महन्थ ठाकुर, सीके राउत र रेशम चौधरीले सामूहिकरुपमा देउवालाई भेट्दै – Nepal Press

महन्थ ठाकुर, सीके राउत र रेशम चौधरीले सामूहिकरुपमा देउवालाई भेट्दै

जनकपुरधाम । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी एकसाथ कांग्रेस सभापति देउवालाई भेट्न तयार भएका हुन् ।

तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए । देउवाको आग्रह स्वीकारेर तीनै अध्यक्ष उनकै निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे भेट्न लागेका छन् ।

लोसपा नेता सुरेन्द्र झाले अध्यक्ष ठाकुर कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास जाने बताए । उनले भने, ‘कांग्रेस सभापतिले छलफलका लागि बोलाउनुभएको छ । छलफलमा जनमत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पनि सहभागी हुने कुरा छ ।’

उनले लोसपाको प्राथमिकतामा सरकार नरहेको पनि बताए । अब कसरी अगाडी बढ्ने विषयमा अगामी फाल्गुन १ र २ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय लिने बताए ।

गठबन्धन परिवर्तन गरेकोमा उनले प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि पोखे । उनले भने, ‘हामी राजनीति स्थायीत्व होस् भन्ने चाहेका छौं । प्रचण्ड जी गठबन्धन बदल्दा माधव जी र हामीसँग सल्लाह पनि गर्नुभएन । अबको गठबन्धनलाई पुरानै हो भन्न मिल्छ ?’

जनमतका अध्यक्ष डा. राउत पनि देउवालाई भेट्न उनकै निवास जाने तयार भएका छन् । यसको पुष्टि जनमतकै सचिव बीपी साहले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर