कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रम सुरु – Nepal Press

कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रम सुरु

आफू निकट अस्पताल पोस्ने मुख्यमन्त्रीको योजना भएको एमालेको आरोप

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने महत्वाकांक्षी योजना सुरु भएको घोषणा गरेको छ । प्रदेशका ४ वटा अस्पतालसँग सम्झौता गरेर प्रदेश सरकारले आजबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको घोषणा गरेको हो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विराटनगरका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र हाम्रो अस्पताल र झापाको किओच दमक बालबालिका अस्पतालसँग १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सम्झौता गरेको छ ।

त्यस्तै प्रादेशिक अस्पताल भद्रपुरबाट समेत बालबालिकाले निःशुल्क उपचार पाउने घोषणा सरकारले गरेको छ ।

प्रदेश सरकारले सम्झौता गरेका सबै अस्पतालका सञ्चालक मुख्यमन्त्री केदार कार्की निकटका हुन् । तीमध्ये तीन वटा अस्पताल नेपाली कांग्रेसको फरक समूहको नेतृत्व गरेका डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रमा छन् ।

दमकमा रहेको बालबालिका अस्पताल भने डा. भगवान कोइराला नेतृत्वको टीमले सञ्चालन गरेको हो । कार्की डा. कोइराला निकट छन् ।

प्रदेश सरकारले निःशुल्क उपचार कार्यक्रमको लागि तत्काल ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । बालबालिकाको निःशुल्क उपचार कार्यक्रम आफू निकटका अस्पतालहरूलाई पोस्न सुरु गरेको भन्दै मुख्यमन्त्री कार्कीमाथि आरोपसमेत लागेको छ ।

डा. कोइरालालाई निर्वाचनमा सजिलो बनाउन मुख्यमन्त्री कार्कीले यो महत्त्वाकांक्षी कार्यक्रम घोषणा गरेको आरोप लगाइएको छ ।

नेकपा एमालेले विनाप्रतिस्पर्धा निःशुल्क उपचारका नाममा निजी अस्पतालहरूसँग प्रदेश सरकारले सम्झौता गरेको भन्दै विरोध गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बालबालिकाको निःशुल्क उपचारका नाममा विराटनगरका एउटै निर्वाचन क्षेत्रका निश्चित र आफूलाई मन लागेका अस्पतालसँग मुख्यमन्त्री कार्कीले स्वार्थपूर्ण रूपमा सम्झौता गरेको बताए ।

उनले कुनै मापदण्डविना, प्रतिस्पर्धा नगरी अस्पताल छानेकोमा आपत्ति जनाए ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक भण्डारीले सञ्चित कोषबाट व्ययभार पर्ने गरी मार्ग निर्देशन बनाएर खर्च गर्न नपाइने बताए ।

उनले सम्झौता प्रक्रियामा प्रदेश सरकारले सामान्य कानूनको समेत खिल्ली उडाइएको आरोप लगाए ।

भण्डारीले भने, ‘धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थियो, कोशी अस्पताल विराटनगर थियो । जिल्लाका पनि कैयौं राम्रा अस्पताल थिए । तिनीहरूसँग किन सम्झौता गरिएन ?’

मुख्यमन्त्री कार्कीले भने अस्पतालमा रहेका डाक्टर, औजार उपकरण र भौतिक पूर्वाधारको अवस्थालाई हेरेर निःशुल्क उपचारसम्बन्धी सम्झौता गरिएको दाबी गर्दै आएका छन् । उनले कुनै आग्रह र पूर्वाग्रहविना बालबालिकाको निःशुल्क उपचारका लागि काम थालिएको दाबी गरे ।

यस्तो छ सरकारको तयारी

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकालाई निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवासम्बन्धी मार्गदर्शन २०८० जारी गरेको छ । सो मार्गदर्शनका आधारमा प्रदेशमा स्थायी बसोबास भएका १० वर्षमुनिका बालबालिकाले निःशुल्क स्वास्थ्योपचार पाउने स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् ।

डा. देवकोटाले प्रदेश सरकारको निःशुल्क उपचार सेवा बालबालिका बिरामी हुनेबित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित तोकिएको अस्पतालमा उपचारका लागि आउनुपर्ने बताइन् ।

निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने उनले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको अ‍ौषधिसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको डा.देवकोटाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर