चराहरूको रोचक संसार– कोइलीले विरह गाउँदैन, भालेले चाहेको पोथी पाउँदैन ! (भिडिओ) – Nepal Press

चराहरूको रोचक संसार– कोइलीले विरह गाउँदैन, भालेले चाहेको पोथी पाउँदैन ! (भिडिओ)

चराविद् डा. हेमसागर बराल भन्छन्- भाले छनोट गर्ने अधिकार पोथीकै हुन्छ । पोथीको चाहनाविपरीत कुनै पनि भालेले संसर्ग गर्न पाउँदैन

काठमाडौं । चराहरु बुद्धिमान हुन्छन् ।

बीबीसीको एक डकुमेन्ट्री छ । डकुमेन्ट्रीले भन्छ, जापानमा ओखरप्रेमी कागहरु पाइन्छन् । तिनीहरु ओखरप्रेमी त भए । तर, ओखर फुटाएर खान सकेनन् । अनि ती कागहरुले दिमाग लगाए, ओखर लगेर गाडी गुडिरहेको सडकमा फाल्ने । गाडीका चक्काले ओखर फुटाउँछन् । त्यसपछि स्वादिलो ओखर खाने ।

तर, त्यहाँ समस्या आइपर्‍यो ।

ओखर खान जाँदा गाडीले किचेर आफ्नै ज्यान जाने खतरा भयो । अनि कागहरुले अर्को तरिका अपनाए, ओखर सडकमा गाडीले फुटाइसकेपछि ट्राफिक लाइट कुर्ने, जब रातो बत्ती बल्छ, अनिमात्रै सडकमा गएर आरामले ओखरको स्वाद लिने ।

यसरी कागहरुले आफूलाई मनपर्ने ओखर खान सिके ।

०००

चराहरु भावनात्मक पनि हुन्छन् ।

चराविद् डा. हेमसागर बरालका अनुसार चराहरु निकै नै इमोसनल हुन्छन् । त्यसमा पनि जीवनभरि एकै पार्टनर बनाउने सारस, राजहाँस, चखेवा जस्ता प्रजातिका चराहरु आफ्नो जोडी गुमाएमा शोकमग्न हुन्छन् ।

कुनै शिकारी चराले या अरु केही कारण आफ्नो जोडी गुमेपछि उनीहरु चर्न नजाने, झोक्रिएर बस्ने गर्छन् । केही खानेकुरा नखाएकै कारण उनीहरु कमजोर बन्छन् र त्यस्ता कमजोर चराहरु प्राकृतिक छनोटको सिद्धान्तअनुसार शिकारी चराको आहारा हुने झनै ठूलो खतरा हुन्छ ।

०००

चराहरुमा केही पाएको बदलामा केही दिनुपर्छ भन्ने भावना पनि हुन्छ ।

प्राणीशास्त्रमा विद्यावारिधि गरेका अनुज घिमिरेको एक साथीले चराहरुलाई बरन्डामा खानेकुरा राखिदिने गर्दोरहेछ । तर, त्यहाँ हेयरब्याण्ड, चकलेट, चुइङगमका रंगीन खोलहरु र अन्य कुराहरु पनि थुप्रिएछन् । ती फोहोर उनले उठाएर फालेछन् । तर, केही समयमा फेरि फोहोर थुप्रिएछ ।

एक दिन घिमिरेका साथीले देखे, एउटा चराले नीलो रंगको हेयरब्याण्ड चुच्चोमा बोकेर ल्याइरहेको छ । अनि घिमिरेले साथीलाई भने, ‘त्यो त उसले तिमीलाई रिटर्न गिफ्ट ल्याइदिएको नि ! तिमीले उसका लागि फिडर राखिदियौ भनेर उसले तिमीलाई उपहार दिएको ! सायद चरालाई थाहा हुनुपर्छ, सधैं अरुको मात्रै लिनुहुँदैन । कहिलेकाहीँ दिनु पनि पर्छ भनेर ।’

०००

कर्याङकुरुङ, २७ सय माइल टाढा साइबेरिया, मंगोलियाबाट उडेर मनाङ–मुस्ताङको घाँटीबाट पास भएर भारतको राजस्थान, गुजराततिर पुग्ने चरा । तस्बिर ः संजय था श्रेष्ठ

मान्छेले भने जस्तो कोइली या न्याउलीले विरहको गीत गाउँदैन ।

कोइली या न्याउलीको विरहको गीत भनेर कति गीत, कविता लेखिए, यकिन छैन । कति साहित्यकार कोइलीको गीतलाई विरहको गीत भनेर भावुक भए, तथ्यांक छैन ।

तर, चराविद् डा. बरालका अनुसार यी चराहरुले गाउने गीत विरहको नभएर ‘मेटिङ कल’ हो । ‘मेटिङ कल’ भन्नाले संसर्गका लागि पोथीलाई अनुरोध गरेर गाइएको गीत । बच्चा कोरल्ने सिजनमा भालेहरु आफूतिर पोथीलाई आकर्षित गर्न यस्ता गीत गाउने गर्छन्, न कि कुनै वियोगमा ।

०००

पोथीले जहिल्यै आकर्षक भालेमात्र छनोट गर्छे ।

भाले छनोट गर्ने अधिकार पोथीकै हुन्छ । पोथीको चाहनाविपरीत कुनै पनि भालेले संसर्ग गर्न पाउँदैन । जब भालेले संसर्ग गर्न पाउँदैन, उसको जिन अगाडि बढ्दैन ।

त्यसैले भालेमा जहिल्यै चुनौती हुन्छ, अरुभन्दा आकर्षक देखिनुपर्ने । चाहे अनेक रंगीबिरंगी रङहरुका कारण होस्, चाहे सुरिलो मीठो गीतका कारण होस् या चाहे मुग्ध नृत्यका कारण होस् । भाले जहिल्यै अरुभन्दा फरक देखिनैपर्छ, जोमाथि पोथीको नजर परोस् र संसर्गका लागि तयार भइदेओस् ।

भालेले नाचेर, गाएर, अरुभन्दा बढी सुन्दर देखिएरमात्रै पोथीलाई आफ्नो काबुमा पार्नसक्छ । नत्र कमजोर भालेहरु आफ्नो जिन भावी सन्तानमा नसारी मर्ने गर्छन् ।

यसको कारण बताउँछन् डा. बराल, ‘किनभने बलियो भालेले आफ्नो जिन पास गर्नुपर्ने हुन्छ । बलियोले पाएन र कमजोर भालेले त्यो अवसर पायो भने सन्तानको भविष्य राम्रो हुँदैन । जीव विकासको क्रममा विज्ञानले प्रमाणित गरेको कुरा हो । बलियो भालेसँग पोथीले संसर्ग गर्दा बच्चाहरुको भविष्य राम्रो हुन्छ । त्यसैले पोथीले जहिल्यै पनि सुन्दर, आकर्षक, गीतांगे, नाचंगे भाले नै छनोट गर्नुपर्छ र यो सबै पोथीको छनोट हो । भाले त नाच्ने, गाउनेमात्रै हो ।’

मुरुली चरा, जसको भालेले पोथीसँग संसर्ग गर्नका लागि अत्याधिक चारो खुवाउनुपर्ने हुन्छ । जुन भालेले बढी चारो खुवाउँछ, त्यही भालेसँग पोथी संसर्गका लागि तयार हुन्छे ।
तस्बिर ः विकास बस्नेत

०००

नेपालमा ८८६ प्रजातिका चरा पाइन्छन् । १५० भन्दा बढी प्रजाति पाहुना चराका लागि नेपाल हिउँदे ठेगाना हो । ६० भन्दा बढी पाहुना चराका लागि नेपाल बर्खे ठेगाना हो ।

साउन-भदौबाट सुरु भएर मध्य पुससम्म पाहुना चराहरु २७ सय माइल टाढा साइबेरिया, मंगोलियाबाट आइरहेका हुन्छन् । फागुनको पहिलो हप्तादेखि बैशाखसम्म भने तिनीहरु साइबेरिया, मंगोलिया फर्किरहेका हुन्छन् ।

अहिले नेपालका अधिकांश सिमसार क्षेत्र, कोशी टप्पु, जगदीशपुर ताललगायत क्षेत्रहरु पाहुना चराहरुले ढपक्क ढाकेका छन् । खोया हाँस, सारस, चखेवा, फ्यालफ्याले जस्ता चराहरु हिउँदे बिदा मनाउन नेपाल आइपुगेका छन् ।

कर्‍याङकुरुङ चराहरु साइबेरियाबाट २७ सय माइल उडेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेशको केही ठाउँमा पुग्छन् । अहिलेसम्म ९ हजार ३०० मिटरभन्दा माथिको उचाइमा उनीहरुको उडान रेकर्ड गरिएको छ । यो भनेको कर्‍याङकुरुङ सगरमाथाको उचाइभन्दा माथिबाट उडेर आउँछन् । खोया हाँस, सारसलगायत चराहरु पनि सगरमाथाभन्दा माथि माथि उडेर साइबेरिया, मंगोलियाबाट आइपुग्छन् ।

जाडो याममा मंगोलिया, साइबेरियामा माइनस डिग्रीमा तापक्रम हुन्छ । दिन पनि छोटो हुन्छ । जमिनमा रहेको पानी जम्छ । पानी जमेपछि न वनस्पति भेटिन्छ न त कीराफट्यांग्रा नै पाइन्छ ।

डा. बराल सुनाउँछन्, ‘यसपछि तिनीहरु बसाइसराइ सुरु गर्छन् । कतिपय चराहरुलाई हिमालको उचाइले छेक्छ । अनि उनीहरु उड्दै हिमाल सकिएको ठाउँबाट दक्षिणतिर लाग्छन् ।’

कर्‍याङकुरुङ, खोया हाँसहरु बास बस्दै बस्दै आउँछन् । कहिले मुस्ताङको घाँटी भएर दक्षिण छिर्छन् । कहिले अरुण उपत्यका हुँदै छिर्छन् । बास बस्दै, ऊर्जा सञ्चय गर्दै, मौसमको अनुकूलता हेर्दै आउने भएकाले नै वेलावेला मुस्ताङको एयरपोर्टभरि कर्‍याङकुरुङ देखियो भनेर समाचार पनि आउने गरेको डा. बरालको भनाइ छ ।

हलिमुख, रसियाको बैकाल तालबाट हिँउद कटाउन नेपाल आइपुग्छ ।
तस्बिर ः संजय था श्रेष्ठ

०००

सगरमाथाको उचाइमा यत्तिकै पनि हावाको चाप बढी हुन्छ । त्यो पनि अक्सिजनविनाको हावा र हावा निकै कसिलो र बेगवान भएर सगरमाथाको उचाइमा खेल्ने गर्छ । यस्तो ठाउँभन्दा माथिबाट चराहरुले कसरी उडान भर्छन् ?

डा. बरालका अनुसार मान्छेको र चराको फोक्सो फरक हुन्छ । चराहरुको फोक्सोबाट उछिट्टिएका बेलुन जस्ता थैलीहरु हुन्छन् । जसलाई ‘इयर स्याक्स’ भनिन्छ । चराले सास लिँदाखेरिको अक्सिजन उक्त थैलीहरुमा केही मात्रामा रहन्छन् । जसले गर्दा चराहरुलाई थप अक्सिजनको जुगाड भयो ।

अर्काेतिर, अक्सिजनका थैलीहरुले चराको शरीरलाई हलुको पनि बनायो । हावामा तैरिरहँदा वजन पनि कम गरायो । चराहरुको हड्डीलाई ‘न्युमेटिक बोन्स’ भनिन्छ । जुन हड्डीभित्र पनि हावाका क्याभिटीहरु हुन्छन् । अर्कातिर उनीहरुको पखेटाको वेट नै हुँदैन ।

‘पखेटाका मसलहरु पनि एकदमै विकसित र सबल हुन्छन् । शरीरको दाँजोमा एकदमै शक्तिशाली हुन्छन्’, डा. बराल थप्छन्, ‘मानिसलाई चरा जसरी उड्न ४० फिट लामो मसल चाहिन्छ । जो सम्भव नै हुँदैन ।’

यही कारण नै फ्यालफ्याले नामक चरो लगातार दुई वर्षसम्म उडिरहन्छ । पानीमा पाइने मलगुजा भन्ने चरा अमेरिकाको अलस्काबाट उडेर प्रशान्त महासागरको छेउ हुँदै न्युजिल्याण्ड पुग्छन् । पृथ्वीको ब्यास जतिकै लामो दूरी तिनीहरु १२–१३ दिन लगातार उडेर न्युजिल्याण्ड पुग्छन् ।

डा. बराल भन्छन्, ‘तिनीहरु बसाइसराइ गर्नुको मुख्य उद्देश्य भनेको खानेकुराको खोजी नै हो ।’

०००

आदिकालदेखि नै चरा र मानिसहरुको सम्बन्ध बडो घनिष्ठ छ । मानव चोला यो समृद्ध सभ्यतामा आइपुग्न चराहरुको पनि ठूलो योगदान छ । तर, चराहरु भने मानव पुर्खाभन्दा धेरै अगाडि नै अस्तित्वमा आएका थिए । अहिलेका चराहरुको साइनो डाइनोसरसँग जोडिन्छ भनेर जीव वैज्ञानिकहरुले प्रमाणितसमेत गरेका छन् ।

मानव जीवनमा चराहरुको भूमिका जति छ, उत्तिकै मात्रामा मिथकहरुमा पनि चराहरु प्रशस्तै मात्रामा आउने गरेका छन् । चरालाई लिएर एक किराँती मिथक छ- थिबिया चरा ।

मिथकअनुसार किराँती बस्तीमा एक महिलाको नाम हुन्छ, थिबिया । उनले एक असाध्यै सुन्दर छोरा पाउँछिन् । छोराको नाम हुन्छ, थिबे । थिबेको सुन्दरता देखेर गाउँलेहरु ईर्ष्याले जल्छन् र थिबेलाई मार्ने षड्यन्त्र बुन्छन् ।

गाउँलेहरु सबैले आआफ्ना छोराहरुलाई भेलबाढीमा बगायो भने गाउँमा शुभ हुने बताउँछन् । तर, बगाएपछि पनि छोरा फर्की आउने बताइन्छ । यो कुरा थिबेलाई मार्नमात्रै भनिएको हुन्छ ।

अनि सबै गाउँलेले आआफ्ना छोराहरु बगाउने भएपछि थिबेकी आमा पनि छोरा बगाउन तयार हुन्छिन् । तर, गाउँलेले थिबियालाई धोका दिँदै आफ्ना छोरालाई घरमै राखेर कुचोलाई सेतो कपडाले बेरेर बगाउँछन् । तर, थिबियाले भने गाउँलेको विश्वासमा परेर साँच्चिकै थिबेलाई बगाइदिन्छिन् ।

भेलमा बगेको थिबे फर्केर आउँदैन । त्यसपछि थिबियाले ‘थिबेउ थिबेउ’ भनेर बोलाउँदै छोरा खोज्न हिँड्छिन् । अन्त्यमा अग्लो रुखमा चढेर छोरा कतै खोला किनारमा छ कि भनेर हेर्छिन् । हिँड्दाहिँड्दा थाकेकी थिबिया रुखमा अडिन नसकेर खस्छिन् र उनको मृत्यु हुन्छ ।

पछि उनी चराको जुनी लिएर आएको मानिन्छ । जुन चरालाई किराँती समुदायमा थिबिया भनिन्छ । यो चरा अहिले पनि छोरा थिबे खोज्दै ‘थिबेउ थिबेउ’ भनेर खोलाखोला कराउँदै हिँड्छ भनिन्छ ।

चरासम्बन्धी अनेक मिथक भए जस्तै भ्रम पनि उत्तिकै छन् । जस्तोः चखेवाचखेवी दिनभरि सँगै बस्छन् । रात परेपछि छुट्छन् ।

बरालका अनुसार चखेवाचखेवी राति छुट्ने कुरा भ्रम हो । बरु यी चरा त राति पनि सँगै चर्न हिँड्छन् । तिनीहरु कथंकदाचित छुटे भने ध्वनिको माध्यमबाट एक-अर्काको ठेगाना पत्ता लगाएर सँगै बस्छन् ।

चखेवा, राजहाँस, खोया हाँस, सारसलगायत चराहरु एक पटक जोडी बाँधेपछि जीवनभर सँगै रहन्छन् । यिनीहरुलाई मोनोग्यामस बर्ड भनिन्छ । तिनीहरु एक पटक विवाहपछि जीवनभर सँगै रहन्छन् ।

डा. बराल भन्छन्, ‘दे मेड फरक लाइफ ।’

चखेवाचखेवीले एकपटक जोडी बाँधेपछि जीवनभरका लागि बाँध्छन् । तस्बिर ः विकास बस्नेत

०००

मोनोग्यामस चराहरु बथानमा पनि बस्ने गर्छन् । तिनीहरुको साउण्ड एकै किसिमको हुन्छ लगभग । डा. बराल भन्छन्, ‘सबै चरा लगभग उस्ताउस्तै हुन्छन् । सय वटा भाले राख्दा सबै उस्ताउस्तै हुन्छन् । छुट्याउनै गाह्रो हुन्छ । तर, पोथीले आफ्नो बुढो को हो भनेर सजिलै चिन्छे ।’

कुनै कुनै चरा ठूलो समूहमा गुँड बनाएर बस्छन् । पेनगुइन त लाखौंको संख्यामा गुँड बनाएर बस्छन् । तर, बावुआमा चारा लिएर फर्किएपछि आफ्ना बच्चा कसरी चिन्ने ? उनीहरु खाना त लिएर आएका हुन्छन्, तर कसलाई खुवाउने ? हजारौं हुन्छन् बच्चा ।

डा. बराल भन्छन्, ‘तिनीहरुले यसका लागि छुट्टै खाले साउण्ड बनाएका हुन्छन् । हामीले सुन्दा चराहरुको साउण्ड एकै लाग्छ । तर, त्यहाँ विविधता हुन्छ ।’

०००

चराहरुमा कोइलीको जीवनशैली बडो रोचक हुन्छ । कोइलीहरु सबैभन्दा धूर्त चरा पनि हुन् । डा. बरालका अनुसार धेरैजसो कोइली आफ्नो गुँड बनाउँदैनन् । अरुको गुँडमा अण्डा पार्छन् ।

भाले कालो हुन्छ । पोथी छिरबिरे हुन्छे । पोथीले अरु चराको गुँडमा अण्डा पार्नुपर्ने हुन्छ । यसका लागि तिनीहरुले फरक खालको ट्रिक प्रयोग गर्छन् । पोथीको रङ छिरबिरे हुनुको कारण भनेकै ऊ लुकेर बस्न सकोस् भनेर हो । मानौं, कागको गुँडमा कोइलीलाई अण्डा पार्नु छ । तर, काग ओथारो बसिरहेको छ ।

अब भाले कोइलीले पहिलो एक्सन लिन्छ । ऊ कागको गुँड नजिक गएर कागको ध्यान आफूतिर केन्द्रित गर्छ । कागलाई इरिटेड बनाउँछ र काग गुँड छाडेर बाहिरिन्छे । तर, कागलाई थाहा हुँदैन कि छेवैमा पोथी लुकेर बसेकी छे ।

डा. बराल भन्छन्, ‘जब काग गुँडबाट निस्कन्छे, पोथी कोइली फुत्त गुँडमा जान्छे । एकदमै छोटो समयमा फुल पार्नुप¥यो । कागको फुललाई गुँडबाट फ्याँकिदिनु पर्‍यो । फ्याट्टै फुल पार्नु लरतरो काम होइन नि ! तर, कोइलीले काम फत्ते गर्छे । हेर्नुस् त, प्रकृति कति रोचक छ !’

तर, अण्डा फ्याँक्न नपाएको खण्डमा कोइलीको भर्खरै पड्केको बच्चाले पनि फ्याँकिदिन्छ । किनभने उसलाई एकदमै धेरै खाना चाहिन्छ । अरु बच्चासँग खाना बाँड्नु पर्‍यो भने ऊ ढिला हुर्कन्छ । कमजोर हुन्छ ।

अर्कातिर बच्चाहरु पनि केही खुबी लिएर जन्मिएका हुन्छन् । जुन चराको गुँडमा ऊ हुर्कंदैछ, त्यही चराको आवाज निकाल्न सक्छन् । माउचराभन्दा बच्चा धेरै ठूलो हुन्छ । तर, आवाज निकालेपछि ती चरा आएर कोइलीको बचेरालाई चारा खुवाउँछन् ।

केही समयपछि कोइली ती आफूलाई हुर्काउने चरा छाडेर आफ्नो बाटो लाग्छ ।

खोया हाँस, साइबेरिया, मंगोलियाबाट उडेर सगरमाथाभन्दा माथिबाट नेपाल आइपुग्छ ।
तस्बिर ः संजय था श्रेष्ठ

०००

मुरली चराको भालेले संसर्गका लागि पोथीलाई फकाउन अधिक चारो खुवाउँछ । जुन भालेले बढी चारो खुवायो, त्यहीसित संसर्ग गर्न पोथी तयार हुन्छे ।

बया तोप चराले आकर्षक गुँड बनाउँछ । पोथीलाई देखाउँछ । यदि पोथीले मन पराइ भने भालेले संसर्ग गर्न पाउँछ । आफ्नो जिन ट्रान्स्फर गर्न पाउँछ ।

डा. बराल हाँस्दै भन्छन्, ‘संसर्गका लागि भालेले गर्ने मेहनत संसारभरका प्राणी जगतमा एकै हो । संसर्ग गर्नुअघि फकाउने, नाच्ने, गाउने, आफ्नो कला देखाउने । अनि संसर्ग गरिसकेपछि आफ्नो बाटो लाग्ने ।’

बया तोप चराकै प्रसंगमा जाऔं ।

पोथीले भालेले बनाएको गुँड मनपर्‍यो भने बस्छे । संसर्ग गर्छे । संसर्गपछि भने पोथीको काम अत्यधिक हुन्छ । अण्डा पार्नुपर्‍यो, कोरल्नुपर्‍यो । बच्चाहरु हुर्काउनुपर्‍यो ।

डा. बरालका अनुसार कतिपय चरा त यस्ता छन् कि सन्तान हुर्काउन भाले सहभागी नै हुँदैन । सबै काम पोथीको जिम्मा लगाएर भाले अर्को पोथी खोज्न हिँड्छ । विशेष गरेर कुखुरा प्रजातिका चराहरुमा यो प्रवृत्ति बढी नै देखिने डा. बरालको भनाइ छ ।

कतिपय चराहरुमा बच्चा हुर्काउन भालेपोथीको समान लगानी हुन्छ । यस प्रजातिमा फिस्टा, जुरेलीलगायत चराहरु पर्छन् । महाचील, गिद्धहरु पनि समान लगानीमा बच्चा हुर्काउँछन् ।

अर्को चरा छ, चाहा । अंग्रेजीमा ग्रेटर पेन्टेड स्नाइप भनिन्छ । यो चरामा भने पोथीले फूल पारेर छाडिदिन्छ । भालेले ओथारो बस्छ र बच्चा कोरल्छ ।

यसको कारण बताउँछन् डा. बराल, ‘भालेभन्दा पोथी सुन्दर र चहकिलो हुन्छ । भाले चाहिँ पोथी जस्तै हुन्छ । चहकिलो र सुन्दर भएका कारण शिकारी चराको नजर पर्ने भएकाले भालेले ओथारो बस्नुपर्ने हुन्छ ।’

बया तोपचरा, यस प्रजातिका भालेले पोथीलाई फकाउन सबैभन्दा राम्रो गुँड बनाउनुपर्ने हुन्छ । तस्बिर ः विकास बस्नेत

०००

डा. बरालका अनुसार कुनै कुनै चराहरु हिउँदमा यत्तिकै समूहमा बस्छन् । तर, बर्खा याममा भने आफ्नो क्षेत्राधिकार तोक्छन् । मानौं एउटा भालेको दुई कठ्ठा क्षेत्र हो । अर्को भालेको चार कठ्ठा छ । यसपछि पोथीले निर्णय लिन्छे, दुई कठ्ठामा भन्दा त चार कठ्ठामा बढी खानेकुरा पाइने भयो । अनि पोथी चार कठ्ठे भालेतिर जान्छे ।

डा. बराल हाँस्दै भन्छन्, ‘यो इभोलुसनकै क्रममा यस्तो भएको हो । ठूलो क्षेत्रमा जाँदा सर्भाइभ हुने चान्सेस बढ्ने भयो । प्राकृतिक छनोटको सिद्धान्तले पनि यही भन्छ । ह्याण्डसम, ठूलो क्षेत्र भएको भालेले पोथीलाई आफ्नो क्षेत्रभित्र राख्ने भयो । पोथीले मन पराउने भई ।’

भालेलाई भने जहिल्यै एउटा चुनौती हुन्छ । त्यो हो बढीभन्दा बढी पोथीसँग संसर्ग गरेर सन्तान उत्पादन गर्नुपर्ने । डा. बरालका अनुसार यो तिनीहरुकै सुरक्षा र अस्तित्वका लागि हो । नत्र त उक्त प्रजातिको चरा दुर्लभ भएर जाने भयो । त्यसैले पोथीले तिनै भालेसँग संसर्ग गर्छे, जोसँग उसको भविष्य सुरक्षित हुन्छ ।

तर, यही खेमामा चिटिङ गर्ने चराहरु पनि हुन्छन् । भालेले पोथीलाई चिटिङ गर्छन्, पोथीले भालेलाई । यस्तो प्रवृत्ति चाहिँ फेरि तिनै चराहरुमा हुन्छ, जुन चराहरु जीवनभरका लागि जोडी बाँध्छन् । जस्तोः सारस, खोया हाँस, राजहाँस, चखेवा ।

एक पटक जोडी बाँधेपछि आजीवन सँगै बस्ने भए पनि तिनीहरुमा चिटिङ प्रवृत्ति हुन्छ । जसलाई अंग्रेजीमा प्रोमिस्क्युअस सेक्स भनिन्छ । यसलाई विवाहेत्तर सम्बन्ध भने पनि भयो ।

डा. बराल भन्छन्, ‘पोथीले छिमेकी भालेसँग वा भालेले छिमेकी पोथीसँग संसर्ग गर्ने हुन्छ । त्यसले चाहिँ जिनमा डाइभर्सिटी दिन्छ । यो सबै प्राकृतिक छनोट हो । यसले आउँदो पुस्तालाई बलियो बनाएर लैजान्छ ।’

०००

डा. बरालका अनुसार चराहरुमा सामूहिक रुपमा प्रतिकार गर्ने कला हुन्छ । तिनीहरु संगठित हुन्छन् । काग, भ्याकुरलगायत चराहरु सामूहिक प्रतिकार गर्न खप्पिस हुन्छन् । परेवाहरु ठूलो बथानमा उड्नु पनि सामूहिक तागत प्रदर्शन गर्नु नै हो । सामूहिक रुपमा उड्दा बाजहरुले आक्रमण गर्न सक्दैनन् ।

फ्यालफ्याले, गंगाचील, भ्याकुर, चिबे चराहरु त भौतिक आक्रमणमै उत्रन्छन् ।

चीलले पाँच माइल टाढासम्मको शिकार देख्छ । गिद्धले पनि धेरै टाढासम्म देख्छ । सुँघ्न सक्ने क्षमता नभएका कारण गिद्धले दृष्टिले नै सिनो पत्ता लगाउनुपर्ने हुन्छ । तर, अमेरिकामा पाइने गिद्धहरु सुँघ्न सक्ने क्षमताका पनि हुन्छन् । न्यू वर्ल्ड भल्चर भनिने ७ प्रजातिका यी गिद्धहरु सुँघ्न सक्छन् । तर, संसारका अन्य ठाउँमा पाइने वर्ल्ड भल्चरहरु १६ प्रजातिका छन्, उनीहरुमा सुँघ्ने क्षमता हुँदैन ।

चराहरु फरक फरक खालको आवाजले एक अर्कासँग सञ्चार गर्छन् । बथानमा हिँड्ने चराहरुले सानो कन्ट्याक्ट नोट बनाएका हुन्छन् । उनीहरु टिँटिँ भनेर सञ्चार गर्छन् । अर्को चाहिँ कल हुन्छ र गीत हुन्छ ।

धोबिनी चरा बिहानदेखि बेलुकासम्म गीतै गाइरहन्छ । डा. बरालका अनुसार त्यसो गर्नुको पछाडि आफ्नो क्षेत्राधिकार निर्धारण गर्नु प्रमुख हो । म यहाँ छु भनेर पोथीलाई बोलाउनेदेखि अर्को भालेलाई खेदाउन गीत गाइरहन्छन् ।

अर्को हुन्छ, डिस्ट्रेस कल । ‘मलाई समात्यो, अप्ठेरोमा छु’ भनेर भन्नलाई डिस्ट्रेस कल हुन्छ तिनीहरुको ।

डा. बराल भन्छन्, ‘कागले डिस्ट्रेस कल गर्नासाथ सयौंको संख्यामा कागहरु आउँछन् । सामूहिक डिफेन्ड गर्छन् । भँगेराको पनि डिस्ट्रेस कल हुँदा सबै चराहरु आउँछन् । अन्य चराहरु पनि आउँछन् । कागहरु पनि आउँछन् । भलै अर्को कागले नै भँगेरालाई समातेको किन नहोस् ।’

लक्ष्मण सारस, साइबेरियाबाट हिँउद याममा नेपालमा पाहुना लाग्न आइपुग्ने चरा । तस्बिर ः संजय था श्रेष्ठ

०००

चार दशकदेखि चराहरुमाथि अध्ययन, अनुसन्धान गरिरहेका डा. बरालको स्थायी घर सुनसरीको प्रकाशपुर हो । जो कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक पर्छ ।

एक समय थियो, कोशी टप्पुलाई चराहरुको स्वर्ग भनिन्थ्यो । पाहुना चराहरुको पनि आकर्षक हब बनेको कोशी टप्पुमा चरा देखेरै बायोलोजी लिएर पढेका डा. बराल प्लस टु पास गरेर चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्ष नेचुरलिस्टको काम गरेपछि चराहरुको खोज अनुसन्धानमा लागेका थिए ।

डा. बरालका विदेशी लेखकहरुसँग मिलेर लेखेको ‘नेपालका चराहरु’ पुस्तक प्रकाशित छन् । साथै ‘पाटे बाघ’ पुस्तक पनि प्रकाशित गरेका बराललाई एकै कुराको चिन्ता छ, अहिले चराहरु धेरै खतरामा छन् ।

डा. बराल भन्छन्, ‘विष हालिएको माछा खाएरै हजारौं चरा मर्ने गरेका छन् । अर्को भनेको क्लाइमेट चेन्जले पनि चराहरुलाई खतरामा राखेको छ । यसले तिनीहरुलाई स्लो पोइजनले जसरी मारिरहेको छ । क्लाइमेट चेन्जले उनीहरुको ह्याबिट्याट नै बदलिदिएको छ । उनीहरुको खानेकुरा पाइने ठाउँमा आयातीत चिजहरुले ढाकिदिन्छ ।

बच्चा कोरलेपछि कीराफट्यांग्रा प्रशस्त खुवाउनुपर्छ । कीराहरु प्रशस्त पाइने समय हेरेर फूल पार्नुपर्ने हुन्छ । तर, क्लाइमेट चेन्जले गर्दा बच्चा भएपछि खाना खोज्न जाँदा पाउँदैनन् । अनि बच्चाहरु मर्छन् । बाँचेका पनि कमजोर हुन्छन् । प्रिडेटरको शिकार हुन्छन् ।’

अर्कातिर सीमसारहरु सुक्दै गएको छ । कोशी टप्पुमा चराहरु धेरै नै पातलिएका छन् । जब कोशी ब्यारेज बन्यो, चराहरुको जस्तै जलचरहरुको बसाइसराइ पनि रोकियो । घडियाल लोप नै भएर गयो । डल्फिन नेपालको भूमिमा कमै देखिन्छ । माछाको हालत उस्तै छ । तिनीहरु फूल पार्न उकालो आउँथे, ब्यारेजले सबै रोकिदियो ।

कोशीको ब्यारेजबाट जब माछा ओरालो जान्छ, उकालो आउनै सक्दैन । नाम मात्रको फिस ल्याडर छ । अर्कातिर कोशी धेरै बालुवा बोक्ने संसारकै नदीहरुमा पर्ने भएकाले पानी सफा हुँदैन ।

डा. बराल भन्छन्, ‘चराले माछा देख्नलाई पानी सफा हुनुपर्‍यो नि ! पहाडतिर डोजर आतंकले बाह्रैमास कोशी धमिलो बनाइदिन्छ । त्यसले समस्या थपेको छ । म सानो हुँदा कोशीमा चराहरुको एकै फलक उड्दा हाम्रो गाउँ नै अँध्यारो हुन्थ्यो । ६० हजारसम्मको हाँसको बथान एकै पटकमा उड्थ्यो । पछिल्लो समय त घटिसक्यो । संसारभर नै चराहरु घटिरहेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर