कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा अहिलेसम्म झण्डै ९ सयले गरे हस्ताक्षर – Nepal Press

कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा अहिलेसम्म झण्डै ९ सयले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै ९ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेशअनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ ।

पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन् । अहिलेसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब ९ सयजनाले हस्ताक्षर गरेको अभियानमा संलग्न नेताले बताएका छन् ।

यही शनिबार सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको थियो । अभियानको अगुवाहरूले साथ दिन लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरे।

महासमिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए ।

कांग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर