बाँदर जंक फुडमा पल्के, त्यसैले मानव बस्तीमा सल्के ! (भिडिओ) – Nepal Press

बाँदर जंक फुडमा पल्के, त्यसैले मानव बस्तीमा सल्के ! (भिडिओ)

काठमाडौं । पोखरा महानगरपालिका- १९ का वडाध्यक्षले बाँदर आतंक कम गर्न रुखहरु काट्ने निर्णय फिर्ता लिएको धेरै भएको छैन । तर, रुख काट्ने प्रकरण राम्रोसँग सेलाउन नपाउँदै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका- ३ ले पनि रुखहरु काट्ने निर्णय लिएको छ ।

स्थानीय पालिकाहरुले मात्रै होइन, बाँदर आतंक कम गराउन अनेक (अ)वैज्ञानिक उपाय सुझाउने थलो नै बनेको छ सांसद भवन । गएको बैशाखमा कानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले त देशको आर्थिक संकट समाधानका लागि बाँदरको मासु निर्यातकै प्रस्ताव संसदमा पेस गरे ।

तर, देशका जनप्रतिनिधिहरुले गरेका यस्ता तर्कहरु वाहियात रहेको वन्यजन्तु वैज्ञानिक डा. मुकेश चालिसे बताउँछन् । बाँदरमाथि नै अनुसन्धान गरेर पीएचडी हासिल गर्ने नेपालको पहिलो व्यक्तिसमेत रहेका चालिसे भन्छन्, ‘बाँदरमाथि अति सामान्य ज्ञान नै नराखी यस्तो खालको अभिव्यक्ति दिनु अल्पज्ञान नै हो ।’

चालिसेका अनुसार बाँदर र मानिसमा त्यस्तो धेरै भिन्नता नै छैन । उत्पत्तिको हिसाबले पनि बाँदर-मानव धेरै नजिकका हुन् । उत्पत्ति एकै किसिमले भएका कारण बाँदर र मानिसको चाहना र आवश्यकता उस्तै हुन्छन् ।

हामीले हेर्दा मान्छेलाई दुःख दिइरहेको बाँदरको संचरना चाहिँ हुन्छ कस्तो ? आउनुहोस्, पहिला बाँदरको समाज, संरचना, मनोविज्ञान, भावनालाई केलाउने कोसिस गरौं-

बाँदरभित्रका मानवीय सम्बन्ध

वैज्ञानिक चालिसेका अनुसार बाँदरको सामाजिक संरचना मानिसको जस्तै हुन्छ । गिब्बन भन्ने प्रजातिको बाँदर जीवनभर एक जोडीमात्रै बस्छन् । अर्काथरि हुन्छन्, एउटा भाले र धेरै पोथी भएका बाँदरहरु । तेस्रो हुन्छ, धेरै भाले र पोथी तथा बच्चाहरु भएका बाँदरहरुको ठूलो समूह ।

तेस्रो समूहका बाँदरहरुमा धेरै भाले र पोथीहरुबीच झगडा पर्‍यो वा नयाँ भाले आएर झगडा गर्‍यो भने हार्नेहरु समूह छाडेर हिँड्छन् । त्यस्ता भालेहरुको हुलमा आमा चाँडै मरेर अनाथ भएका भाले बाँदरहरु पनि मिसिन्छन् ।

चालिसे भन्छन्, ‘बाँदरहरुमा अनुशासन ज्यादै राम्रो हुन्छ । उमेर नपुग्दै वा आफ्नै नातागोतामा यौनजन्य हर्कत कुनै भालेले गर्‍यो भने उसलाई समूहले लखेट्छ । ऊ पनि हरुवा भालेहरुको समूहमा मिसिन्छ । तिनीहरुलाई मैले जोगी समूह भन्ने गरेको छु । तपाईंले थापाथलीतिर कहिलेकाहीँ देख्नुभएको होला नि, चारपाँच वटा भाले सँगै हिँडिरहेका हुन्छन् ।’

संसर्ग गर्ने समयमा यो समूह पोथीहरु भएको समूहतिर जान्छ । त्यहाँको रैथाने भालेसित लडाइँ गर्छन् । जिते भने त्यो समूहमा बस्छन् ।

चालिसेका अनुसार अनौठो चाहिँ के हुन्छ भने पोथीहरु मातृ वंशमा रहन्छन् । भालेहरुले भने मातृ वंश छाड्छन् । त्यसलाई सामान्य भाषामा भन्नुपर्दा आफ्नै आमा, दिदीबहिनी, छोरीसँग गर्भधारण नहोस् भनेर तिनीहरु अर्को समूह खोजेर जाने कुरा अध्ययनहरुबाट प्रमाणित भएको चालिसेको तर्क छ ।

‘तिनीहरु नातेदारबीचमा वा हाडनातामा सम्बन्ध राख्दैनन् । त्यसैले त चिडियाखानामा थुनेर राखेका बाँदरहरुको हाडनातामा सम्बन्ध हुँदा उनीहरु ठूलो डिप्रेसन, चिन्तामा गएका, एकदमै खिइएका, चिन्तित र एकोहोरिने गरेको देखिन्छ । त्यस्ता भालेहरु चिडियाखानामा घुमेको घुम्यै गरेको पक्कै देख्नुभएको होला’, चालिसे थप्छन्, ‘त्यो भनेको चिन्ता र तनाव भएको हो । आफ्नै हाडनाताभित्र सम्बन्ध राख्दा वितृष्णा भएको हो । त्यसैले तिनीहरु एकोहोरो हुन्छन् । नत्र बाँदर त खेल्नुपर्ने, उफ्रिनुपर्ने हो नि !’

यतिमात्रै होइन, बाँदरको सामाजिक प्रणालीमा आफ्नोलाई माया गर्ने गजबको परम्परा रहेको चालिसे बताउँछन् । उनका अनुसार यदि कुनै भालेलाई कुनै बच्चा आफ्नो हो भन्ने भयो भने त्यो बच्चोलाई माया गर्छ । अर्काको हो भन्ने भयो भने हटाउन खोज्छ, थर्काउन खोज्छ ।

हुन त एउटी पोथीले धेरैवटा भालेसँग संसर्ग गरेको हुन्छ । तर, आफूले जन्म दिएको बच्चा कसको हो, पोथीलाई थाहा हुन्छ ।

चालिसे भन्छन्, ‘जतिवटा भालेसँग संसर्ग गरे पनि बच्चा कसको हो भनेर पोथीलाई थाहा हुन्छ । त्यसैले त्यो भालेसँग ऊ डराउँदिन । नजिक पर्छे । अनि भालेले पनि कुरा बुझ्छ । पोथी र बच्चालाई माया गर्छ । पोथीले पनि भालेको नजिक बच्चा छाड्न सक्छे । तर, अर्को भालेले भने बच्चा मारिदिन्छ भनेर नजिकै पर्न दिन्न । किनभने बच्चा मारेमा पोथी चाँडै नै संसर्गका लागि तयार हुने भई ।’

यदि बाँदरहरुको समूहमा कसैको मृत्यु भइहाल्यो भने तिनीहरु शोकसमेत मनाउने गर्छन् ।

चालिसेका अनुसार कोही मरिहालेमा सबै बाँदर आएर माया गर्ने, चुम्मा गर्ने, उठ भनेर झकझकाउने गर्छन् । यदि उठेन र मरेको पक्का भयो भने सबैभन्दा नजिकको उसको आफन्तले उसलाई बोकेर हिँड्छ । बाँदरको समूह ठूलो देखिए पनि त्यहाँभित्र पनि स-सानो परिवार हुने चालिसेको भनाइ छ ।

बाँदर आतंक किन छ ?

संसारभर २३४ प्रजातिका बाँदर पाइन्छन् । त्यसमध्ये पुच्छर नभएका ५ प्रजाति छन् भने पुच्छर भएका २२९ । मानिस र बाँदरको उत्पत्ति एक किसिमले भए पनि विस्तारै एउटै कुराको मात्रै फरक हुँदै गयो । त्यो हो मस्तिष्क ।

बाँदरहरु अझैसम्म पनि राम्रोसँग प्रक्रिया नपुर्‍याइएका खानेकुरा खान्छन् । तर, मानिस र बाँदरले खाने खानेकुरामा त्यस्तो भिन्नता छैन । त्यसैले बाँदर आतंकले किसानहरु पीडित हुनुमा सामाजिक र राजनीतिक कारण प्रमुख रहेको चालिसेको तर्क छ ।

चालिसे भन्छन्, ‘जंगल फाँडेर गुलजार गर्ने, बस्ती बसाउने, तराईमा पुनर्बास क्षेत्र बनाउने, पहाडमा भस्मे बनाउने ! यसकारण जंगल घट्दै गयो । जंगलमा रहेका जीवजन्तुको बासस्थान नास हुँदै गयो । हामीले जंगल घटायौं, बासस्थान बढाउन सकेनौं । कतिपय जंगली जनावर खान नपाएर, सुरक्षाका कारण लोपसमेत भए । यदि लोप नहुने हो भने उनीहरु पहिलादेखि रजगज र चलखेल गरिरहेको क्षेत्रमा घुम्नुप¥यो, जहाँ मान्छेले बस्ती बसाएका छन् । यसलाई हामी बाँदर आतंकको नाम दिइरहेका छौं ।’

चालिसेका अनुसार हिजो जंगलमा बाँदरहरु मज्जाले खानपिन गर्थे, सीमित बस्ती भएकाले मानव बस्तीमा आउँदैन थिए । तर, जंगलको सीमान्तसम्म पुगे मानिसहरु । जंगलहरु पनि झुरुपझुरुप टापु जस्ता बनाइदिए । जंगल फडानी भएर बासस्थान मासिएपछि तिनीहरु बाध्य भएर पुर्खाले डुलिखाएको पुराना सम्झनाका आधारमा यतातिर खान पाइन्थ्यो भनेर हिँड्न थाले । मान्छेले गरेका खेती प्रणालीलाई हेर्न थाले । अनुभव गर्न थाले । बाँदरले अरु खाद्यान्न खान थाले । मृगहरुले गहुँ, दालका मुन्टा खान थाले । यसरी तिनीहरुलाई बानी पर्दै गयो ।

‘त्यसैले गर्दा नै शहरका बाँदरहरुले कोकाकोला, आइसक्रिम, चिप्स खान सिके । फ्रुटी त चुसेर खान सक्छन् । मान्छेले दिएका वा रेडिमेड चिज जे पनि खान सक्छन्’, चालिसे भन्छन्, ‘अनि बानी लागिसकेका बाँदरहरु मान्छे कता छन् भनेर हिँड्न थाले । किनभने मान्छेले आफू वरिपरि फलफूल लगाउँछन्, खेती गर्छन् भनेर उनीहरुले थाहा पाइसकेका छन् ।’

बाँदर आतंक निरुपणका उपाय

चालिसेका अनुसार अरु जनावरलाई छेकबार लगाउन काम लाग्नसक्छ । तर, बाँदर त यस्तो सिपालु जनावर हो कि चाँडै नै सबैकुरा सिक्छन् । तिनीहरुका दुवै हात र खुट्टा बराबरी काम लाग्छन् । जस्तोसुकै अप्ठ्यारोमा पनि जान सक्छन् ।

त्यसो भए बाँदर आतंकको समाधान के हो त ?

चालिसको प्रष्ट सुझाव छ-

  • पहिलो कुरा त धेरै मात्रै जमिन भएका किसानहरुको बालीनाली नोक्सानी हुँदा उनीहरुलाई तुरुन्त वडाले राहत दिनुपर्‍यो । रुख काट्ने, मासु बेच्ने भनेर कोकोहोलो गर्नुभन्दा सबैभन्दा मर्कामा परेका किसानको उद्धार गर्नुपर्‍यो ।
  • समूहमा सबै बाँदर बदमास हुँदैनन् । जसरी सबै मान्छे फटाहा, लुटेरा हुँदैनन् । असल र खराब बाँदर हुन्छन् । बालीनाली नोक्सान गरिदिने, सोलार प्यानल फुटाइदिने, पाकिरहेको भात बोकेर दोडने खालका बाँदर केही हुन्छन् । त्यसरी नोक्सान गरेका बाँदरको पहिचान गर्नुपर्‍यो र नियन्त्रणमा लिनुप¥यो । केहीले बदमासी गर्ने भन्दैमा सिंगो बाँदरको समूहलाई बदमास देख्नुहुँदैन ।
  • नियन्त्रणमा लिएपछि परिवार नियोजन गरिदिने कि ! अर्को भनेको नेपालमा सातै प्रदेशमा विभिन्न शहरको विकास भइसक्यो । स्कुल पनि धेरै नै खुलेका छन् । त्यस्तो अवस्थामा सबै शहरमा ससानो चिडियाखाना बनाउने । घाइते भएर पक्राउ परेका जनावर, चितुवा, चरा, मुसा, खरायो, स्याल जे जे भेटिन्छ, तिनीहरुलाई चिडियाखानामा राख्ने । त्यसो हुँदा स्थानीय मान्छेले काम पनि पाउँछन् । प्राविधिकले काम पाउँछन् । चिडियाखानाबाट आयआर्जन पनि हुन्छ । राजस्व उठ्छ । बदमास बाँदरहरु तह पनि लाग्ने भए ।
  • नेपालमा सबैभन्दा बढी दुःख दिने रातो बाँदरले हो । यो सर्वभक्षी छ । यसले जे पनि खान्छ । चराको बच्चा, कीरा, फट्यांग्रा, माछा, फलफूल जे पनि खान्छ । रातो बाँदरले घाँटीमा खानेकुरा स्टोर गरेर पनि राख्नसक्छ । अहिलेको समस्या रातो बाँदरको हो । नियम कानूनअनुसार सामान्य जनावरको वर्गभित्र पर्ने भएकाले सरकारले चिडियाखाना बनाएर अनुसन्धान प्रयोगशालामा पनि रातो बाँदरलाई प्रयोग गर्नसक्छ ।
  • मान्छे र बाँदरको स्वभाव र उत्पत्ति एकै भएकाले तिनीहरुमा गरिएको प्रयोग मान्छेमा गर्दा परीक्षण सफल भएको छ । नेपालमा कति धेरै औषधि पाइन्छन् । ती औषधिहरुको परीक्षणका लागि रातो बाँदर उपयुक्त जनावर हो । भारतको बाँदर बिरामी हो भन्ने प्रमाणित भएको छ । प्रयोगका लागि नेपालको बाँदर एकदमै स्वस्थ भएको विभिन्न अध्ययनले देखाएको छ । यसबाट राज्यलाई आर्थिक फाइदा पनि हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर