पुस्तैनी किचलोले कांग्रेसमा गुमेको कोइराला परिवारको नासो फर्काउने मौका ! – Nepal Press

पुस्तैनी किचलोले कांग्रेसमा गुमेको कोइराला परिवारको नासो फर्काउने मौका !

गोदावरी महासमिति बैठककै बेला कांग्रेसका केही नेताहरुको जमघटमा शेरबहादुर देउवाले आफ्नो उत्तराधिकारी कसलाई अघि सार्लान् भन्ने बहस चल्यो । विधानअनुसार अब देउवा सभापति बन्न नपाउने भएकाले उनको उत्तराधिकारी को भन्ने बहस कांग्रेसमा चलिसकेको छ । स्वाभाविक रूपमा देउवाले नेतृत्व प्राविधिक रुपमा छाड्दै गर्दा आफू अनुकूल सभापति र कार्य समिति निर्वाचित गराउन सबै शक्ति लगाउनेछन् ।

एकजनाले फ्याट्ट भने- ‘शेरबहादुर दाइ आफूलाई फाइदाका लागि जे पनि गर्छन् र आफूलाई घाटा नहुनेगरी अरुलाई पनि गुण लाउँछन् । रामचन्द्रलाई राष्ट्रपति, सिटौलालाई राष्ट्रियसभा अध्यक्ष, अब शशांकलाई सभापति बनाएर सबैतिर सेटल गर्छन्, अनि सातौं पटक प्रधानमन्त्रीको लागि मैदान खाली गर्छन् । त्यसो गर्दा कोइरालाहरुको नासो कोइरालालाई नै फिर्ता गरेको सन्देश पनि जान्छ र बीपी पुत्रको हातबाटै उनले कांग्रेस चलाउँछन्, भाउजूलाई उपसभापति बनाउँछन् ।’

के त्यसो भए,कोइराला परिवारको विरासत कांग्रेसमा फर्किंदैछ ?  यो आलेख यो सम्भावनाका विगत र आगतमा केन्द्रित रहनेछ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तेस्रो पुस्ताका कोइराला अर्थात पिताजी कृष्णप्रसाद कोइरालाका नाति पुस्ताका कांग्रेसका तीन नेता एकै ठाउँमा रहन सकेनन् । डा. शेखर कोइराला कांग्रेसको सभापतिका तत्कालीन अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको गरेको समूहबाट सभापतिको उम्मेदवार बने । कृष्णप्रसाद कोइरालाका माइला छोरा केशवका छोरा उनी अहिले कांग्रेसको राजनीतिमा रहेकामध्ये उमेरले सबैभन्दा ज्येष्ठ पनि हुन् । तर, उनी सभापतिको उम्मेदवार बन्दा बाँकी रहेका दुई कोइराला बीपी पुत्र शशांक र गिरिजापुत्री सुजाता उनको साथमा देखिएनन् ।

बीपी पुत्रले सभापति शेरबहादुरलाई मौन सर्मथन गरे भने गिरिजापुत्री सुजाता सभापतिका उम्मेदवार गणेशमान पुत्र प्रकाशमानको समूहबाट उपसभापतिको उम्मेदवार बनिन् । कोइराला परिवारका पछिल्लो पुस्तामात्र होइन, कृष्णप्रसाद कोइरालाभन्दा पछिल्लो पुस्ताका कोइरालाका बीचमा पनि एकताभन्दा द्वन्द्व नै बढी देखिन्छ । बीपी कोइराला र मातृका, सुशील कोइराला र नोना कोइरालाका बीचमा पनि द्वन्द्व आमकार्यकर्ताले महसुस गरेका थिए । बीपी कोइराला र मातृका कोइराला कृष्णप्रसाद कोइरालाका सन्तान भए पनि उनीका फरक फरक आमाका सन्तान थिए । बीपी, केशव, तारणी र गिरिजा दिव्या कोइरालाका छोरा हुन् भने मातृका कृष्णप्रसादकी जेठी पत्नी मोहनकुमारीका छोरा हुन् ।

बीपी मातृकाको लडाइँ

कृष्णप्रसाद काेइरालाका ५ छाेरा ।

कांग्रेसको स्थापनाकालदेखि नै कोइराला परिवारभित्र राजनीतिक टकराव सुरु भएको देखिन्छ । बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच व्यक्तित्वको टकरावबाट राजनीतिक फाटो देखिएको थियो । २००३ सालमा बीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति र आफू कार्यकारी सभापति भई नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । २००६ सालमा त्यही नेपाली राष्ट्रिय कांग्रेस र महेन्द्र शाह नेतृत्वको नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भई नेपाली कांग्रेस बन्यो । मातृकाप्रसाद कोइराला एकीकृत कांग्रेस अर्थात् नेपाली कांग्रेसको सभापति बने । उनी २००९ सालसम्म पार्टी सभापति रहे । क्रान्तिको कमान्डर घोषणा मातृकाकै अगुवाइमा २००७ सालको जनक्रान्ति सञ्चालन भएको थियो ।

२००८ सालको अन्त्यतिर मातृका र बीपीबीच नेतृत्व झगडा चुलियो । २००९ साल जेठ १३ मा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनमा बीपी कोइराला र मातृका दुई भाइबीच सभापतिका लागि विवाद भएको थियो । बीपीलाई सभापति बनाउने भद्र सहमति मातृकाले तोड्न खोजेपछि गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित पनि सभापतिको दौडमा निस्किएका थिए ।

२००८ सालको अन्त्यतिर मातृका र बीपीबीच नेतृत्व झगडा चुलियो । २००९ साल जेठ १३ मा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनमा बीपी कोइराला र मातृका दुई भाइबीच सभापतिका लागि विवाद भएको थियो । बीपीलाई सभापति बनाउने भद्र सहमति मातृकाले तोड्न खोजेपछि गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित पनि सभापतिको दौडमा निस्किएका थिए । मातृकाले सभापतिको उम्मेदवारी फिर्ता लिए, आफूहरू पनि सभापतिको उम्मेदवार नबन्ने सिंह र भट्टराईको अडान थियो । त्यसपछि मातृकाबाट उम्मेदवारी फिर्ता लिएको घोषणा भयो । बीपी र केदारमानबीच सभापतिमा प्रतिस्पर्धा भयो । तर, पार्टीमा बीपी र मातृकाबीच सम्झौता भए पनि राज्य सत्ताका विषयमा चर्को विवाद देखियो ।

२००७ सालमा राणा शासनको पतनपछि कांग्रेस र राणाहरूको संयुक्त सरकारमा श्री ३ मोहनशमशेर प्रधानमन्त्री र बीपी कोइराला गृहमन्त्री बने । केही समयपछि मोहनशमशेर र बीपीको खटपटले उक्त सरकार ढल्यो । यसपछि राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए । तर, मोहनशमशेरको बहिर्गमनपछि बीपी कोइराला प्रधानमन्त्री बन्न चाहन्थे । पार्टीको नीतिविपरीत मातृकाको सरकार अगाडि बढेको भन्दै बीपीले विरोध गर्न थाले । उक्त विवाद चर्किंदै जाँदा बीपीले मातृकालाई नेपाली कांग्रेसबाट निष्कासन गरेका थिए । २००९ सालमा बीपी कोइराला र उनका दाजु मातृकाप्रसाद कोइरालाबीचको चरम गुटबन्दीको कारण निर्वतमान पार्टी सभापति तथा बहालवाला प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पार्टीबाट निष्कासन गर्‍यो । जसका कारणले मातृकाले छुट्टै पार्टी गठन गरे ।

बीपीबाट हेपिएका जीपी

माेरङकाे विराटनगरस्थित काेइराला निवास ।

नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा बीपी कोइराला र गिरिजाप्रसाद कोइराला फरक फरक कित्तामा उभिएको इतिहासले देखाएको छ । २०१२ माघ ९-१३ गतेसम्म वीरगञ्जमा भएको छैटौं महाधिवेशनमा सुवर्ण शमशेर र गणेशमान सिंहबीच सभापतिमा प्रतिस्पर्धा भयो । बीपीलगायत शीर्ष नेताहरू सुवर्णको पक्षमा लागे भने गणेशमानलाई गिरिजाप्रसादले खुलेरै साथ दिएका थिए । बीपीको साथ पाएका सुवर्णशमशेर सभापतिमा विजयी भए भने गणेशमान पराजित भए । त्यसको दुई वर्षमै २०१४ सालमा विशेष महाधिवेशन गरी बीपी कोइराला पुन: पार्टी सभापति बनेका थिए । अघिल्लो चरणमा तीन वर्ष र पछिल्लो चरणमा २५ वर्ष गरी बीपी कोइरालाले २८ वर्षसम्म कांग्रेसको नेतृत्व सम्हालेका थिए ।

कांग्रेसको नेतृत्वमा बीपी कोइरालापछि लामो समय नेतृत्व गर्ने अवसर भट्टराईले पाएका थिए । बीपीले भट्टराईको ठाउँमा आफूलाई स्पेस नदिएकोमा गिरिजाप्रसादको असन्तुष्टि थियो । गिरिजाप्रसादले १९ वर्ष भट्टराईसँग एक खालको संघर्ष गरे ।

२०३९ सालमा बीपीको निधन हुँदा पार्टी सभापतिकै रूपमा थिए । २०३४ सालमा बीपीले स्वास्थ्यको कारण देखाएर सभापति छोडेपछि कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति बनेका थिए । २०३९ सालमा बीपीको निधनपछि पनि २०४७ सालसम्म कार्यबाहक सभापति बनेका भट्टराई २०४८ सालमा निर्वाचित सभापति भएर २०५३ सालसम्म करिब १९ वर्ष कांग्रेसको नेतृत्वमा रहे । कांग्रेसको नेतृत्वमा बीपी कोइरालापछि लामो समय नेतृत्व गर्ने अवसर भट्टराईले पाएका थिए । बीपीले भट्टराईको ठाउँमा आफूलाई स्पेस नदिएकोमा गिरिजाप्रसादको असन्तुष्टि थियो । गिरिजाप्रसादले १९ वर्ष भट्टराईसँग एक खालको संघर्ष गरे । बीपी कोइरालाले गिरिजाप्रसादलाई ‘हवलदार’ को संज्ञा दिएको पनि कांग्रेसभित्र चर्चा चल्ने गरेको थियो ।

गिरिजाको उपेक्षामा परेका भतिजा

प्रजातन्त्र पुन:स्थापनापछि गिरिजाप्रसाद छोरी सुजातालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने प्रयासमा लागे । शेखरलाई राजनीतिक भूमिकामा स्थापित गर्ने नोना कोइरालाबाट भगीरथ प्रयास थियो । यो समयमा बीपी पुत्रहरूले भने अभिभावकत्व महसुस गर्नै पाएनन् । १२औं महाधिवेशनबाट सुशील कोइराला सभापतिमा आएपछि मात्रै बीपी पुत्र शशांकलाई राहत भएको उनी निकट नेताहरुको बुझाइ छ । २०६६ सालमा गिरिजाप्रसादको निधनपछि नेतृत्वको विषयलाई लिएर कोइराला परिवारभित्र आआफ्नै दाबी र सक्रियता थियो । तर, कोइराला परिवारमा नेतृत्व स्थापितका लागि प्रजातन्त्र पुन:स्थापनापछि नै थुप्रै प्रयोग भएका थिए ।

सबैभन्दा पहिले बीपीका ज्येष्ठ पुत्र प्रकाशलाई गिरिजाप्रसादपछि कोइराला वंशको उत्तराधिकारीका रूपमा अगाडि बढाउने प्रयास भयो । २०५७ साल माघ ६-७ मा पोखरामा भएको दसौं महाधिवेशनबाट बीपी कोइरालाका जेठा छोरा प्रकाश अगाडि आएका थिए । २०६१ साल माघ १८ मा राजा ज्ञानेन्द्रले चालेको कदमलाई स्वीकारेर मन्त्रिपरिषद्मा सहभागी भएपछि प्रकाशलाई कांग्रेसबाट निष्कासन गरियो । त्यसपछि बीपीको विरासत धान्ने प्रकाश कोइरालाको सम्भावना तुहियो । अनि गिरिजाप्रसाद कोइरालाको नजर शेखरतिर सोझियो । केशव कोइरालाकी पत्नी नोनाले ११औं महाधिवेशनमा छोरा शेखरलाई अघि सार्दै आफूले सक्रिय राजीतिबाट विश्राम लिइन् ।

शेखरलाई कोइराला परिवारको उत्तराधिकारीका रुपमा अगाडि बढाउने गिरिजा र नोनाको योजनामा सुजाताले ब्रेक लगाइदिएको नेताहरु बताउँछन् । सुजाताको राजनीतिक चाहनामा गिरिजाप्रसादले नोनासँगको सहमति बन्धकी राखे ।

तर, शेखरलाई कोइराला परिवारको उत्तराधिकारीका रुपमा अगाडि बढाउने गिरिजा र नोनाको योजनामा सुजाताले ब्रेक लगाइदिएको नेताहरु बताउँछन् । सुजाताको राजनीतिक चाहनामा गिरिजाप्रसादले नोनासँगको सहमति बन्धकी राखे । अनि गिरिजाप्रसादले जीवनको अन्त्यतिर शेखरलाई भन्दा आफ्नी छोरीको राजनीतिक उचाइलाई माथि उठाए । उनले सुजातालाई उपप्रधानमन्त्री मात्रै बनाएनन्, पार्टीको विदेश विभागको जिम्मेवारी पनि दिए । कोइराला परिवारका शेखर र शशांक पछाडि छुटे । कोइराला परिवारबाटै नेतृत्व स्थापित गर्न गिरिजाप्रसादको योजनामा धक्का लाग्यो । दुई कार्यकालमात्र सभापति बन्न पाउने पार्टी विधानमा संशोधन गराएर कार्यकालको बन्देज हटाए । आफूपछि नेतृत्वमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको सम्भावना देखिएका कारण पनि उनले १४ वर्ष सभापति पद अड्याएर राखे ।

तर, पार्टीमा देउवा र पौडेलले कोइराला परिवारका तीन जनाले थेग्न नसक्ने गरी राजनीतिक शक्ति बढाएपछि गिरिजाप्रसादले सुशीललाई उत्तरार्द्धमा कार्यबाहक सभापति बनाए । १२औं महाधिवेशनमा देउवालाई पराजित गरी कांग्रेसको नेतृत्व कोइरालाभन्दा बाहिर जान दिएनन् । गिरिजाप्रसाद कोइरालाले बीपी पुत्र र केशव पुत्र मात्र होइन, तारणी पुत्र ज्योति कोइरालालाई समेत उपेक्षा गरे । गिरिजाप्रसाद कोइरालाको उपेक्षाका कारण तारणी पुत्र ज्योति विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेर केही समय फोरमको राजनीति गरे । पछि कांग्रेसमा नै फर्के । बीपी कोइराला भने भाइहरूमध्ये तारणीलाई माया गर्थे । बीपी आफ्नो जीवनकालभर जेल बाहिर रहँदा मित्रपार्कस्थित तारणीको घरमा बसे । बीपीले माया गरेका तारणी पुत्र ज्योति, बीपी पुत्रहरू प्रकाश र शशांक पनि गिरिजाप्रसादको उपेक्षामा परेका थिए । गिरिजाको पहिलो रोजाइ छोरी सुजाता थिइन् भने सुजातापछिको रोजाइमा डा. शेखर पर्थे ।

सुशीललाई नसहेकी नोना

गिरिजाप्रसादको जगजगीका बेलामा परिवारभित्र नोना कोइराला शक्तिशाली थिइन् । डा. शेखरकी आमा नोनाले कोइराला परिवारका गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी सुशील कोइरालालाई कहिल्यै सहयोग गरिनन् । तत्कालीन मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको नेपालगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका सुशीलको ‘काउन्टर’ दिन नोनाले सधैं खुमबहादुर खड्कालाई सहयोग गरिन् । त्यो बेला कांग्रेस नेताहरू सुशील कोइरालाले गिरिजाप्रसादलाई कुनै विषयमा ‘कन्भिन्स’ गर्न बीपी पत्नी सुशीलाको सहारा लिनुपरेको समेत कांग्रेस वृत्तमा चर्चा चल्ने गरेको थियो । सुशील र डा. शेखरको समेत सम्बन्ध उतिसारो सहज थिएन् ।

डा. शेखरकी आमा नोनाले कोइराला परिवारका गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी सुशील कोइरालालाई कहिल्यै सहयोग गरिनन् । तत्कालीन मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको नेपालगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका सुशीलको ‘काउन्टर’ दिन नोनाले सधैं खुमबहादुर खड्कालाई सहयोग गरिन् ।

सुशील दोस्रो कार्यकाल सभापति बन्ने तयारी गरिरहँदा डा. शेखर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग महामन्त्रीको उम्मेदवार बन्ने गरी नीति तथा प्रशिक्षण प्रतिष्ठानको अभियानमा दौडिएका थिए । अहिले कांग्रेसको कोइराला समूहका नेता डा. शेखर कोइराला भएको समयमा उनले सुशील कोइराला निकट नेताहरूलाई उपेक्षा गरिरहेको कांग्रेसका नेता कार्यकर्ताको गुनासो छ । सुशील कोइरालाका अत्यन्तै विश्वासपात्र आनन्द ढुंगाना अहिले सभापति शेरबहादुर देउवाको समूहमा छन् भने अर्को दिलबहादुर घर्ती डा. शशांक निकट छन् । त्यस्तै सुशील कोइरालाको परिवारका सदस्यहरूलाई समेत डा. शेखरको समूहमा उचित सम्मान छैन । सुशील कोइराला नजिक रहेका अतुल कोइराला, मृदुला कोइरालाले समेत डा. शेखरबाट सम्मान नपाएको बुझाइ कांग्रेस नेता कार्यकर्तामा छ ।

केबी गुरुङ,बिनयध्वज चन्द,लक्ष्मणप्रसाद घिमिरेहरु सुशील कोइरालाको कोर टिमका सदस्य थिए । केबी उमेरका कारण निष्क्रिय भए पनि लक्ष्मण घिमिरेलगायतका नेता अहिले कांग्रेसमा ठाउँ नपाएर सामाजिक संजालमा मात्र सक्रिय छन् । उनीहरु देउवाका कहिल्यै भएनन्,शेखरले पनि आफ्नो ठानेनन् । त्यसैले अहिले घिमिरे शंकर भण्डारी नेतृत्वको हिन्दु राष्ट्र अभियानको सल्लाहकार छन् ।

शेखरविरुद्ध शशांक-सुजाता

कांग्रेसको १४औं महाधिवेशनले विगतको बीपी, मातृका र गिरिजाबीचको विवादलाई ओझेलमा पारिदिएको छ । शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिँदा (भाइ-बहिनी) शशांक र सुजाताको साथ पाएनन् । शेरबहादुर देउवाबाट कांग्रेस नेतृत्व कोइराला परिवारमा फर्काउने शेखरको प्रयासमा सबै कोइराला एकसाथ भएनन् । शेखरको साथ छोडेर सुजाता प्रकाशमान सिंहको प्यानलमा पुगिन् भने शशांकको सद्भाव देउवातिर ढल्कियो । औपचारिक रुपमा शेखरको साथ नछोडेका शशांकले सांकेतिक रुपमा देउवाको साथमा रहेको महाधिवेशनमा सन्देश प्रवाह गरेका थिए । देउवासँग सभापतिमा पराजित शेखरले भाइ-बहिनी मिलाउन नसक्नुलाई कमजोरीका रुपमा स्वीकार गरेका छन् ।

शेखरको टीममा सुजाताले उपसभापति उम्मेदवार हुने इच्छा व्यक्त गरेकी थिइन् । तर, शेखर कोइरालाले सुजातालाई उपसभापति बार्गेनिङ नगरी परिवारका हिसाबले निसर्त सहयोग गर्न आग्रह गरे । उनले ‘कोइराला परिवारबाट म सभापतिको उम्मेदवार छु, तपाईंहरु पदाधिकारीमा दाबी नगरिदिनुस् । केन्द्रीय सदस्यको उम्मेदवार हुनुस् । नेतृत्व परिवर्तन गर्न यो अहिलेको आवश्यकता हो’ भनेका थिए । सुजाता उपसभापतिको उम्मेदवार हुने मनस्थितिबाट ब्याक हुन चाहिनन् । शेखर समूहबाट उपसभापतिको उम्मेदवार हुन नपाउने संकेत पाएपछि उनी प्रकाशमान सिंहकहाँ पुगेकी थिइन् ।

त्यस्तै डा. शशांक कोइरालाले पनि डा. शेखरसँग सभापतिमा सहयोग गर्दा आफ्नो भूमिका के हुने भन्ने सर्त अगाडि सारेका थिए । त्यो बेलामा डा. शेखरले शशांकलाई आफू सभापतिको उम्मेदवार बनेपछि सुजाता र शशांकले निसर्त सहयोग गर्नुपर्ने बताएका थिए । डा. मीनेन्द्र रिजालको निवासमा महाधिवेशनको अन्तिम मितितिर भएको छलफलमा डा. शशांकले सभापतिमा डा. शेखरलाई सहयोग गर्दा आफ्नो भूमिका के भन्ने प्रश्न गरेका थिए । तर, डा. शेखरले शेरबहादुरबाट परिवारमा विरासत फर्काउने अवस्थामा दुवै कोइरालालाई केही दिन नसकिने बताएपछि सुजातासँगै शशांक पनि शेखरसँग टाढिएको बताइएको छ ।

विरासत फर्काउने निर्णायक मौका

भारतमा गान्धी परिवार र कांगेस पार्टी एक अर्काका पर्यावाची भएजस्तै नेपालमा पनि कोइराला परिवारबाट अलग गर्दा कांग्रेसको इतिहास र वर्तमान अधुरो हुन्छ, भविष्यको कुरा भन्न सकिन्न । किनकि कोइराला परिवारको तेस्रो पुस्ताले कांग्रेसमा प्रभाव कायमै राखेका बेला चौथो पुस्ताबाट राजनीतिमा प्रभाव राख्ने कुनै सदस्य नेतृत्वमा आइसकेका छैनन् । कोइराला परिवारको विरासत फर्काउने ल्याकत अहिले प्रभाव राख्ने शेखर कोइराला र शशांक कोइरालाबाहेक अरुमा देखिन्न पनि ।

एक पटक राजनीतिमा लाग्न भनेर बलिउडबाट फर्किएकी मनिषा कोइराला कांग्रेसको सिद्धान्तभन्दा धेरै पर बुबा प्रकाशको लाइनमा गइसकेकी छन् । उनी राजासहितको हिन्दू राज्यको पक्षमा उभिएकी छन् । उनका भाइ सिद्धार्थ कोइराला तरुण दलमा एकताका संलग्न भए पनि अहिले दृश्यमा छैनन् । कोइराला परिवारका एकमात्र कम्युनिस्ट कमल कोइरालाकी छोरी (मात्रिकाप्रसाद कोइरालाकी नातिनी) ऋचा कोइराला १४औं महाधिवेशनबाट कांग्रेसमा सक्रिय भए पनि उनी नेतृत्व लिने गरी वा त्यो तहमा पुग्ने सम्भावना छैन ।

१५ औं महाधिवेशनमा कोइराला परिवारका दुई सदस्य सभापतिको उम्मेदवार बन्ने सम्भावना कायमै छ । हुन त १४ औं महाधिवेशनमा कोइराला परिवार विभाजित नभएको भए कांग्रेसमा उनीहरुको विरासत फर्किने थियो । शेखरविरुद्ध सुजाता र शशांक देउवातिर उभिएपछि कांग्रेसमा कोइराला परिवार थप विखण्डित भएको छ । यसमा पुस्तैनी किचलो र इगोले काम त गरेकै छ, अझै पनि कोइराला परिवार एक ठाउँमा उभिने सम्भावना देखिन्न ।

शशांकलाई शेरबहादुर देउवाको भावी सभापति उम्मेदवारका रुपमा हेरिएका बेला शेखर कोइराला टीमकै महामन्त्री गगन थापा सभापतिका अवश्यम्भावी उम्मेदवार भएकाले शेखरलाई फेरि पनि चुनौती थपिएको छ । यद्यपि १५ औं महाधिवेशनमा दुईमध्ये एक कोइराला कांग्रेस नेतृत्वमा पुगे भने विरासत फर्किनेछ । देउवा पनि कोइरालाहरुको नासो उनीहरुलाई नै फिर्ता गर्न तयार रहेको चर्चासमेत चलेको छ । त्यसका लागि आगामी ५ वर्ष आफू अनुकूल कांग्रेस चलाउन देउवाले शशांक रोज्नेछन् । किनकि शशांकले जसरी अर्को टीमबाट महामन्त्री जितेदेखि नै शेरबहादुरलाई निःशर्त समर्थन गरिरहेका छन् । त्यति कम्फरटेबल पात्र देउवाका लागि कांग्रेसमा आफूपछि कोही नहुनसक्छ सभापतिका रुपमा ।

तर, गिरिजा र सुशील कोइरालादेखिको परम्परागत कोइराला गुटको विरासत, राजनीतिक सुझबुझ तथा सक्रियता र बाह्य सम्बन्धका हिसाबले शेखर कांग्रेसको भावी नेतृत्वका लागि बलियो उम्मेदवार हुन् । कतिपयले शेखर कोइराला देउवाकै समर्थनमा सभापति हुने समेत अड्कल लगाइरहेका छन् । तर, शशांक छाडेर देउवाले शेखर बोक्ने भनेको कम्तीमा पहिलो चरणमा सम्भव छैन । त्यसका लागि पहिलो चरणमै कोइराला परिवारबाट एक जना उम्मेदवार बन्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर