सरकारी कार्यालयमा राष्ट्रपति-प्रधानमन्त्रीको फोटो : नियम कि स्वाङ ? – Nepal Press

सरकारी कार्यालयमा राष्ट्रपति-प्रधानमन्त्रीको फोटो : नियम कि स्वाङ ?

काठमाडौं । धराने मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि विवादको रूप लिएको छ । दलीय कार्यकर्ताहरू हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो बोकेर साम्पाङको कार्यकक्षमा टाँग्न गएका भए पनि सफल भएनन् ।

सुरुमा त साम्पाङले किन त्यो निर्णय लिएका थिए भन्ने चर्चा गरौँ ।

चार दिनपछि धरान उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस धूमधामले मनाउँदै छ । यस अवसरमा साम्पाङले प्रधानमन्त्रीलाई नै निम्त्याउने योजना बनाएका थिए । त्यसै तयारी अनुसार उनले प्रधानमन्त्रीको निजी सचिवालयसँग सम्पर्क गरे । तर, उनको सचिवालयले प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण कार्यक्रम रहेकाले आउन सम्भव नहुने जानकारी गरायो । सचिवालयको जवाफबाट साम्पाङ बिच्किए ।

हमेसा आफ्नो उत्तेजना सामाजिक सञ्जालमा पोख्ने गरेका साम्पाङ यो विषयमा पनि मौन बस्न सक्ने सम्भावना नै थिएन । उनले पाँच दिनअघि फेसबुकमा एउटा स्टाटस लेखे, ‘प्रधानमन्त्री ज्यू, धरान नेपाल भित्रै छ है । अनि तपाईँको पार्टी पनि । हेला नगर्नू ।’

त्यसको केही घण्टापछि अर्को स्टाटस लेख्दै प्रधानमन्त्री र राष्ट्रपतिको फोटो कार्यालयबाट हटाउने घोषणा गरे । उनले लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्ने छु । जय देश ।’

उनको स्टाटसमा ६ हजार सात सय जनाले प्रतिक्रिया दिएका छन् । अधिकांशले उनलाई समर्थन गरे । पछिल्ला स्टाटसहरुमा अत्यधिक आलोचना र गालीको सामना गरिरहेका साम्पाङललाई यो स्टाटसले अचानक राहत दियो । यसबाट उनी हौसिए ।

त्यसो त कतिपयले उनलाई यस्तो नगर्न सुझाव पनि दिएका थिए । शिबु क्षेत्री नामक फेसबुक प्रयोगकर्ताले स्वतन्त्र निर्वाचित नगर प्रमुख भए पनि संविधानले बाँधिएको भन्दै ‘पानी उम्लियो भने पोखिन्छ’ भनेर प्रतिक्रिया लेखेका छन् । नगर प्रमुख राईले उनलाई जवाफ दिँदै लेखे, ‘त्यो मुला संविधान ।’

नभन्दै भोलिपल्ट उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएर यलम्बरको फोटो टाँगिदिए । फेसबुकबाट कार्यकक्षको नयाँ तस्बिर सार्वजनिक गर्दै उनले लेखे, ‘मलाई नचलाऊ, काम गर्न देऊ ।’ उक्त स्टाटसमा पनि धेरैले समर्थन नै गरेका छन् ।

यति मात्रै नभएर नगर प्रमुख राईले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएबापत आफूलाई पदबाट हटाउन सक्ने भए हटाएर देखाउन पनि चुनौती दिएका छन् ।

उनले भनेका छन्, ‘धरान उपमहानगरपालिका स्थापना भएको १२३ औँ वर्षमा प्रवेश गर्दा पनि धरानको अवस्था परिवर्तन हुन सकेन । प्रधानमन्त्री ज्यूको पाइला नै राख्न नहुने हो कि के हो ? मैले नै हात जोडेरै अनुरोध गरिसकेको छु । उहाँ आउनुपर्छ । एक छिन वा १५ मिनेटका लागि भए पनि आउँदा के हुन्छ ? म मेरो स्वाभिमान गिराउँदिन । तर, धरानलाई हेला गर्नु भएन नि । नगरप्रमुख भएपछि यत्तिको अडान लिन पाउनुपर्‍यो । अस्ति गएर पनि आइदिनुपर्‍यो हजुर भनेर भने । राज्यको ठुलो मान्छे आउनुपर्‍यो ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएबापत मलाई नगर प्रमुखबाट हटाउन सक्नुहुन्छ भने म तयार छु । राज्यको ठुलो मान्छे धरानमा आउनुपर्‍यो । सबै स्थानीय राजनीतिक दललाई यो लडाइँमा साथ दिन आग्रह गर्दछु । हामी यो व्यवस्थाका विरुद्ध जान खोजेको होइन । राज्यको आँखा धरानमा नपरेको भनेर हो । उहाँहरूलाई लम्पसार परेर ढोक्नुपर्ने स्थिति त रहँदैन । नमस्कार त गरेकै छौ नि ।’

यसरी साम्पाङले अडान लिएपछि सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा बहसहरू भइरहेका छन् । कतिले सरकारी कार्यालयमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीको फोटो झुन्ड्याउनुको तुक नभएकाले साम्पाङले ठिक गरेको बताएका छन् । कतिले उनी अराजक बनेको र प्रणालीलाई नै चुनौती दिएको टिप्पणी गरेका छन् ।

यस विषयमा सरकारको आधिकारिक प्रतिक्रिया आएको छैन । तर, सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्मासँग केही दिनअघि पत्रकारहरूले यो प्रसंग कोट्याएका थिए । शर्माले ठोस प्रतिक्रिया दिइनन् ।

साम्पाङले तस्बिर हटाएकोबारे आफूले सञ्चारमाध्यमबाट थाहा पाएको उनले बताइन् । अहिलेसम्म संघीय सरकारले स्थानीय सरकारलाई हस्तक्षेप नगरेको र अब पनि नगर्ने तर, स्थानीय तह सम्हालेको सरकार प्रमुखले नै बुझ्नुपर्ने उनको भनाइ थियो ।

शर्माले भनेकी छन्, ‘मैले पनि विभिन्न सञ्चारमाध्यमबाटै जानकारी पाएको छु । कुन उद्देश्य, आशय, भावना र कुन सैद्धान्तिक अवधारणले त्यो निर्णय गर्नुभयो उहाँले जान्नुपर्ने कुरा हो । स्थानीय तह आफैमा स्वायत्त सरकार पनि हो । त्यसमा यो गर त्यो नगर भनेर संघीय सरकारले अहिलेसम्म भनेको पनि छैन र भन्ने कुरा पनि भएन । त्यो तह र क्षेत्र सम्हाल्ने व्यक्ति आफूले नै जान्नुपर्ने र बुझ्नुपर्ने कुरा हो । यसमा आवश्यक कुरा आवश्यक ठाउँमा गरौँला ।’

यसैबीच, हिजो कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । मेयर साम्पाङ र राजनीतिक दलका भातृ संगठनबीच भएको वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । दलका कार्यकर्ताले ३ दिनको अल्टिमेटम दिएर फर्किएका छन् । साम्पाङले भने धरान दिवसमा प्रधानमन्त्री आएमा मात्रै फोटो टाँग्ने जवाफ दिएका थिए ।

मन्त्रीबाटै भएको थियो सुरुवात

आफ्नो कार्यकक्षबाट राष्ट्रपति प्रधानमन्त्रीको फोटो हटाउने कामको सुरुवात भने कोशी प्रदेशका एक मन्त्रीले गरिसकेका थिए । तत्कालीन गठबन्धन सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखेका थिए ।

उनले फोटो राख्दै भनेका थिए, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–जिन्दाबाद, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचानसहितको–संघीय अभिवादन ।’

साम्पाङबाट प्रेरित हुँदै हालै मात्र दमक नगरपालिकाका मेयर राम थापाले पनि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाइदिएका छन् । साम्पाङले यलम्बरको तस्बिर राखेको भोलिपल्ट थापाले राजा पृथ्वीनारायण शाहको तस्बिर टाँगेका हुन् ।

बाध्यकारी होइन: पूर्व मुख्यसचिव कोइराला

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर आफूखुसी तस्बिर राख्न थालेपछि यो विषयमा विभिन्न तर्क वितर्क भइरहेका छन् । के सरकारी कार्यालयमा राष्ट्रपति प्रधानमन्त्रीको फोटो झुण्ड्याउनु अनिवार्य नै हो ?

राजतन्त्र कालमा तत्कालीन राजाको तस्बिर यसरी झुन्ड्याउने प्रचलन थियो । तर, अनिवार्य भने थिएन । गणतन्त्रपछि राष्ट्रपति र प्रधानमन्त्रीको समेत तस्बिर अनिवार्यजस्तै गरी झुन्ड्याउन थालिएको छ । तर, यससम्वन्धमा कुनै कानूनी व्यवस्था भएको पाइँदैन ।

यो चलिआएको अभ्यास मात्रै भएको बताउँछन्, पूर्व मुख्यसचिव विमल कोइराला । उनको भनाइमा यो एउटा राजनीतिक विषय हो ।

‘स्पष्ट कानूनी व्यवस्था नभएकाले जसलाई जे मन लाग्यो त्यही तस्बिर राख्ने प्रचलनको विकास भइरहेको छ,’ उनले भने, ‘यसमा कुनै नीति नियम छैन ।’

कतिपय प्रशासनविद्ले भने अहिलेको व्यवस्थामा राज्य प्रमुख र सरकार प्रमुखको तस्बिर कार्यकक्षमा अनिवार्य राख्नुपर्ने तर्क गरेका छन् । पूर्व मुख्यसचिव तीर्थमान शाक्यले कसको तस्बिर कार्यकक्षमा राख्ने भन्ने कानूनी व्यवस्था नभए पनि राज्य प्रमुख र सरकार प्रमुखको तस्बिर अनिवार्य कार्यकक्षमा राख्नै पर्ने बताए । उनीहरूबाहेक अरू जति राखे पनि फरक नपर्ने उनको भनाई छ ।

शाक्यले भने, ‘संसारमा नै राज्य प्रमुख र सरकार प्रमुखको फोटो राख्ने प्रचलन छ । भारत र चीनमा थप अरूको पनि राख्छन् । जस्तै भारतमा महात्मा गान्धीको पनि राखिन्छ । बरु १० जनाकै तस्बिर राखे पनि भयो । तर, राज्य प्रमुख र सरकार प्रमुखको तस्बिर त राख्नै पर्छ । यो बाहेक कसैले मुख्यमन्त्री र प्रदेश प्रमुखको पनि राख्न पायो । कसैले बुद्धको राख्न पायो कसैले यलम्बर राखे भो त कसैले सत्यमोहन जोशीको पनि राखे भो ।’

पूर्व मुख्यसचिव शाक्यले अहिले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भए पनि भोली अरू जोसुकै त्यो पदमा पुग्न सक्ने भन्दै राज्य प्रमुख र सरकार प्रमुखको तस्बिर अनिवार्य राख्नुपर्ने तर्क गरे ।

उनले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड र रामचन्द्र पौडेलेका मात्र कुरा होइन । त्यो दुबै पदमा जो पनि पुग्न सक्छ । अवसर आएमा हर्क राई पनि बन्न सक्नुहुन्छ । यो त आफ्नै खाल्डो खन्ने काम भयो । राजाको पालामा राजाको राख्ने गरिएको थियो । यद्यपि त्यो कसैले राख्थे, कसैले राख्दैन थिए । त्यो पहिलेको कुरा भन्दा पनि अहिलेको व्यवस्था र पहिलेको व्यवस्था र अवस्थामा फरक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *