नाडाको अध्यक्षमा भिड्दै दुई ठूला व्यापारी- करण र आकाशमा कसको पल्लाभारी ? – Nepal Press

नाडाको अध्यक्षमा भिड्दै दुई ठूला व्यापारी- करण र आकाशमा कसको पल्लाभारी ?

काठमाडौं । गाडी तथा यसका पार्टस् विक्रेताहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनाव यही पुस २० र २१ गते हुँदैछ । चुनावले नयाँ अध्यक्षसहित कार्यसमिति निर्वाचित गर्नेछ ।

व्यवसायीहरु दुई कित्तामा उभिएर चुनावी मैदानमा छन् । अध्यक्षको लागि करण चौधरी र आकाश गोल्छा मैदानमा छन् । करणले यसअघि धुव्र थापासँग अध्यक्षमै चुनाव हारेका थिए ।

नाडाका अध्यक्ष धुव्र थापाले एसोसियसनको निर्वाचनको लागि सहमतिको पहल भइरहेको बताए ।

उनले भने, ‘सहमतिको लागि छलफल भइरहेको छ । आकाश र करणबीच सहमति गराउन प्रयास भइरहेको छ । दुवै पक्ष छलफलका लागि तयार पनि छन् । नाडाको माग लिएर सरकारसँग लड्नुपर्ने बेला व्यवसायी-व्यवसायी नै लड्दा राम्रो सन्देश पनि जाँदैन ।’

सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठले चौधरी गु्रपका करण चौधरीलाई अध्यक्षमा समर्थन गरेका छन् । श्रेष्ठ सुरुमा आफैं अध्यक्षका आकांक्षी थिए । तर, पछि आएर उनले चौधरीलाई साथ दिएका छन् ।

सहमति गर्न छलफल चले पनि गोल्छा र चौधरी पछाडि हट्न तयार भएका छैनन् । दुबै आफू अध्यक्ष हुनुपर्ने भन्दै लबिइङ गरिरहेका छन् । दुबैले अध्यक्षमा दाबी छोडेनन् भने चुनाव हुने निश्चित छ ।

अध्यक्षका आकांक्षी करण चौधरीले सहमतिको लागि छलफल भइरहेको बताए । उनले भने, ‘अहिले हामी सहमतिको लागि छलफल गरिरहेका छौं ।’

अर्का आकांक्षी आकाश गोल्छाले पनि सहमति गर्न छलफलको लागि आफू तयार रहेको बताए । उनले भने, ‘सहमतिको लागि छलफल भइरहेको छ ।’

करणलाई विद्युतीय गाडीको विषयमा नबोल्ने भनेर आरोप लाग्ने गरेको छ । उनले पेट्रोलियम गाडीका विषयमा मात्रै धेरै बहस गर्ने गरेको गुनासो छ । तर आकाशले विद्युतीय र पेट्रोलियम दुइटै गाडीको मुद्दा उठाउने गरेको व्यवसायीहरुको बुझाइ छ ।

गोल्छाको पक्षमा बीवाईडी, फोर्ड, बजाज, टीभीएस, महिन्द्रा, फोटोन, हुन्डाईलगायत ब्रान्डको साथ रहेको छ । चौधरीका पक्षमा चौधरी ग्रुप, आईएमई ग्रुप, सिप्रदी, एमएडब्लु, एससिटी ग्रुपलगायतको समर्थन रहेको छ ।

नाडामा हाल ३ हजार ३०० सदस्य छन् । आगामी चुनावले अध्यक्षसहित १७ जना पदाधिकारी रहनेछन् । ३ जना नयाँकार्यसमितिले मनोनयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर