बैंकहरुको कर्जा नोक्सानी बापतको प्रोभिजन २७ अर्ब १२ करोडभन्दा बढी, गत वर्षभन्दा दोब्बर वृद्धि – Nepal Press

बैंकहरुको कर्जा नोक्सानी बापतको प्रोभिजन २७ अर्ब १२ करोडभन्दा बढी, गत वर्षभन्दा दोब्बर वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २७ अर्ब १२ करोड रुपैयाँ सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजन गरेका छन् ।

चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म २० वाणिज्य बैंकहरुले २७ अर्ब १२ करोड ५० लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को कात्तिक महिनासम्मा भने वाणिज्य बैंकहरुको यस्तो प्रोभिजन १३ अर्ब १४ करोड ५० लाख रुपैयाँ मात्रै रहेको थियो । जुन अहिले दोब्बरभन्दा बढीले बढेको छ । बैंकहरुको निष्क्रिय कर्जाका कारण प्रोभिजन गर्नुपर्ने रकम दोब्बरभन्दा धेरैले बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैकले बैंकहरुले सम्भावित कर्जा नोक्सानीबापत न्यूनतम १.३ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजन छुट्याउनुपर्ने व्यवस्था गरेको छ । जहाँ कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, १ महिनादेखि ३ महिनासम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई ‘वाचलिस्ट’मा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ भने ३ महिनादेखि ६ महिनासम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २० लाख रपैयाँ खुद नाफा कमाएका हुन् । तर, वाणिज्य बैंकहरुको नाफाभन्दा बढी प्रोभिजनमा गएको छ ।

सबैभन्दा बढी प्रोभिजन नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको रहेको छ ।

कात्तिक मसान्तसम्म सबैभन्दाबढी ५ अर्ब ८ करोड ४० लाख रुपैयाँ नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको रहेको छ ।

त्यस्तै, कुुमारी बैंकले ३ अर्ब ४० करोड ६० लाख, लक्ष्मीसनराइज् बैंकले २ अर्ब ४२ करोड, कृषि विकास बैंकले २ अर्ब १९ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ८२ करोड ३० लाख, ग्लोबल आइएमई बैंक १ अर्ब ७७ करोड, सिद्धार्थ बैंक १ अर्ब ४३ करोड ४० लाख, नबिल बैंक १ अर्ब ४२ करोड ८० लाख, नेपाल बैंक १ अर्ब ३९ करोड ६० लाख, नेपाल एसबीआई बैंक १ अर्ब २० करोड ९० लाख, एनआईसी एसीया बैंक ८३ करोड ७० लाख, हिमालयन बैंक ६८ करोड ७० लाख, सिटिजन्स बैंक ५६ करोड ५० लाख, एनएमबी बैंक ५१ करोड ६० लाख, एभरेष्ट बैंक ४२ करोड ९० लाख, स्टयाडर्ड चाटर्ड बैंक ४१ करोड ७० लाख, प्रभु बैंक ३३ करोड ६० लाख र प्राइम बैंकले २० करोड १० लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी वाफतको प्रोभिजन छुट्याएका छन् ।

सबैभन्दा कम माछापुच्छ्रे बैंकले १४ करोड ८० लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी वाफतको प्रोभिजन छुट्याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर