लरिएट्स एण्ड लिडर्स सम्मेलनको लागि ९ जना नोवेल पुरस्कार विजेता लुम्बिनीमा भेला हुँदै – Nepal Press

लरिएट्स एण्ड लिडर्स सम्मेलनको लागि ९ जना नोवेल पुरस्कार विजेता लुम्बिनीमा भेला हुँदै

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा करिब एक दर्जन नोबेल पुरस्कार विजेता र विश्वका शक्तिशाली देशका निजी क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

फागुन २८ देखि ३० गते चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन लुम्बिनीमा हुन लागेको हो । अहिले लुम्बिनीमा सम्मेलनको तयारी युद्धस्तरमा भइरहेको छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हाललाई सम्मेलनबाहेक अरु कुनै योजना अगाडि नसार्ने घोषणासमेत गरेका छन् । लुम्बिनी प्रदेश सरकारले सम्मेलनलाई लगानी सम्मेलनको रुपमा समेत हेरेको छ ।

तर, बालबालिकाको क्षेत्रका हुने सम्मेलनले लगानीको क्षेत्रमा विषय उठाउँला भन्ने आशंका व्यक्त गरिएको छ । मुख्यमन्त्री चौधरीले भने यसैबाट लुम्बिनी प्रदेशको भविष्य उज्यालो बनाउन सकिने बताउँदै आएका छन् ।

मुख्यमन्त्रीले चालू आर्थिक वर्षको बजेटमा साढे ६ करोड रकम विनियोजन गरेर सम्मेलन योजनाबद्ध तरिकाले अगाडि बढाएका छन् ।

लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन बालबालिकामाथि हुने सबैखाले हिंसा, बेचबिखन तथा बाल शोषणको अन्त्य गर्न साझा अवधारणा बनाउँदै बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले गर्न लागिएको हो । मुख्यमन्त्री चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरेर तयारी बढाइएको छ ।

संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ देखि ३० गते (मार्च ११ देखि १३) सम्म लुम्बिनीमा शिखर सम्मेलन गर्न लागिएको छ ।

सम्मेलनमा भाग लिन नौ जना नोबेल शान्ति पुरस्कार विजेता एकै पटक लुम्बिनी आउने भएकाले पनि यसको महत्व बढेको हो । उनीहरुसँगै विकासोन्मुख देशका राष्ट्र प्रमुख, संयुक्त राष्ट्रसंघका विकास साझेदार, बालबालिका तथा शान्ति क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारीसहितका विदेशी पाहुना सम्मेलनमा सहभागी हुने भएकाले सम्मेलनप्रति चासो बढेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसहित मन्त्रीहरू, शान्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत विज्ञ, सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारीहरूलाई सहभागी बनाउने गरी तयारी भइरुहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री चौधरीले बालबालिकाको विकास र संरक्षणका लागि बुद्ध जन्मस्थलबाट शान्ति, सद्भाव र करुणाको सन्देश दिँदै लुम्बिनीको महत्वलाई विश्वभर फैलाउन शिखर सम्मेलन लुम्बिनीमा गर्न लागिएको बताए ।

सम्मेलनबाट विश्वभरका बालबालिकाको अधिकार र शान्तिका लागि दिशानिर्देश गर्दै बाल शोषण अन्त्य गर्ने प्रतिबद्धतासहितको घोषणापत्र जारी गरिनेछ ।

‘लुम्बिनी जस्तो पवित्र स्थलबाट विश्वका अति विशिष्ट व्यक्तिहरूको सम्मेलनले दिने सन्देशले लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्न सघाउने छ’, मुख्यमन्त्री चौधरीले भने ।

सम्मेलनमा शान्ति तथा बालबालिकाको क्षेत्रका विज्ञ तथा उच्चपदस्थ अधिकारी र अन्तर्राष्ट्रिय मिडियाकर्मी गरी १०० जना विदेशी पाहुना र २०० स्वदेशी सहभागी हुनेछन् । नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा पनि सम्मेलनले महत्वपूर्ण योगदान दिने मुख्यमन्त्री चौधरीको विश्वास छ ।

को को आउँदैछन् नोबेल शान्ति पुरस्कार विजेताहरु ?

सम्मेलनमा विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामावुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का एरी वार्सल, २०११ का लेहम बोवी र टवाको कम्र्यान, १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र सन् १९९३ का नाबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुने निश्चित भएको मुख्यमन्त्री चौधरीले बताए ।

त्यस्तै जोर्डनका राजकुमार अली विन अल हुसेन, टिमोर लिष्टेका राष्ट्रपति, अर्थशास्त्री जेफ्री स्याक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ, स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफन लोफभेन पनि सहभागी हुने बताइएको छ ।

नोवेल पुरस्कार विजेतासहित विदेशी उच्च अधिकारीहरू एकै पटक लुम्बिनीमा जम्मा भएर विकास र शान्तिको सन्देश दिँदा लुम्बिनीप्रति विश्वको ध्यान खिचिने मुख्यमन्त्री चौधरीको दाबी छ ।

सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्र प्रमुखहरू, नोबेल पुरस्कार विजेताहरू, उच्चपदस्थ अधिकारीहरूको सुरक्षा प्रबन्धको तयारी संघीय सरकार तथा प्रदेश सरकारको गृह मन्त्रालयले गरिरहेका छन् । विदेशी तथा स्वदेशी पाहुनाको आवास, सुरक्षा, खानपान तथा आवतजावतलगायतका सम्बन्धमा तयारी तीव्र पारिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्मेलनको तयारीस्वरूप प्रदेश सरकारले संघीय सरकार तथा परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष, प्रदेश सरकारका सम्बन्धित निकाय तथा पर्यटन व्यवसायीबीच चरणबद्ध रूपमा छलफल, तयारी बैठकहरू गरिरहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन फागुन २८ गते उद्घाटन समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहलमा हुनेछ । विधागत तथा समूहगत छलफल कार्यक्रम भने होटलमा गर्ने तयारी छ । शिखर सम्मेलनको निचोड स्वरूप प्रतिबद्धतापत्र सार्वजनिक तथा समापन कार्यक्रम मायादेवी मन्दिर परिसरमा गरिने छ । सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनालाई लुम्बिनी आसपासका बुद्धस्थलका साथै पाल्पा, प्यूठानको स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्मेलनले विश्वभरमा बालबालिकाको विकासमा देखिएका चुनौती चिर्दै बाल विकास र संरक्षणका लागि कार्ययोजना बनाउने र बाल शोषण अन्त्य सबैको प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *