चालू आर्थिक वर्षको मंसिरमा सबैभन्दा बढी घरजग्गा कारोबार – Nepal Press

चालू आर्थिक वर्षको मंसिरमा सबैभन्दा बढी घरजग्गा कारोबार

काठमाडौं । चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार मंसिरमा भएको छ ।

चालू आर्थिक वर्षको पाँचौं महिना मंसिरमा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा कारोबार भएको छ । जसमा २९ हजार ६२६ रोक्का र २५ हजार ४५४ फुकुवा घरजग्गाको कारोबार भएको छ । जुन अघिल्लो महिनाको तुलनामा करिब ६० प्रतिशतले बढी हो ।

कार्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो । जसवापत २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संंकलन भएको थियो । घरजग्गा कारोबारमार्फत सरकारले मंसिरमा २ अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार ६० प्रतिशतले बढे पनि अपेक्षा गरेभन्दा कम कारोबार भएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् ।

लोहनी भन्छन, ‘अघिल्लो महिना कात्तिकलाई हेरेर ६० प्रतिशत वृद्धि भयो भन्न मिल्दैन । किनभने कार्तिकमा दशैंतिहारलगायतका ठूला चाडपर्वले गर्दा कारोबार संख्यात्मक रुपमा कम भएको देखिएको हो । चाडपर्वको अवधिमा बिदा भयो, किनबेचमा कमी आयो । जुन स्वाभाविक नै हो ।’

सरकारको नीतिले घरजग्गा कारोबार बढायो भन्न नमिल्ने उनको भनााइ छ । ‘घरजग्गा कारोबार सुधार गर्न ‘लोन टु भ्यालु रेसियो’ बढाउनुपर्छ । कर्जा आम्दानी अनुपात सरकारले ६० प्रतिशत पु¥याएको छ । जुन वास्तवमा ७० प्रतिशत पु¥याउनु पर्छ’, अध्यक्ष लोहनीले भने ।

नेपाल राष्ट्र बैंकले मंसिरको अन्तमा आवास कर्जाको मासिक किस्ता आम्दानी अनुपात बढाएको थियो । ५० लाख रूपैयाँसम्मको यस्तो कर्जाको मासिक किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याएको छ । अर्थात निजी आवासीय घर कर्जा र घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनालाई आवासीय घर निर्माणको लागि दिने कर्जाको अनुपात ६० प्रतिशत कायम गर्न सकिनेछ ।

यस्तो छ चालू आर्थिक वर्षको घरजग्गा कारोबार

चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ३९ हजार २६३ वटा घरजग्गा करोबार भएको थियो । जसवापत सरकारले २ अर्ब ९१ करोड ४ लाख २७ हजार १९६ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भदौमा ३५ हजार ६८६ वटा घरजग्गा कारोबार भएको थियो । यस महिना ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार ८११ रुपैयाँ राजस्व संकलन गरिएको थियो ।

त्यस्तै असोजमा घरजग्गा कारोबारबाट चालू आर्थिक वर्षको सबैभन्दा बढी राजस्व संकलन भएको देखिन्छ । यस महिना ४ अर्ब ८ करोड ६६ लाख २९ हजार ४३७ रुपैयाँ राजस्व संकलन भएको थियो । असोजमा ३९ हजार ८८१ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

असोजको तुलनामा कार्तिकमा घरजग्गा कारोबार घटेको देखिन्छ । कार्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको थियो । जसवापत २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व सरकारको खातामा जम्मा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर