त्रिविले नेपाली र अंग्रेजीमा स्नातकोत्तर पढ्न किन गर्‍यो खुकुलो व्यवस्था ? – Nepal Press

त्रिविले नेपाली र अंग्रेजीमा स्नातकोत्तर पढ्न किन गर्‍यो खुकुलो व्यवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हालै जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई नेपाली तथा अंग्रेजी विषयमा स्नातकोत्तर पढ्न दिने निर्णय गर्‍यो । त्रिवि अंग्रेजी र नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले गरेको यो निर्णयको सान्दर्भिकतामाथि प्रश्नहरु उठेका छन् ।

यसअघि स्नातक तहमा जुन विषय पढेको हो, त्यसमा मात्रै स्नातकोत्तर गर्न पाइने व्यवस्था थियो । पहिलो नपढेको विषयमा एकै पटक स्नातकोत्तरमा भर्ना हुन मिल्दैनथ्यो । त्रिविले यो व्यवस्थामा परिमार्जन गर्दा जुनसुकै विषय पढेकाहरुले पनि अंग्रेजी र नेपालीमा स्नातकोत्तर पढ्न पाउनेछन् । यसबाट धेरै विद्यार्थीले राहत महसुस गरेका छन् ।

विदेशी विश्वविद्यालयहरुमा भने स्नातक तहमा जुन विषय पढे पनि स्नातकोत्तर गर्न कुनै बाधा छैन । कतिपयले भने त्रिविको यो निर्णयलाई विद्यार्थी बढाउने तरिकामात्र भएको टिप्पणी गरेका छन् । त्रिविका पदाधिकारीहरु त्रिविमा विद्यार्थी संख्या घटेको स्वीकारे पनि विद्यार्थी संख्या घटेकै कारण यस्तो निर्णय नगरेको बताउँछन् ।

विश्वका अन्य विश्वविद्यालयहरुभन्दा धेरै पछि परेको अनुभूति भएपछि यस्तो निर्णय गरेको पदाधिकारीहरुको भनाइ छ । नेपाली विषय केन्द्रीय विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल निर्णय गर्न केही ढिला भएको बताउँछन् ।

उनी भन्छन्, ‘पहिले नै यो निर्णय भइसक्नुपर्थ्यो । ढिलै भए पनि लागू भएको छ । ’

यस्तै अंग्रेजी विभाग प्रमुख प्रा.डा. जीवलाल सापकोटाले धेरै पहिलादेखि उठेको विषय भए पनि अहिले कार्यान्वयनमा ल्याउने काम भएको बताए ।

कतिपय विभागहरुले यस्तो निर्णय पहिले नै गरिसकेका छन् भने केही विभागहरुले यस्तो निर्णय गर्न बाँकी छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिवलाल भुसाल नै यो निर्णय गर्न आफूहरु पछि परेको महसुस गर्छन् ।

उनी भन्छन्, ‘स्नातक तहमा जुनसुकै विषय पढे पनि स्नातकोत्तरमा नेपाली र अंग्रेजी पढ्न पाइने निर्णय गरेका छौं । संसारभर नै यो चलन आइसकेकाले हामी पछि परेको महसुस गरेका छौं । अन्तर्राष्ट्रिय प्राक्टिस हेर्दा तल्लो तहमा जे विषय पढेको हो, माथिल्लो तहमा त्यही पढ्नुपर्छ भन्ने नियम छैन । त्यसैले यस्तो निर्णय गरेका हौं ।’

उनले थपे, ‘विद्यार्थीले जसरी हुन्छ, आफूले चाहेको विषय पढ्न पाउनुपर्छ भन्ने हो । हामीले उहाँहरुलाई ब्रिज कोर्स गराउँछौं । सर्टेन कोर्सहरु गराएर भर्ना गराइन्छ । अहिले ती विषयमा विद्यार्थी अलि फ्लो कम भयो । अरु विषयका विद्यार्थीहरुले रुचि देखाए । तपाईंको ट्रयाकमा राख्न केही कोर्सहरु राख्नुस् अनि गर्नुस् भनेर भनेका छौं ।’

जुनसुकै विषयमा स्नातक गरेकाहरुलाई नेपाली र अंग्रेजीमा स्नातकोत्तर गर्न दिँदा गुणस्तर घट्छ भन्ने प्रश्न सान्दर्भिक नभएको उनी बताउँछन् । अंग्रेजी र नेपालीमा स्नातकोत्तर गर्न चाहनेहरुले पढ्न सक्छु नै भनेर भर्ना हुने उनको भनाइ छ ।

डा. भुषाल भन्छन्, ‘ती फरक विषय पढेर आएकाहरुले त आफूले पढ्न सक्छु कि सक्दिनँ भनेर पाठ्यक्रम हेरेका हुन्छन् नि !’

ती विद्यार्थीहरुले अंग्रेजी र नेपाली विषयमा स्नातकोत्तर गर्न भर्ना हुनुअघि फारम भरेर प्रवेश परीक्षामा सामेल हुनुपर्नेछ । प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्ने मापदण्ड तोकिएको छ । मापदण्डअनुसार प्रवेश परीक्षामा पास भइसकेपछि अन्तिम परीक्षा दिनुअघि पनि आन्तरिक परीक्षा दिनुपर्ने र उत्तीर्ण भएको हुनुपर्नेछ । त्यसमा पास भएपछि मात्र अन्तिम परीक्षा दिन पाइन्छ ।

यदि त्यो बीचमा विद्यार्थी कमजोर देखिए आवश्यकताअनुसार ट्युसन पढाउनेदेखि अतिरिक्त कक्षा सञ्चालन गर्नेसम्मको मापदण्ड बनाइएको छ । यदि प्रवेश परीक्षामा फेल भएको खण्डमा भने त्यहीबाट ढोका बन्द हुन्छ ।

उपकुलपति भुसाल बाँकी रहेका विभागहरुले छिट्टै यस्तो निर्णय गर्ने तयारी गरेको बताउँछन् ।

शिक्षाविद् भन्छन्- त्रिविले ठीक गर्‍यो

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले त्रिविले गरेको निर्णय एकदमै सही भएको बताए । उनी भन्छन्, ‘त्रिविले ठीक गर्‍यो । अन्तर्राष्ट्रिय जगत हेरेर ढिलै भए पनि यो निर्णय गरेको छ ।’

उनले विदेशको उदाहरण दिँदै भने, ‘अन्तर्राष्ट्रिय जगतको अभ्यास हेर्नुभयो भने मैले यहाँ मानविकी पढ्छु, अमेरिकामा गएर विज्ञान पढ्छु भन्यो भने उनीहरु नाई भन्दैनन् । उनीहरुले वेल यु आर मस्ट वेलकम भन्छन् । त्रिविले ठ्याक्कै त्यही बाटो अपनाएको हो ।’

विद्यार्थी घटेर त्रिविले यस्तो निर्णय गरेको भन्ने आरोप लगाउनेलाई शिक्षाविद् कोइराला बच्चा कम जन्मिरहेको तर्क गर्छन् । अब त्रिविको यो निर्णयले निश्चित उमेरका विद्यार्थीलाई मात्र नभई जुनसुकै उमेरका विद्यार्थीलाई पनि पढाउने भएकाले विद्यार्थी बढ्न सक्ने उनको भनाइ छ ।

यो निर्णय जसरी हुन्छ लागू गर्नेतर्फ जान एकदमै जरुरी रहेको उनी बताउँछन् । ‘विश्वविद्यालय साँघुरो बनाउँदै लैजाने होइन । विश्वविद्यालय त फर अल पो बन्नुपर्‍यो त ! सेलेक्टेडलाई मात्र होइन, अब जोसुकैलाई हुने ढंगको त गर्नैपर्छ’, कोइरालाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *