राष्ट्रियसभामा गण्डकी कांग्रेसमा रस्साकस्सी, एमालेमा अनिच्छुक र माओवादीमा अलमल – Nepal Press

राष्ट्रियसभामा गण्डकी कांग्रेसमा रस्साकस्सी, एमालेमा अनिच्छुक र माओवादीमा अलमल

पोखरा । राष्ट्रियसभाको रिक्त १९ सिटमा आउँदो माघ ११ गते निर्वाचन हुँदै छ । दलहरू उम्मेदवार छान्न र नेता टिकट पाउन कम्मर कसेर लागि परेका छन् । गण्डकी प्रदेशमा ३ सिटका लागि निर्वाचन हुँदै छ ।

गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदै छ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

गण्डकीमा अन्य, महिला र अपाङ्गता, अल्पसङ्ख्यक क्लष्टरमा निर्वाचन हुनेछ । देशैभर निर्वाचनमा लागि आउँदो सोमबार उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ । केही राजनीतिक दलहरू उम्मेदवार छनोट गर्न व्यस्त हुँदा गठबन्धनका दलहरू भागबन्डामा जुटिराखेका छन् ।

हाल गठबन्धनमा रहेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्राय निश्चित छ । त्यस्तो अवस्थामा राष्ट्रिय सभाका रिक्त १९ सिटमै गठबन्धनका उम्मेदवार विजयी हुने अङ्कगणितले देखाउँछ ।

कांग्रेसमा उम्मेदवार बन्न रस्साकस्सी

नेपाली काङ्ग्रेसबाट उम्मेदवारी छनोट निकै पेचिलो बन्यो । आंकाक्षीहरुको नाम धेरै आउँदा प्रदेश समितिले टुङ्गाउन सकेन । ३ सिटका लागि नेपाली काँग्रेसले १ सय ७८ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसले प्रदेश सभापति शुक्रराज शर्मा, पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गोपालमान श्रेष्ठ, पूर्व सभामुख तारानाथ रानाभाटसहितको १ सय ७८ जनाको नाम केन्द्रमा पठाएको हो । प्रदेश समितिले जिल्लालाई आंकाक्षीको नाम पठाउन आग्रह गरेको थियो । जिल्लाले पठाएको नामबाट उम्मेदवार टुङ्गाउन नसक्दा प्रदेश समितिले सबैको नाम केन्द्रमा पठाएको हो ।

‘सबै जनाले आंकाक्षा व्यक्त गर्नुभयो । प्रदेश समितिबाट एक जनाको नाम पठाउन पनि समस्या भयो । त्यसैले सबैको नाम केन्द्रमा पठायौँ । अब केन्द्रले निर्णय गर्छ,’ काँग्रेसका एक नेताले भने ।

एमालेमा अनिच्छुक

एमाले गण्डकीलाई पनि राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्न सजिलो भएन । जित्ने सम्भावना नदेखेपछि एमाले गण्डकीलाई कसलाई उम्मेदवार बनाउने भन्नेबारे अन्योल भयो । एमालेले ३ सिटका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । हार्ने प्राय निश्चित भए पनि एमाले गण्डकीलाई उम्मेदवार मनाउनै समय लाग्यो ।

‘छलफलमा नाम आउँछ । उम्मेदवार बन्नुहुन्छ भनेर सोध्दा धेरैले अस्वीकार गरे,’ एमाले स्रोतले भन्यो, ‘केन्द्रले एक सिटमा ३ जनाको नाम पठाउन भनेको छ । नाम हेर्दै फोन गरेर नाम फाइनल गरियो ।’

एमालेले अन्यतर्फ चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्यादीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गर्दा अपाङ्गता र अल्पसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना वरामलाई सिफारिस गरेको छ ।

महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्याललाई सिफारिस गरिएको छ ।

एमाले गण्डकीका सचिव धनन्जय दवाडीले केन्द्रीय परिपत्रअनुसार सिनियरमध्येबाट छानेर केन्द्रमा सिफारिस गरिएको बताए ।

‘केन्द्रीय परिपत्रपछि यस्तो छ भनेर प्रदेश बैठकमा हामीले नाम टिपाउन भनेको थियौँ । ३० जना जतिले नाम टिपाउनु भएको थियो । कोही छुट्नुभएको छ की भनेर जिल्ला अध्यक्षहरूलाई पनि पठाउन भनेका थियौँ,’ उनले नेपाल प्रेससँग भने, ‘पछि हिसाब पनि हेर्नुभयो होला । कतिपय साथीले रुचि देखाउनुभएन । केन्द्रमा छलफल हुँदा कतिपय साथीहरूलाई आसा लागिरहेको छ । सिनियर साथीहरूलाई मध्ये छनोट गरेर पठाएका हौँ ।’

अलमलमा माओवादी

नेकपा माओवादी केन्द्र गण्डकीले उम्मेदवारको नाम सिफारिस गरेको बताए पनि सार्वजनिक भने गरेको छैन । सिट पाउने नपाउने निश्चित नहुँदा पछि विवाद हुने डरले माओवादीले नाम सार्वजनिक गरेको छैन ।

गठबन्धन नहुँदा पराजित हुने डरले माओवादी गठबन्धनको निर्णय कुरेर बसेको छ ।
गठबन्धनले भागबन्डा टुङ्गाएपछि त्यहीअनुसार उम्मेदवारको नाम बाहिर ल्याउने योजनामा माओवादी देखिन्छ । ‘कति सिट पाउने हो थाहा छैन । अहिले नाम सार्वजनिक गरेर पछि असन्तुष्टि बढाउनु भन्दा सिट बाँडफाट टुङ्गिएपछि उम्मेदवार सार्वजनिक गर्छौँ,’ माओवादीका एक नेताले भने ।

एकीकृत समाजवादी भने हालसम्म कुनै छलफल नभएको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले बताए । ‘केन्द्रले हामीलाई नाम पठाउन भनेको छैन । आज बेलुकासम्म सिट पाउने नपाउने टुङ्गो लाग्छ । सिट पायौँ भने छनोट गरेर पठाउँछौँ । पाएनौँ भने पटाउँदैनौँ,’ बरालले भने ।

अङ्कगणितमा सुरक्षित कांग्रेस

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मत भार ५३ र स्थानीय तहको प्रमुख उपप्रमुखको मत भार १९ हुन्छ । यसरी हेर्दा गण्डकीमा एक्ला एक्लै लड्ने हो भने पनि काँग्रेस पहिलो पार्टी देखिन्छ । कांग्रेसबाट प्रदेश सभामा २७, स्थानीय तहमा नगर प्रमुख १५, उपप्रमुख ११, गाउँपालिका अध्यक्ष २१, उपाध्यक्ष २० जना निर्वाचित भएका छन् । प्रदेश सभाका २७ सदस्यको मत भार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहको प्रमुख, उपप्रमुखको १ हजार २ सय ७३ हुन आउँछ । दुवै जोड्दा राष्ट्रिय सभामा कांग्रेसको मत भार २ हजार ७ सय ४ हुन्छ ।

एमालेको २२ जना प्रदेश सभा सदस्यको मत भार १ हजार १६६ हुन्छ । एमालेको स्थानीय तहतर्फ नगर प्रमुख ८, उपप्रमुख ९ र गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष २४ जना मत भार १ हजार २ सय ९२ हुन्छ । एमालेको कुल मत भार २ हजार ४ सय ५८ हुन्छ । तर, एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली निलम्बित हुँदा उनीबाट प्राप्त हुने १९ मत भार कम हुन आउँछ ।

माओवादी केन्द्रबाट प्रदेश सभामा ८ जनाको उपस्थिति छ । जसको मत भार ४२४ हुन्छ । स्थानीय तहतर्फ माओवादीबाट निर्वाचित भएका नगर प्रमुख २, उपप्रमुख ७, गाउँपालिका अध्यक्ष ९, उपाध्यक्ष १२ को मत भार ५ सय ७० हुन आउँछ । राष्ट्रिय सभामा माओवादीको कुल मत भार ९ सय ९४ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट प्रदेश सभामा निर्वाचित २ जनाको १ सय ६ हुनेछ । एकीकृत समाजवादीबाट प्रदेश सभाबाट ५३ र स्थानीय तहबाट १९ गरी ७२ मत भार हुँदा राष्ट्रिय जनमोर्चाको नगर प्रमुख १, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ जनाको मत भार ५७ हुन आउँछ । गण्डकीमा मनाङ निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्र निर्वाचित भएका छन् ।

एक्ला एक्लै निर्वाचनमा जाँदा पनि काँग्रेस राष्ट्रिय सभामा छिर्ने करिब निश्चित देखिन्छ । अझ गण्डकीमा हाल गठबन्धनमा रहेका दलहरू मिलेर निर्वाचनमा गएको खण्डमा गठबन्धनको जित सुनिश्चित हुनेछ । हाल गठबन्धनमा रहेका काँग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत भार ३ हजार ८ सय २७ हुन आउँछ । राप्रपासँग मिलेर जाँदा पनि एमालेले हार टार्न सक्दैन । एमालेको २ हजार ४ सय ३९ र राप्रपाको १ सय ६ जोड्दा उनीहरूको पक्षमा २ हजार ५ सय ४५ मत भार हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर