निर्वाचन क्षेत्रमा जीवन आचार्यको सक्रियता- १३० विपन्न परिवारलाई बाँडे कम्बल – Nepal Press

निर्वाचन क्षेत्रमा जीवन आचार्यको सक्रियता- १३० विपन्न परिवारलाई बाँडे कम्बल

विराटनगर । चिसोबाट प्रभावित विराटनगर-४ का १३० परिवारलाई बुधबार न्यानो कपडा कम्बल वितरण गरिएको छ ।

कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी प्रदेशसभा सदस्य जीवन आचार्यले वडाका विपन्न एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत विपन्न परिवारलाई चिसोबाट जोगाउन कम्बल उपलब्ध गराएका हुन् ।

नेकपा माओवादी केन्द्र विराटनगर-४ कमिटीले व्यवस्थापन गरेको कार्यक्रममा सांसद आचार्यले विपन्न वर्गलाई आफ्नो तर्फबाट सानो सहयोग गरेको बताए ।

आचार्यले केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर असहाय, विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आएका छन् । उनले प्रदेशसभा सांसदको रुपमा प्राप्त गरेको पारिश्रमिक रकम खर्च गरेर आवश्यक भएका व्यक्तिहरु पहिचान गरी कम्बल उपलब्ध गराएका हुन् ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नेता आचार्यले भने, ‘यो कुनै ठूलो काम होइन तर म क्षेत्रका विभिन्न टोलहरूमा पुग्दै गर्दा जाडोले काँप्दै गरेका, घूर तापेर जाडो छल्दै गरेका महिला, बालबालिकाहरुलाई देखेर केही न केही सहयोग गर्नुपर्छ भनेर यो काम गरेको हुँ ।’

उनले सबै व्यक्तिले सहज जीवन निर्वाह गर्न सक्नु पर्ने र सबैलाई सक्षम बनाउनका लागि आफ्नो पार्टी र सरकार क्रियाशील रहेको भए पनि समाजमा अझै धेरै व्यक्ति आर्थिक विपन्नताको सामना गरिरहेकोले सबैले आवश्यक सहयोग गर्दै जानु पर्ने उनले बताए ।

निर्वाचन क्षेत्र अन्तरगत विभिन्न विकास निर्माणको काम गर्ने प्रयत्न आफूले गरिरहेको भन्दै नेता आचार्यले ठूला विकासको योजना ल्याउने प्रतिबद्धता पनि जनाए । पाँच वर्षभित्र विराटनगर ४ मा गर्नुपर्ने विकासका ठूला योजनाहरु ल्याउने तर्फ आफू केन्द्रित रहेको भन्दै विकासको कामका लागि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष तथा कोशी प्रदेशका पूर्व राज्यमन्त्री विजय विश्वास थारुले जनताको दुःख र पीरमर्कामा माओवादी पार्टी सदैव साथमा रहेको बताए । सांसद आचार्यले आफूले पाएको पारिश्रमिकबाट जनतालाई सहयोग गर्ने कार्यको प्रशंसा गर्दै जनताको पक्षमा निरन्तर काम गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर