सुदूरपश्चिममा बिनालाई इन्चार्ज बनाउन चाहन्थे प्रचण्ड – Nepal Press

सुदूरपश्चिममा बिनालाई इन्चार्ज बनाउन चाहन्थे प्रचण्ड

कैलाली । माओवादी केन्द्रको स्थायी कमिटी बैठक मार्फत प्रदेश इन्चार्जहरू हेर फेर भएका छन् । यस अघि सुदूरपश्चिम प्रदेशमा सचिव डिलाराम आचार्य इन्चार्ज रहेका थिए ।

आज माओवादीले सचिव पौडेलको स्थानमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै एकल सह इन्चार्जमा बिना मगरले जिम्मेवारी पाइन् ।

केन्द्रीय सदस्य विना मगर प्रचण्डको बुहारी हुन् । पदाधिकारीबाट इन्चार्ज बनाउने करिब टुङ्गो लाग्दै थियो । सुदूरपश्चिममा कुनै पनि माओवादी नेता पदाधिकारी छैनन् । यहाँ शीर्ष नेता खगराज भट्ट हुन् उनी स्थायी कमिटी सदस्य छन् । तर, प्रचण्डले भट्टलाई सह इन्चार्ज समेत नबनाएर केन्द्रीय सदस्य विना मगरलाई सह इन्चार्ज तोके ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विना मगरलाई सह इन्चार्ज नभई इन्चार्ज बनाउन चाहन्थे । प्रचण्डलाई सुदूरपश्चिमका अधिकांश सबै महिला केन्द्रीय सदस्यहरूले विनालाई इन्चार्ज बनाउन दबाब दिइरहेका थिए ।

कति पटक प्रत्यक्ष भेटमा त कति पटक विभिन्न माध्यमबाट विनालाई इन्चार्ज बनाउन प्रचण्डलाई सुदूरपश्चिम प्रदेशका महिला केन्द्रीय सदस्यहरूले लबिङ गरिरहेका थिए ।

‘दुई तीन पटक नै उहाँ (विना मगरलाई) इन्चार्ज बनाउन हामीले समूहमा भेट गरिसकेका छौँ ’माओवादी एक केन्द्रीय सदस्य ले भनिन्, ‘प्रचण्ड पनि यो विषयमा सकारात्मक हुनुहुन्थ्यो ।’

प्रचण्डले विनालाई इन्चार्ज बनाउन चाहेको तर, पारिवारिक आरोप आउन सक्ने विषयमा पनि माओवादी केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

‘हामीले धेरै पटक प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई यस विषयमा आग्रह गरेपछि उहाँ इन्चार्ज बनाउन तयार हुनुभएको थियो तर, फेरि बुहारीलाई इन्चार्ज बनाएको भन्ने आरोप आउन सक्छ भन्ने विषयमा पनि हामीसँग कुरा राख्नु भएको थियो’ ती केन्द्रीय सदस्यले भनिन् ।

विधान सम्मेलनमा काठमाडौँमा भेला भएका महिला नेतृहरूले ललितपुरको एक भेटघाटमा पनि विना मगरलाई इन्चार्ज बनाउनु पर्नेमा साझा धारणा तयार गरेका थिए । उनीहरूले त्यस अघि अध्यक्ष प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ महासचिव देव गुरुङ लगायतका पदाधिकारीहरूलाई पनि यस विषयमा प्रस्ट पारिसकेका थिए ।

‘पहिलो पटक महिलालाई सुदूरपश्चिममा इन्चार्ज दिन हामीले शीर्ष नेतृत्वलाई अपिल गरेका थियौँ’ अर्का एक केन्द्रीय सदस्यले भने ‘हाम्रो भावनालाई बुझेर पनि होला प्रचण्डले अबको इन्चार्ज विना मगर हुन्छिन् भन्नु भएको थियो ।’

प्रचण्डले विना मगरलाई इन्चार्ज बनाउने गरी अन्तिम तयारी गरिरहेका बेला माओवादीका दुई नेतालाई बालुवाटारमा भेट्न बोलाएका थिए । सुदूरपश्चिमका दुई केन्द्रीय सदस्यले प्रचण्डलाई विनालाई इन्चार्ज बनाउँदा विधि र प्रक्रियामा असर पुग्ने बताएका थिए ।

‘विनालाई इन्चार्ज बनाउने तयारी भइरहेका बेला प्रचण्डले सुझाव लिएका दुई नेताले त्यसो गर्न नहुने सुझाव दिए’ माओवादी उच्च स्रोतले भन्यो ‘त्यसपछि प्रचण्डले ती नेतासँग सहइञ्चार्ज बनाउँदा के हुन्छ भनेर प्रश्न गरेका थिए ।’

दुई नेताले सहइञ्चार्ज पनि विना मगर भन्दा माथि खगराज भट्ट रहेको बताएका थिए । तर, प्रचण्डले उनीहरूलाई खगराजको व्यवस्थापन गर्नेमा आश्वस्त पारे ।

अहिले प्रचण्डले विना मगरलाई सह इन्चार्ज बनाएर आगामी दिनमा इन्चार्ज बनाउने बाटो खोलिदिएको माओवादी नेताहरू बुझाइ छ ।

‘उहाँ केन्द्रीय सदस्य मात्रै हो । सचिवालयमा पनि जुनिअर हुनुहुन्थ्यो अब एकल सह इन्चार्ज बनाएर कुनै पनि दिनमा इन्चार्ज बनाउने बाटो अध्यक्षले खोल्दिनु भयो’ ती नेताले भने ‘इन्चार्ज बनाउने अवस्था नभएपछि सहइञ्चार्जबाट इन्चार्जमा लैजाने बाटो तयार गरिदिनु भएको हो ।’

पदाधिकारीबाट इन्चार्ज बनाउने विधिका कारण मात्रै विनालाई इन्चार्ज नबनाइएको धेरैको बुझाइ छ । अब केही समय पछि उक्त विधि निष्क्रिय हुने र त्यसपछि सुदूरपश्चिमको इन्चार्ज विना मगर हुने माओवादी नेताहरू दाबी गर्छन् । त्यसैमाथि धेरै पटक यहाँबाट बालुवाटार पुगेर माओवादी नेताहरूले विना मगरलाई इन्चार्ज बनाउन प्रचण्डसँग लबिङ गरेका छन् । यसलाई पनि प्रचण्डलाई अझै सहज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर