भक्तपुरमा एक लाख २२ हजार बालबालिकालाई दादुरा खोप दिइँदै – Nepal Press

भक्तपुरमा एक लाख २२ हजार बालबालिकालाई दादुरा खोप दिइँदै

भक्तपुर । भक्तपुरका ९ महिनादेखि १५ वर्षमुनिका एक लाख २२ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप दिइने भएको छ । सरकारको निर्णयाअनुसार भक्तपुरमा फागुन १३ गते दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

चाँगुनारायण नगरपालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले अभियान विद्यालय केन्द्रित हुने जानकारी दिए ।

२५० जना बालबालिका बराबर एउटा खोप केन्द्र हुने उनले बताए । नियमित खोप कार्यक्रममा छुट भएका बालबालिकालाई लक्षित गरी फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको खोप अधिकृत खतिवडाले जानकारी दिए ।

‘नियमित खोप अभियान सञ्चालन गर्दागर्दै देशका २० जिल्लामा दादुराको महामारी नै देखियो । महामारी देखिएको जिल्लामा अध्ययन गर्दा खोप नै नलगाइएको पाइयो’, उनले भने, ‘दादुरा-रुवेला सरुवा रोग हो । त्यसैले खोप नलाएका एक जनामात्रै भए पनि त्यसले अन्यलाई संक्रमण गराउँछ ।’

उनका अनुसार भक्तपुरमा ३ वर्षमा ६४४ जना बालबालिका ड्रप आउट भएका छन् । अभियानअन्तर्गत ड्रप आउट भएकासँगै नियमित खोप पनि लगाइदिने उनले बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले आफ्नो नगरमा पूर्ण खोप सुनिश्चित गरिएको बताए । यसको लागि स्वास्थ्यकर्मी एवं महिला स्वास्थ्य स्वयंसेविकाहरु घरघर गएर सर्भे गर्ने गरिएको उनले बताए ।

‘नगरको समृद्धिको लागि शारीरिक तथा मानसिक सबै दृष्टिले स्वस्थ, सक्षम र सबल हुनुपर्छ’, मेयर खत्रीले भने, ‘त्यसैले स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापन, स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, सेवा सुविधा र नीतिगत व्यवस्थापन गर्न नगरपालिकाले सहज हुने वातावरण बनाउँदै आएको छ, बनाउँछ ।’

रोग लागेपछि उपचारमा लैजानेभन्दा रोग नै लाग्न नदिने नपाको नीति रहेको र सोहीअनुसार अनुगमन तथा सुपरिवेक्षणमा पनि जोड दिँदै आएको उनले बताए ।

नपाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले चाँगुनारायणलाई ३ वर्षअघि नै पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिसकिएकाले कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुने गरी सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

नपाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले अभियानअन्तर्गत चाँगुनारायणमा १८ हजार ६४२ बालबालिकालाई दादुरा–रुवेलाको खोप दिने लक्ष्य रहेको जानकारी दिए ।

उनका अनुसार नगरभित्र ८० वटा खोप केन्द्रमा २४० महिला स्वास्थ्य स्वयंसेविका, १६० स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर