मधेसका कांग्रेस मन्त्री : यादवले बिहानै क्वार्टर छाडे, समिम पनि बाहिरिँदै – Nepal Press

मधेसका कांग्रेस मन्त्री : यादवले बिहानै क्वार्टर छाडे, समिम पनि बाहिरिँदै

जनकपुरधाम । सत्ता गठबन्धन परिवर्तनको असर मधेस प्रदेशमा पनि देखिएको छ । केन्द्रमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि यस प्रदेशका कांग्रेसी मन्त्री राजीनामा दिने कि नदिने अन्योलमा परेका छन् ।

चारदलीय गठबन्धन बनेपछि संघ सरकारमा रहेका ८ मन्त्रीलाई भने आफैँ राजीनामा नगराउने कांग्रेसले निर्णय गरेको थियो ।

मधेसमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधारमन्त्री, मो. समिम गृह तथा सञ्चारमन्त्री र वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् ।

पूर्वाधार मन्त्रीले भने बिहानै क्वार्टर छाडेको स्रोतले बतायो । उनी बसिरहेको मधेस भवनको क्वार्टरमा ताला लगाइएको छ । उनलाई सम्पर्क गर्न खोज्दा मोबाइल उठेन ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री मो. समिम पनि क्वार्टर छाड्ने तयारीमा छन् ।

उनले नेपाल प्रेससँग भने, ‘अब के गर्ने निर्णय भएको छैन । बैठक बसेर आवश्यक निर्णय लिने विषयमा छलफल भइरहेको छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंह भने क्वार्टर नपाएकाले मधेसभवन बाहिरै बस्छन् । उनीसँग पनि सम्पर्क हुन सकेन ।

सरकार छाड्नुपर्ने अवस्था आएपछि मन्त्री निकटस्थ नेताहरू मन्त्रालयका सचिव र अन्य कर्मचारीलाई विभिन्न योजना मागको चिठ्ठी लिन दबाब दिइरहेका छन् । मन्त्री निकटका नेताको दबाबका कारण मन्त्रालयका सचिव र कर्मचारी सम्पर्कविहीन छन् ।

सचिव र कैयौं कर्मचारी मन्त्रालय आएका छैनन् । उनीहरू दबाब थेग्न नसक्दा उनीहरू फोनसमेत रिसिभ गर्न छाडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर