यू-१९ विश्वकप सुपरसिक्स : दबाबमुक्त नेपालसँग बंगलादेशलाई जिल्याउने अवसर – Nepal Press

यू-१९ विश्वकप सुपरसिक्स : दबाबमुक्त नेपालसँग बंगलादेशलाई जिल्याउने अवसर

काठमाडौं । यू-१९ विश्वकपको सुपर सिक्स खेल्नु अगावै नेपालको सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ । तर पनि आज बंगलादेशविरुद्ध खेल्ने सुपर सिक्सको पहिलो खेल नेपालका लागि कम महत्वको हुने छैन ।

नेपालले टेस्ट राष्ट्रसँग क्रिकेटमा भिड्ने अवसर दुर्लभ नै प्राप्त गर्छ । युवा समूहमा पनि विश्वकप वा एसिया कप नै कुर्नुपर्छ । त्यसैले आजको म्याच पनि नेपालका निम्ति एउटा अवसर हो, आफूलाई प्रमाणित गर्ने । समूह चरणको अन्तिम खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएर उच्च मनोबलमा रहेको नेपाल बंगलादेशसित पनि जितको लक्ष्यसहित भिड्नेछ ।

नेपालले यसअघि यू १९ विश्वकपमा बंगलादेशसित दुईपटक भिड्दा नतिजा बाँडेको छ । सन् २००२ मा नेपालले बंगलादेशलाई हराएको थियो भने सन् २०१६ मा बंगलादेशबाट पराजित भएको थियो । बंगलादेशको पनि सेमिफाइनल यात्रा निकै कठिन छ । उसले सेमिफाइनल सम्भावना जीवित राख्न नेपाललाई विशाल अन्तरालमा हराउनुपर्ने हुन्छ । त्यसैले उसले आक्रामक क्रिकेट खेल्ने छ । जसले नेपालका लागि अवसर सिर्जना गर्न सक्छ ।

बंगलादेश समूह चरणमा भारतसित ८४ रनले पराजित भएको थियो भने आयरल्यान्डलाई ६ विकेटले र अमेरिकालाई १२१ रनले पराजित गरेको थियो । सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले सुपर सिक्सका दुवै म्याचमा ठूलो जित हासिल गर्नुपर्ने हुन्छ ।

नेपालले समूह चरणमा तीनवटै बलिया टिमसँग प्रतिस्पर्धा गरेको थियो । न्यूजिल्यान्डले नेपाललाई ६४ रनले सहजरुपमा पराजित गर्‍यो भने पाकिस्तानले संघर्षपूर्वक ५ विकेटको जित हात पार्‍यो । अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएर सुपरसिक्समा स्थान बनाएको हो ।

अफगानिस्तानविरुद्धको जितले नेपालको आत्मविश्वास बढेको त छ, तर नेपालका केही कमीकमजोरी पनि उजागर भएका छन् । खासगरि, सुरुवाती ओभरहरू नेपाली ब्याट्सम्यानका लागि निकै चुनौतीपूर्ण देखिने गरेको छ । नेपालका ब्याट्सम्यान पेस र बाउन्स भएको बलमा खेल्न त्यति अभ्यस्त छैनन् । जुनियर मात्र नभएर सिनियर टिममा पनि यो समस्या छ ।

नेपालले टप अर्डरमा अर्जुन कुमाल र देव खनालबाट बढी आशा राखेको छ । उनीहरू दुवै फास्ट बललाई राम्ररी खेल्न सक्ने ब्याट्सम्यान हुन् । दुई मध्ये एकजनाले लामो इनिङ खेल्नु नेपालका लागि अत्यावश्यक देखिन्छ ।

नेपालको चिन्ताको विषय भनेको गुल्शन झाको ब्याटिङ फर्म हो । समूह चरणका तीनवटै खेलमा उनले आफ्नो स्तर अनुसार ब्याटिङ गर्न सकेनन् । जबकि नेपालले उनीबाटै सबैभन्दा बढी आशा गरेको थियो । अघिल्लो म्याचमा गुल्शनलाई तेस्रो नम्बरमा ट्राइ गरियो, तर असफल भए ।

गुल्शनको कमजोरी भनेको पेस र बाउन्स नै हो । उनी स्पिनरसँग जति आरामदायीरुपमा खेल्न सक्छन्, फास्ट बलरसँग सक्दैनन् । त्यसैले उनका लागि टप अर्डर भन्दा मिडल अर्डर वा लोअर मिडर अर्डर नै उपयुक्त हुनेछ । यदि उनी आफ्नो लयमा आए भने विपक्षी टिमलाई सकसमा पार्न सक्छन् ।

नेपालको तल्लो क्रमसम्म ब्याटिङ क्षमता छ, जुन राम्रो संकेत हो । दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्दले पनि आवश्यक पर्दा ब्याटबाट योगदान दिन सक्ने क्षमता देखाएका छन् ।

नेपालको पेस बलरहरूले प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । उनीहरूलाई पीचले पनि साथ दिएको छ । तर, सबैभन्दा बढी आशा गरिएका स्पिनर दिपेश कँडेलले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । उनलाई पिचबाट पनि सहयोग मिलेको छैन । नेपालका फास्ट बलर आकाश चन्द उच्च फर्ममा छन् ।

उनले समूह चरणमा पाकिस्तानविरुद्ध ३ विकेट र अफगानिस्तानविरुद्ध ५ विकेट लिए । आफ्नो यो लयलाई निरन्तरता दिएमा बंगलादेशका ब्याट्सम्यानहरुलाई उनले अप्ठेरोमा पार्न सक्छन् । आकाशलाई गुल्शन झा र सुवास भण्डारीले साथ दिइरहेका छन् ।

ब्याटिङमा नेपालको सबैभन्दा ठूलो आशा कप्तान देव खनालमै रहनेछ । उनले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अफगानिस्तानविरुद्ध उनले म्याचविनिङ पारी खेलेका थिए ।

यदि नेपालसँग हार्‍यो भने बंगलादेशको पनि सेमिफाइनल सम्भावना समाप्त हुनेछ । त्यसैले बंगलादेशले दबाबमा खेल्नेछ । तर, सेमिफाइनलमा दौडमा नरहेको हुँदा नेपाललाई कुनै पनि प्रेसर छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *