।

यसको कारण चाहिँ प्रचण्डको पटक पटकको ‘पल्टुराम’ व्यवहार र आधारभूत तहमा माओवादी र नेकपा एसले जसरी पनि एमाले हराउन विगतमा कांग्रेसलाई मत दिएको चोट पनि एउटा हो । तर, नेतृत्वले गरेको ठीकै होला, केपी ओलीलाई भरोसा गर्नुपर्छ भन्ने अभिमत नै एमालेमा बलियो भएकाले अहिलेको गठबन्धन भत्काउनेदेखि मन्त्रालय बाँडफाँटसम्मका घटनाक्रममा पनि एमाले पंक्ति देखा जायेगाको मनस्थितिमा देखिन्छ ।

प्रचण्डले नयाँ गठबन्धन बनाएकै दिन व्यक्त गरेका दुई शब्द ‘लात्ता हानेर हिँडिदिन्छु’ र ‘म बाँचुञ्जेल यस्तै उथलपुथल भइरहन्छ’ नै नेपालको राजनीतिका लागि अझै केही वर्ष दुर्भाग्यका सूचक हुन् । त्यसैले पनि एमाले पंक्ति नयाँ गठबन्धनप्रति गौरवबोध गर्न सकिरहेको छैन ।

त्यसो त प्रचण्डको पल्टुराम प्रवृत्तिले माओवादी पंक्तिसमेत आजित देखिन्छ । किन गठबन्धन बनाएको, किन तोडेको, फेरि किन फर्किएको ? यस्ता प्रश्नको जवाफ माओवादी पंक्तिमा पनि छैन । अध्यक्ष प्रचण्डले गरेपछि त्यही सिद्धान्त हो भन्नेबाहेक अरु तर्क माओवादीमा पनि मरिसकेका छन् ।

प्रचण्डले नयाँ गठबन्धन बनाएकै दिन व्यक्त गरेका दुई शब्द ‘लात्ता हानेर हिँडिदिन्छु’ र ‘म बाँचुञ्जेल यस्तै उथलपुथल भइरहन्छ’ नै नेपालको राजनीतिका लागि अझै केही वर्ष दुर्भाग्यका सूचक हुन् । त्यसैले पनि एमाले पंक्ति नयाँ गठबन्धनप्रति गौरवबोध गर्न सकिरहेको छैन ।

एमालेले गठबन्धन भत्काउने मूल्यमा महत्वपूर्ण मन्त्रालयदेखि, सरकारको कार्याकाल र राष्ट्रियसभाको अध्यक्ष पनि चुकाउनुको खास अन्तर्य अध्यक्ष ओलीबाहेक कमै नेतालाई थाहा होला । तर, एमालेको यो असाधारण त्यागलाई गठबन्धनकै दलहरुले कसरी लिएका होलान् ? छाड्नेले छाडे पनि लिनेले आफ्नो घाँटी किन हेरेनन् ? प्रश्न यो पनि छ ।

तर, एउटा कुरामा एमालेको सकल दर्जा (केही नेताबाहेक) केमा आशंकित छ भने माओकी कान्छी श्रीमतीलाई कसरी हेर्ने ? स्टालिन कति प्रतिशत ठीक र बेठीक भन्ने इस्यु नमिलेर पार्टी फुटाउने स्कुलका हेडसर प्रचण्डले भोलि ‘पल्टुराम’ बन्ने बेला अघिल्लो वर्षकै जस्तो कुनै प्रोक्सी इस्यु खडा गरेर टाटा बाइ बाइ नगर्लान् भन्ने कुनै ग्यारेन्टी छैन ।


प्रतिक्रिया

5 thoughts on “सत्ता साझेदार दलहरुलाई ‘पावरफुल मन्त्रालय’, एमालेको भागमा गठबन्धन !

  1. गहन विश्लेषण। अब आम काङ्रेसीले अब प्रचण्डलाई पचाउन सक्ने छैनन्।

  2. सत्ता समीकरण त फेरियो होला त कम्न्युनिष्टबीच एकीकरण ?
    प्रधानमन्त्री प्रचण्ड र उनको नेतृत्वमा रहेको पार्टी माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको सम्बन्ध बिग्रिएर कम्फर्टेबल सत्ता समीकरण भत्किएको र नेकपा एमालेसँगको सम्बन्ध सुध्रिएर नयाँ सत्ता समीकरण बनेको भन्ने निष्कर्ष निकालियो भने त्यो गम्भीर गल्ती हुनेछ। पुरानो सत्ता समीकरण भत्किनु र नयाँ सत्ता समीकरण बन्नुमा धेरै कारणहरू छन्, सबभन्दा पहिलो कारण प्रधानमन्त्री प्रचण्डको सत्ताको आयु लम्ब्याउने चाहना र प्रचण्डको अस्थिर राजनीतिक चरित्र हो। अन्य कारणहरू सहायक मात्र हुन्। यो कुरो कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले नबुझेको मान्न र भन्न सकिदैन्।

  3. एमालेका भ्रेट्रान कार्यकर्ता पत्रकार मातृका पौडेललाई सारै चित्त बुझेनछ।गृहमन्त्री एमालेको भए यो बर्ष नि दाईले तक्मा पाउथे।

  4. माउबादी ०८४ मा कसैको साथ नपाउने हुन्छ अनि चिलिम नै हुन्छ

  5. माओकी कान्छी श्रीमतीलाई कसरी हेर्ने ? स्टालिन कति प्रतिशत ठीक र बेठीक भन्ने इस्यु नमिलेर पार्टी फुटाउने स्कुलका हेडसर प्रचण्डले भोलि ‘पल्टुराम’ बन्ने बेला अघिल्लो वर्षकै जस्तो कुनै प्रोक्सी इस्यु खडा गरेर टाटा बाइ बाइ नगर्लान् भन्ने कुनै ग्यारेन्टी छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *