सुदूरपश्चिममा सांसदका लागि चौथो पटक बनाइँदै लोगो – Nepal Press

सुदूरपश्चिममा सांसदका लागि चौथो पटक बनाइँदै लोगो

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूका लागि नयाँ डिजाइनको लोगो (ब्याच) बनाइने भएको छ । अघिल्लो वर्ष पुस १५ गतेमात्रै साढे ५ लाख खर्च गरेर सांसदहरूलाई सुन र चाँदी जडित लोगो प्रदान गरिएको थियो । तर, त्यो लोगोको स्वरूप ठीक नभएको र केही थप गर्नुपर्ने भन्दै पुनः अर्को लोगो बनाउन लागिएको हो ।

नयाँ लोगो तयार गर्न नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा समिति गठन गरिएको थियो । बुधबारको प्रदेशसभा बैठकमा उक्त समितिले लोगोको स्वरूपसहितको प्रतिवेदन प्रस्तुत गरेको छ ।

जेठ २ गते बसेको प्रदेशसभाले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो । समितिमा एमालेका धर्मराज पाठक, माओवादी केन्द्रका अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाशबहादुर रावल राप्रपाबाट खेमा विष्ट र स्वतन्त्र सांसद तारा जोशी पनि सदस्यमा थिए । उक्त समितिले झन्डै ८ महिनापछि प्रदेशसभामा प्रस्तावित लोगो सहितको प्रतिवेदन पेस गरेको हो ।

समितिका संयोजक शाहीले सबैसँग छलफल गरेर परिमार्जित नयाँ लोगो तयार गरिएको बताएका छन् । उनले लोगो संशोधन गर्न वर्तमान तथा पूर्वसांसदरूसँग राय लिइएको, राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरिएको बताए । त्यस क्रममा चार वटा लोगो प्राप्त भएको र सबैभन्दा उत्कृष्ट रहेको भन्दै काठमाडौंका विश्वास पराजुलीले पेस गरेको लोगो छनोट गरिएको शाहीले प्रदेशसभालाई जानकारी दिए ।

अब तयार गरिने लोगो २४ एमएम ब्याच भएको र पञ्च धातु जडान गरिएको हुने उनले बताए ।

दोस्रो कार्यकालमा दोस्रो पटक बनाइँदैछ लोगो

दोस्रो कार्यकालको पहिलो वर्ष पुगेलगत्तै प्रदेशसभा सदस्यको लागि नयाँ लोगो बनाउन लागिएको हो । यसअघि सुरुमा धातुको लोगो निर्माण गरिएको थियो । त्यसयता सुन र चाँदी जडित लोगो तयार गरिएको छ ।

पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २०० पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो । ५३ जना प्रदेशसभा सदस्यको लागि ७० थान लोगो तयार गर्दा डेढ लाखभन्दा बढी खर्च गरिएको थियो ।

२०७७ जेठ ७ गते सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि सुदूरपश्चिम प्रदेशमा पनि लोगो फेरिएको थियो । त्यसलगत्तै असार १७ गते ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयलाई इष्टिमेट मागेर सुन र चाँदी जोडिएको नयाँ लोगो तयार गर्न भनिएको थियो । त्यसबेला २ लाख ८५ हजारको सुनमात्रै प्रयोग गरिएको थियो । ६९ हजार ८२५ रुपैयाँको चाँदी प्रयोग गरिएको उक्त लोगो तयार गर्न प्रदेशसभाले ५ लाख ५५ हजार १०० रुपैयाँ खर्च गरेको थियो । ६० वटा बनाइएको उक्त सुनचाँदी जडित लोगो सांसदले कार्यकाल सकेपछि फिर्ता गरेनन् ।

त्यसबेला एउटा लोगोको मूल्य करिब ७ हजार ९३० रुपैयाँ परेको थियो । प्रदेशसभा सदस्यहरूले चुच्चे नक्सासहितको सुनचाँदी जडित लोगो फिर्ता नगरेपछि प्रदेशसभाले तेस्रो पटक सुनचाँदी जडित लोगो बनाएको थियो ।

अहिले प्रदेशसभा सदस्यहरूले लगाइरहेको लोगोमा १ लाल सुन र १ तोला चाँदी छ । ५ लाख ४९ हजार ३३३ रुपैयाँ खर्चेर बनाइएको लोगो फेरि परिवर्तन गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । अहिले प्रयोग भइरहेको लोगोमा मात्रै २ लाख ७१ हजार २०९ रुपैयाँको सुन र ८५ हजार २ रुपैयाँको चाँदी लेप लगाइएको छ ।

सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले १९ गते प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि लोगो निर्माण गर्ने काम अघि बढ्ने बताए ।

पञ्च धातु जडित लोगो बनाउने निर्णय भए पनि कुन कति राख्ने भन्ने विषयमा अझै छलफल नभएको उनले जानकारी दिए ।

यसअघि बनेको लोगोको माथिपट्टि नेपालको झन्डा रहेको थियो । झन्डामुनि निलो आकाश र सेतो हिमाल थियो । मध्य भागमा पहाड, तल समतल फाँट, दायाँ र बायाँतर्फ नौ वटा लालीगुराँस, अग्र भागमा प्रदेशको नक्सा, नक्साको तल सुनौलो रङ्गको क्रस धानको बाला अङ्कित गरिएको थियो ।

अहिले झन्डासहित केही थप त्रुटि रहेको भन्दै नयाँ व्याच बनाइन लागिएको लोगो संशोधन समितिका संयोजक शाहीले जानकारी दिए । हाल प्रयोग भएको लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झन्डामा चन्द्र र सूर्य नभएको हुँदा नयाँ लोगो बनाउनु परेको उनले बताए ।

उनका अनुसार वैशाखसम्म नयाँ लोगो तयार गरेर सांसदहरूलाई वितरण गर्ने योजना छ ।

यस्तो बन्नेछ पञ्च धातु जडित नयाँ लोगो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर