राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी, गण्डकी, नेपाल पुलिस, एपीएफ विजयी – Nepal Press

राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी, गण्डकी, नेपाल पुलिस, एपीएफ विजयी

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, नेपाल पुलिस, एपिएफ विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबले सोझो सेटमा कोशी प्रदेशलाई हराउँदै विजयी भएको छ ।

आर्मीले २५–२०, २५–१३ २७–२५ बनाएर विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका त्रिभुवन आर्मी क्लबका खेलाडी मनिष मानन्धर म्यान अफ द म्याच भए । मानन्धरलाई नगद सहित सम्मान गरिएको थियो ।

त्यसैगरी नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा हराउँदै विजयी यात्रा तय गरेको छ । प्रहरीले २५–२० २५–११ २५–१२ बनाएर खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । उक्त खेलमा नेपाल पुलिस क्लबमा खेलाडी दिपकराज जोशी म्यान अफ द म्याच भए ।

एपिएफ क्लब र कर्णाली प्रदेशबीच भएको खेलमा एपिएफ क्लबले सोझो सेटमा कर्णालीलाई हराउँदै विजयी भएको छ । २५–२१, २५–२१, २५–२० बनाएर एपिएफ विजयी भएको हो । खेलमा एपिएफका खेलाडी बिजय थापा म्यान अफ द म्याच भए ।

गण्डकी प्रदेश र बाग्मती प्रदेशबीच भएको खेलमा गण्डकी प्रदेश विजयी भएको छ । पहिलो सेट गण्डकीलाई २३ अंकमा रोक्दै बाग्मतीले २५ बनाएर जितेपनि त्यसलाई निरन्तरता दिन भने सकेन । गण्डकीले पहिलो सेट गुमाए पनि अन्य सेटहरु भने आफ्नो पक्षमा पार्न सफल भएको छ । २५–१९, २५–२१, २५–२३ बनाएर गण्डकी प्रदेश विजयी भएको हो । यो खेलमा गण्डकी प्रदेशका खेलाडी राजन दलार्मी म्यान अफ द म्याच भएका थिए ।

त्यसैगरी नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लबले २५–१७, २५–१४, २५–१९ बनाएर विजयी भएको हो । उक्त खेलमा नेपाल पुलिस क्लबका खेलाडी रबिन नगरकोटी म्यान अफ द म्याच भए ।

आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले सोमबारबाट सेमीफाइनल चरणका खेल हुने बताए । खेलमा प्रथम हुनेले नगद २ लाख १ रुपैयाँ, दोस्रोले १ लाख ५० हजार १ रुपैयाँ,तृतीय हुनेले १ लाख १ रुपैयाँ र सान्त्वना स्थानले ५० हजार १ रुपैयाँसहित कप, मेडल, प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगिता फागुन २ गतेसम्म संचालन हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *