स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा जोशी नियुक्त, सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेल हटाइए (भिडिओ) – Nepal Press

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा जोशी नियुक्त, सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेल हटाइए (भिडिओ)

काठमाडौं । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव पदमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको बैठकले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पदबाट विकल पौडेललाई हटाउने निर्णय गरेको छ ।

पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको देखिएपछि उनलाई पदबाट हटाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।

त्यस्तै सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

उनका अनुसार बैठकले राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर